Goraksha

National Daily

झुटो मुद्धा लगाएर राजनीतिक जीवन सिध्याउने काम भयो : सभापति देउवा

प्रियास्मृति गजमेर
घोराही,१६ चैत । नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठो मुद्दा लगाएर राजनीति सिध्याउने काम भएको बताउनुभएको छ ।
दाङको देउखुरीस्थीत लमही नगरपालिका–९ अमिलियामा स्थापना गरिएको नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा मन्त्री स्वर्गीय नेता खड्काको शुक्रवार शालिक अनावरण गर्दै सभापति देउवाले संकटको समयमा जोखिम मोल्न सक्ने साहसिक, निडर, विकासप्रेमी र जनताका प्रिय नेता भएको बताउनुभएको थियो ।

उहाँले सानै उमेरमा देश र जनताको परिवर्तनका लागि जीवनको प्रवाह नगरेर आन्दोलनमा होमिएका नेता खड्काको बढ्दै गएको राजनीतिक प्रभावलाई सक्ने गरी झुटो मुद्धा लगाएर फसाउने काम भएको बताउँनुभयो । स्वर्गीय नेता खड्काको पूर्ण कदको शालिक अनावर कार्यक्रममा सहभागी भएका नेता तथा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै सभापति देउवाले भन्नुभयो,‘कार्यकर्ता माझमा अत्यन्त प्रिय, कुशल संगठक एवं नेता खड्काको राजनीतिक जीवन सक्ने गरी पार्टीभित्रसँगै देशी तथा विदेशी शक्तिबाट फसाउने काम भएको हो । त्यही समयमा उहाँको स्वास्थ्यमा पनि समस्या आयो र अन्ततः हामीले एक योद्धा गुमाउन पुग्यौ ।’

झुटो मुद्धा लगाएर स्वर्गीय खड्काको राजनीतिक जीवन सक्ने प्रयास भएपनि प्रजातन्त्र तथा लोकतन्त्र स्थापनासँगै संगठन निर्माणकालागि महत्वपूर्ण योगदान दिनुभएका विकासप्रेमी नेता खड्कालाई पार्टीका कार्यकर्ता तथा जनताले सधै सम्झना गरिरहने बताउँनुभयो । सम्वोधनका क्रममा अधिकासं समय स्वर्गीय नेता खड्काको योगदानको चर्चा गर्दै सभापति देउवाले जीवनको अन्तिम समयसम्म पनि पार्टी संगठन निर्माण र कार्यकर्ताको चिन्ता गर्ने स्वर्गीय खड्काको योगदान सधैव पार्टीमा खड्किरहने बताउँनुभएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वर्गीय नेता खुमबहादुर खड्काले टिकाएको जगमा कांग्रेस अडिनुपर्ने बताउनुभयो । कांग्रेसको रजगज भएको दाङमा गुटउपगुट बनाएर कम्जोर गराउन नहुने मुख्यमन्त्री चौधरीले बताए । विकासप्रेमी नेता खड्काको अभाव राजनीति जीवनमा सधै खड्किरहने उनको भनाई छ । लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीभित्र गठबन्धन हुन नसक्दा अन्य पार्टीबाट हेपिनु परेको बताए । सभापति पुनले पूर्वदेखि पश्चिमसम्मका कांग्रेसलाई समेटेर अगाडी बढ्न नेतृत्व तहलाई आग्रह गर्नुभएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले लमहीमा सालिक निर्माण गर्ने योजना रहेपनि केही बामपंथीले अबरोध गर्दा अमिलियामा सालिक निर्माण गर्नु परेको बताउनुभयो । मेचीदेखि महाकालीसम्मका कांग्रेस कार्यकर्ताहरुले बडो चाख लागेर सुन्ने गरेको कुरालाई स्मरण गर्नुभएको थियो । कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले स्वर्गीय नेता सरल र इमानदारीता भएको व्यक्ति भएको बताए । १९ वर्षको उमेरमा निर्वासन जीवन बिताएका नेता खड्काको अनुपस्थितमा आज देशले आभाव झेल्नु परेको बताउनुभएको थियो । खुमबहादुरले देशको नेतृत्व गर्न सक्छ भनेर भ्रष्टाचारंको मुद्दा लगाई कलिलै उमेरमा गुमाउन परेको केन्द्रीय सदस्य घिमिरेले बताउनुभएको थियो ।

केन्द्रीय सदस्य गोविन्द बहादुर शाहले नेपालको लोकतान्त्रिक पक्षलाई अगाडी बढाउने वीर पुरुष भएको बताउनुभयो । स्वर्गीय नेता खड्का अजर अमर नेता भएको शाहको भनाई छ । खुमबहादुर कांग्रेसको अभिभावक भएको शाहले बताउनुभयो । केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेस एक भएर अगाडी बढेमात्र उहाँप्रति सच्चा सम्मान हुने बताउनुभएको थियो । स्वर्गीय नेता खड्काको प्रेरणा लिएर पार्टीलाई बलियो बनाउने तर्फ सबै लाग्नुपर्ने बताउनुभयो । सहमहामन्त्री किशोरसिंह राठौरले लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्बाह गरेका नेता भएको बताउनुभयो ।

जनताको माझमा निकै लोकप्रिय नेता भएको राठौरले बताउनुभयो स–साना कुरामा अल्मलिएर कार्यकर्तालाई निरास गराउन हुँदैन, कांग्रेसले निकै लामो सफर गर्नु छ त्यस कारण सबै मिलेर अगाडी बढौ उहाँले भन्नुभयो । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ’डिना’ ले समावेशीताको राजनीति स्वर्गीय नेता खुमबहादुर खड्काकै पहलमा भएको हो, त्यसैले आज हरेक समुदायका मान्छेले अवसर प्राप्त गरेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्काले नेपालको राजनीतिमा आफ्नो बाबुले छोडेको छाप कहिले पनि नमेटिने भन्दै आफुले पनि बाबुले अपनाएको बाटो हिड्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।
देश र जनताको हितको लागि बन्दुक बोक्न तयार हुने मेरो बुवाको आशीर्वाद संगठन बनाउन कार्यकर्ता जोड्नु भनेको भनाईलाई आत्मसात गर्दै आफू अगाडी बढ्ने सांसद खड्काको भनाई छ ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय खुमबहादुर खड्काको शालिक निर्माण समितिका संयोजक तथा दाङ क्षेत्रमा नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, २ का सभापति भीमप्रकाश खड्का, ३ का सभापति जगतबहादुर खड्का, पूर्व जिल्ला सभापतिहरु बीरकेश्वरी गौतम, मोहनलाल वली, निवर्तमान सभापति किर्तीबहादुर खड्का, पूर्व राष्ट्रियसभा सदस्य अनिता देवकोटा, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा उपसभापति राजु खनाललगायतले बोल्नुभएको थियो ।

जिल्ला उपसभापति गिरीराज सुवेदीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुन कुमार योगीले गर्नुभएको थियो । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित नेता खड्काको २०७४ साल चैत १६ गते भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।