Goraksha

National Daily

राज्यले तोकेको भाडा पाउन नसक्नु नै ठुलो चुनौती : अध्यक्ष मजगैयाँ

नेपाल सरकारले सबै यातायात व्यवसायीको सिन्डीकेटको अन्त्य गर्न भन्दै यात्रुवाहक सबै समितिलाई प्रालिमा जान बाध्य बनाएको छ तर नेपाल ट्रक व्यवसायी महासंघ मातहतका समितिलाई भने यथावस्थामा नवीकरण गरेको छ तर पनि राज्यले ट्रक व्यवसायीलाई व्यावसायिक न्याय भने दिन सकेको छैन । सरकार आफैले तोकिदिएको भाडा दिलाउन राज्यका निकाय मौन छन् । मुलुक भरका ट्रक व्यवसायीमा पनि व्यावसायिक एकता देखिँदैन ।
आफू अनुकूल भाडा निर्धारण गरी गुड्ने गरेका छन्, ट्रक । यही सन्दर्भमा नेपाल राष्ट्रिय ट्रक यातायात व्यवसायी महासंघ मातहतको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिको अधिवेशनबाट युवा व्यवसायी उमेशचन्द्र मजगैँया नयाँ नेतृत्वमा आएका छन् । राप्ती अञ्चलका २ सय ६० वटा ट्रक रहेको समितिमा मजगैयाँको लामो अनुभव पनि छ । यो क्षेत्रमा कम्तिमा १८ वर्ष लामो अनुभव बटुलिसकेका मजगैयाँ सुरुमा कार्यसमिति सदस्यको जिम्मेवारी निर्वाह गरे । त्यसपछि २ कार्यकाल समितिको कोषाध्यक्षको जिम्मेवारीमा र एक अवधि समितिको सल्लाहकारको भूमिकामा रहे ।
 त्यसपछि लगातार तीन कार्यकाल प्रशासनिक सचिवको जिम्मेवारी पूरा गरिसकेका मजगैयाँ फागुन २९ गतेको अधिवेशनमा निर्वाचन प्रक्रियाबाटै अध्यक्ष पदमा निर्वाचित भए । ट्रक व्यवसायको क्षेत्रमा लामो अनुभव बटुलेका व्यवसायी मजगैयाँसँग ट्रक व्यवसायीका समस्या, उनीहरुलाई राज्यले हेर्ने दृष्टिकोण तथा नयाँ नेतृत्वका भावि कार्ययोजनाका विषयमा केन्द्रित रहेर नवनिर्वाचित अध्यक्ष उमेशचन्द्र मजगै“यासँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।
 स्वागत अनि बधाई पनि राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिको अध्यक्ष निर्वाचित हुनु भएकोमा ।
 धन्यवाद, तपाई अनि सबैको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि । अनि मलाई निर्वाचन प्रक्रियाबाट अध्यक्ष निर्वाचित गर्ने सम्पूर्ण मतदातालाई पनि यसै पत्रिकामार्फत् हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु ।
 समितिमा लामो अनुभव बटुली सकेर भर्खरै कार्यसमितिको नेतृत्वमा तपाईको सबै टिम विजयी भएको छ । के छन् तपाईका भावि योजना ?
 नेपाल ट्रक व्यवसायी महासंघको लुम्बिनी प्रदेशले आगामीु १० गतेदेखि ओभरलोड बोक्न रोक लगाउने सन्दर्भमा एउटा निर्णय गरिसकेको छ । किनकि हामी ट्रक व्यवसायीको प्रमुख समस्या भनेकै ओभरलोडको हो । ओभरलोडका कारण हाम्रा साधनको आयुको कुनै वारेन्टी र ग्यारेन्टी छैन । तैपनि यसलाई कार्यान्वयन गर्नतर्फ राज्यका निकाय पनि लागेको अवस्था छैन । ओभरलोड हाम्रो मात्र समस्या नभएर राज्यको पनि समस्या हो ।
ओभरलोड भारवहनकै कारण नेपालका धेरै स्थानका सडक क्षतविक्षत भएका छन् । यो अर्थमा लुम्बिनी प्रदेशले गरेको ओभरलोड गाडीलाई चल्न नदिने अभियानलाई हाम्रो प्रदेशभर सफल बनाउने सन्दर्भमा हामी साथी बिच कसले कहाँबाट सहयोग गर्ने भन्ने सन्दर्भमा छलफल भइरहेको छ । मलाई लाग्छ, चैत दशदेखि लुम्बिनी प्रदेशमा ओभरलोड बोकेका मालबाहक ट्रकलाई चल्न दिने छैनौं ।
 तपाई नै व्यवसायीको नेतृत्वमा हुनुहुन्छ, तपाईकै क्षेत्रमा पनि यस्ता सवारीसाधनलाई नियन्त्रण गर्नका लागि धर्मकाटाको व्यवस्थापन पनि मिलाइएको छ, तपाईकै ट्रक हुन्, आन्दोलननै किन गर्नु प¥यो ?
 हामी व्यवसायी दोहोरो मारमा छौँ । उद्योगहरूले राज्यले तोकेको भाडा दिन मान्दैनन्, भाडा दिलाउने सरकारी पक्ष हामीप्रति अनुदार छ । यही बिचमा भारतीय ट्रकहरूको ज्यादती छ । भन्सार छिरेपछि ७२ घण्टासम्म उनी नेपालका कुना–कुनासम्म छिर्न पाउँछन् । नेपालभरी कम्तिमा १७ स्थानमा धर्मकाटा भए पनि उनीहरूलाई धर्मकाटामा छिर्नु पर्ने कानुनी बाध्यता छैन, अर्थात् कानुनी कारबाही हुँदैन । हाम्रा ट्रकहरू जुन चर्को भन्सार तिरेर व्यवसायीले भारतबाट आयात गरेका हुन्छन्, ती व्यवसायीले उनै भारतीय गाडीसँग नेपालमा कसरी प्रतिस्पर्धा गर्न सक्छन् ।
यो विषयमा राज्यलाई झकझकाउन पनि हाम्रो आन्दोलन हो । हामीले यो माग भर्खरै अघि सारेको पनि होइन, बर्षौ अघिदेखि राख्दै आएको हो तर राज्यले सुनेको छैन । राज्यले हाम्रा चाहनालाई सम्बोधन गर्ने हो भने भारतीय ओभरलोडका गाडीलाई भन्सारमै रोक्नु पर्ने थियो तर चाडै–चाडै भन्सार छिराउन र राजश्व बढाउनेतर्फ मात्र भन्सारमा रहेका सरकारी अधिकारीको ध्यान केन्द्रित रहेको हामीले अनुभूति गरेका छौँ ।
 राज्यले सुनेन भन्नु भो, सरकारको कुन चाहीँ निकायले तपाईहरूलाई गाइड गर्नु पर्ने हो ?
 हाम्रो अभिभावक भनेको यातायात मन्त्रालय र गृह मन्त्रालय दुवै हुन् तर हाम्रा समस्यालाई यातायात मन्त्रालयले कहिल्यै सुनेको अवस्था छैन, गृह मन्त्रालय आफ्नै सेटिङमा हिडेको हामीलाई अनुभूति छ । किनकि राज्यले आफै तोकिदिएको भाडा हामीलाई दिलाउन नसक्नु राज्यको दायित्व होइन र ? अनि अर्को कुरा ओभरलोडको चेकिङमा हामी व्यवसायी खट्नु पर्ने त होइन नि । भारतीय मालबाहक ट्रक निर्वाध रूपमा ओभरलोड बोकेर थानकोटको उकालोमा कछुवाको तालमा उक्लिरहँदा राज्यले हेर्नु पर्ने होइन र ? तर राज्य हामी व्यवसायीका समस्यामा मौन रहेको हामीले अनुभूति गरेका छौँ ।
 उद्योगहरूले पनि हामीलाई राज्यले तोकेको भाडा दिन्नन् भन्नु भो नि ? यो विषयमा अघिल्ला वर्षमा आन्दोलन पनि गर्नु भो, तर बिचमै तुहिएको थियो नि तपाईहरूको आन्दोलन ?
 हो हामीले अघिल्लो वर्ष पनि राज्यले तोकेको भाडा पाउन र ओभरलोडको समस्या र भारतीय गाडीको वेरोकतोक ढुवानीका विरुद्ध आन्दोलन ग¥यो । उद्योगका सामान बोक्न ठप्प पनि गरेका हौँ, तर विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी, हामी यातायात व्यवसायी बिच पनि मनएक्यताको अभाव तथा राज्यबाट पाएका केही आश्वासनका कारण आन्दोलन रोक्नु प¥यो । किनकि हामीलाई राज्यले तोकेको भाडा दिन उद्योगहरूको पनि अवस्था कमजोर बन्दै गएको थियो । धेरै उद्योग रुग्ण थिए तर अब नयाँ नेतृत्वले फेरि यसमा जोडबल गर्ने छ ।
हामीले तत्कालै बैठक बसेर राज्यले तोकेको भाडा दिन उद्योगहरूलाई पत्राचार गर्ने छौँ । अनि ओभरलोडको अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराउने छौँ । किनकि ओभरलोड भार बहनकै कारण धेरै सडक दुर्घटनाको पनि हामीले सामना गर्नु परेको छ । एकातिर सडकको दुरावस्था, अर्कोतिर ओभरलोडको समस्याले हामी व्यवसायीलाई मात्र होइन, अन्य व्यवसायीदेखि सडकमा हिड्ने बटुवालाई बाटो काट्न समेत समस्या भएको छ ।
 अन्तमा आम व्यवसायीहरूलाई के भन्न चाहनुहुन्छ ?
 हामीले सर्वसम्मत रूपमा नयाँ नेतृत्व बनाउने प्रयास पनि नगरेका होइनौँ तर यो सम्भव नभए पनि हामी लोकतान्त्रिक प्रक्रियामा जान बाध्य भयौँ । लोकतान्त्रिक प्रक्रिया भनेकै निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्ने हो । निर्वाचनमा हारजित हुनु स्वाभाविक हो । चुनावका दिनसम्म मात्र हाम्रो बिचमा प्रतिस्पर्धा थियो तर हामी अब फेरि संस्थाको एउटै छानोमुनि उभिनुको किल्प छैन । मैले निर्वाचनमा पराजय भोग्ने साथीबाट पनि उत्तिकै साथ र सहयोगको अपेक्षा गरेको छु । उहाँहरू र हाम्रा सबै एजेण्डा साझा हुन् ।
साझा एजेण्डाको अनुमोदन गर्न सबैभन्दा बलियो आधार भनेको व्यवसायिक एकता नै हो । अब निर्वाचनको सबै प्रक्रिया अन्त्य भइसकेको छ । अब हामीले नयाँ र व्यवसायिक हकहितका लागि काम गर्ने हो । यसमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेको छु । किनकि यो कुनै प्यानलको जित नभएर सम्पूर्ण व्यवसायीको जितका रूपमा मैले लिएको छु ।
साथै भर्खरै सम्पन्न अधिवेशनमा साथ दिने पूर्व अध्यक्ष, व्यवसायीक नेतृत्व, निर्वाचन प्रक्रियामा खटिएका सम्पूर्ण कर्मचारी मित्रहरू, आम सञ्चारकर्मी मित्रहरू सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु । साथै मेरा भावनालाई आम पाठकसम्म पु¥याउने तपाईको गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।