Goraksha

National Daily

विचारले हाम्रो जीवनमा पार्ने प्रभाव

नारायणप्रसाद श्रेष्ठ

मानिस चेतनशील प्राणी हो । उसँग विचार छ, विवेकशीलता छ । सुखदुःख लाभ हानी नोक्सानी कसरी हुन्छ त्यो जान्दछ । जय पराजय के हो उसले राम्ररी बुझ्दछ । सत्य असत्य उसले जानेको छ । कर्म विकर्म, सदाचार, पापाचार, अत्याचार के हो ? उसले राम्ररी बुझेको छ । यतिमात्र होइन शान्ति अशान्ति कसरी हुन्छ, के गर्दा शान्ति हुन्छ र के गर्दा अशान्ति हुन्छ उसको विवेकले ठम्याउन सक्ने उसँग क्षमता छ ।

विचार सागरमा डुबुल्की मारी सदाचारी बन्न उ सधै लालायित पनि भइरहन्छ । कोही कसैलाई आघात पार्ने गरी वा अपमान हुने गरी विचार, वचन प्रवाह गर्न हुँदैन यो पनि प्रष्टसँग जान्दछ । उ समाजमा देखा पर्ने विविध विचारसँग एकाकार भई जिउन जानेको छ । दुःख उसले कहिले कल्पना गरेन । जसरी हाँशले पानी र दुध छुट्याउने सामर्थ राख्दछ त्यसरी नै मानव सोचले दुध र पानी सत्य असत्य छुट्याउने सामर्थ राख्दछ । ज्ञान, सिप र व्यवहारमा पवित्रता ल्याउने उपाय अवलम्बन गर्न सक्ने विचार क्षमता उसँग छ ।

जीवन सगुन साकार र सकारात्मक चिन्तनले भरिएको भण्डार हो । साथै जीवन प्रकृतिको नियम अनुसार उत्पन्न हुने विलय हुने प्रक्रियामा आवद्ध छ, यो कुनै पनि समय, क्षण यसले आफ्नो रुप बदल्न सक्छ । यो पनि उ जान्दछ । बाल युवा वृद्ध सबै यही नियमभित्र बाँधिएको हुन्छ यो सत्य पनि उसले प्रष्टसँग बुझेको छ । यतिमात्र होइन जीवन हिरा हो, यो अकबरी सुन झै शुद्ध छ यसभित्र लुकेको ज्ञानतत्व भनेकै हाम्रै विचार सागरबाट प्रर्दशन हुने व्यवहारिक जीवन दर्शन हो, यो पनि उसले जानेको छ ।

सुनको महत्व उसको रुप र निखारमा हुन्छ भने झै जीवनको महत्व पनि उसले प्रदर्शन गर्ने विचार र कर्ममा रहेको हुन्छ भन्ने सत्य उसले बुझेको छ तर पनि मानिस आफूले आफैलाई आफ्नै विचारको माध्यम किन पतित बनाइरहेको छ ? अरुलाई दुःखकष्ट दिनु भनेको आफूले आफैलाई समस्यामा उल्झाउनु हो भनी जान्दा जान्दै विचारमा शुद्धता प्रदर्शन गर्न उ किन हिचहिचाइरहेको होला ? के मानिस आफूलाई पतन भएको हेर्न, बुझ्न चाहान्छ र ? यो पनि उसको चाहाना होइन । सधै प्रथम श्रेणीमा रहन कहिले परिस्थितिले नदिन सक्छ, सफलता असफलता जीवनमा भइरहन्छ यो पनि उसले प्रष्टसँग बुझेको छ ।

निरन्तर गतिशील हुने जीवनचक्र झै मानव जीवन पनि बाल, युवा, वृद्ध हुँदै गतिशील भइरहने सत्य हो । उसको पहिचान भनेको उसको विचार हो । जीवन यसरी नै दिनरातको गतिशीलतामा अघि बढ्दै, समस्यामा उल्झँदै, समाधान गर्दै कहिले दुःख कहिले सुखको अनुभूति गर्दै अगाडि बढेको हुन्छ यो कुरालाई मानव चिन्तनले नकार्न सकेको छैन । तर, पनि यति बुद्धि र विवेक हुँदा पनि अरुलाई अप्ठेरो पारी आफूलाई स्वच्छ र पवित्र छु भन्न हामी किन हिचहिचाउँदैनौँ ?

शुद्ध र आचरणयुक्त जीवनशैली अपनाइ हिरातुल्य को महत्व र मूल्यलाई पहिचान गर्न सक्नुले जीवनलाई सफलता गराउनु हो र जीवन र जगतलाई सत्यको गोरेटोमा लैजाने विचार प्रदर्शन गर्नु मानिसको जिम्मेवारी हो भन्ने थाहा पाउँदा पाउँदै पनि हामी भित्रको पवित्र विचारलाई बाहिर ल्याउन कन्जुस्याई किन गर्दैछौँ । के यो सामाजिक दोष हो । कि मानव आचरणले प्रदर्शन गरेको सत्य हो ? तसर्थ यी कुराहरुलाई आफूभित्रको सत्यलाई बुझि कर्म र व्यवहारमा सर्वेभवन्तु सुखिन भन्दै सबैलाई समान दृष्टिकोण, समभाव दर्शाउने र विचारले सबैप्रति सम्मान भाव, जगाउने चिन्तन बढाउनु पर्दछ । सक्षमताको प्रदर्शन मानव स्वयम् आफैले गर्नुपर्छ यो सत्य कदापी भुल्नु हुँदैन ।

जीवनलाई सही र सत्य पथमा लैजाने दुईवटा बाटा छन् एउटा अध्यात्मिक चिन्तन र अर्को भौतिकवादी चिन्तन । विचार प्रदर्शन गर्दा पनि यी दुईवटामध्ये कुन बाटोलाई प्राथमिकता दिने, एउटै पक्षलाई मात्र लिने वा दुवैलाई साथ लैजादा उपयुक्त हुन्छ, असत्य थाहा हुन्छ, त्यो कुरा मनभित्रको शुद्ध कसौटीमा निखारी चिन्तन बढाउनु पर्दछ । विचार शुद्ध त कर्म पनि शुद्ध । मनमा उब्जने विचारले बुद्धिलाई विवेकशील भएर अगाडि बढन् प्रोत्साहित गरेको हुन्छ भने विवेकले भौतिक जगतमा प्रदर्शन भएको मानव शरीरलाई कर्ममा उत्र्न उत्प्रेरित गर्दछ । यही कर्म सामाजिक परिवेश, संस्कृति र संस्कार भएर मानव जीवनमा चलायमान भइरहेको हुन्छ । तसर्थ यो कुरालाई सधै आत्मसात गर्न सक्नु पर्दछ ।

मन उड्नेपन्छी सरह उडिरहन्छ यसको गति भौतिक जगतले निर्माण गरेको आधुनिक आविस्कारभन्दा पनि हावाभन्दा छिटो दौडिरहन्छ । यसलाई केवल विचारले रोकी प्रकृतिको रसस्वादन गर्दै अघि बढ्न प्रोत्साहित गरेको हुन्छ । विचारले हामीलाई हाम्रो अस्तित्वको पहिचान गराएको हुन्छ । मानवीय मूल्य र मान्यताभित्रको सत्यलाई उजागर गरेको हुन्छ । बसुधैव कुटुम्बकमको मान्यतालाई शिरोधार्य गरी जीवन र जगतमा आफ्नो पहिचान बढाउन मद्दत गरेको हुन्छ ।

पाप र धर्मको अर्थ बुझि अरुलाई कुनै पनि कुराले कष्ट दिनु पाप हो राम्रो कर्म होइन, र सबैप्रति समान भाव र दृष्टिकोण राखी सकारात्मक चिन्तन प्रवाह गर्नु धर्म हो भनी विचारले मानिसलाई सत्य पथमा लैजाने प्रेरणा दिएको हुन्छ । विचारको शुद्धताबाट नै मानिसको जीवन सफल हुन्छ यो सत्य मानिस स्वयम्ले उजागर गरको हुन्छ । मनमा उब्जने हजारौँ राम्रा नराम्रा विचारलाई छटनी गरी शुद्ध र पवित्र विचार, जसले संस्कृति र संस्कार तथा जीवन पद्धतिमा नयाँ कुरा सिकाउँदै जान्छ, त्यसतर्फ मानवीय चिन्तन मुखरित हुनु पर्दछ ।

मानिसको मनभित्र रहेको आत्मासत्य, जो अदृश्य भएर पनि मानिसको मन विचार भाव कर्मलाई बाँध्न सकेको हुन्छ, त्यसलाई आध्यात्मिक ज्ञान भनिन्छ भने भौतिक जगतको चकाचौधमा चर्मदृष्टिले देख्ने बाह्य आवरण भौतिक सत्य हो यो कुरा सबैले बुझ्न जरुरी छ । यसको लागि आध्यात्मिक सत्यले प्रतिपादन गरेको भौतिक जगतले दायित्वबोध गरेको विषयलाई स्वीकारेर संस्कारयुक्त÷आचरण र व्यवहारलाई प्रदर्शन गर्ने सामर्थ राख्नु पर्छ । यो मानव जीवनको अनिवार्य कर्म पनि हो ।
आध्यात्मिक सत्यले अंगिकार गरेको भौतिक सत्यले स्वीकारेको विचारबाट नै मानिसले आफूलाई शान्ति र सद्भाव पूर्ण जीवनशैलीमा आवद्ध गर्न सक्छ । कर्म र व्यवहारमा पवित्रता ल्याई सकारात्मक चिन्तनका साथ प्रस्तुत हुने अवस्था रहन्छ । जसरी गौतमबुद्धले आफूलाई शान्ति र सद्भावको प्रयावाची शान्तिको अग्रदुत बन्न सफल भए । भौतिक सुख सुविधाले सम्पन्न भएर पनि त्यसलाई क्षणिक स्वप्न मानी, दुःखसुख सांसारिक जीवनशैलीमा आइरहने भौतिक सत्य हो भन्ने ठानी त्यसबाट रतिभर विचलित नभई शान्तिको सन्देश सर्वत्र फैलाउन जसरी समर्थ भए, जसलाई अहिले संसारभरका मानिसले शान्तिको अग्रदुत भनी चिन्दछन् ।

शान्तिको अग्रदुत भएर वर्तमानसम्म परिचित भएका छन् । त्यस्ता महान बुद्धको अनुयायी बन्न हामीले हाम्रो विचार र कर्ममा पनि त्यसरी नै त्याग र बलिदान गर्न सक्नु पर्दछ । शान्ति, प्रेम, सद्भाव जीवनको उद्देश्य भनी प्रेमको सागर स्वरुप रहेको जीवनलाई हराभरा र प्रकृतिको छटासँगै काम क्रोध लोभ मोह परित्याग गरी पवित्र आत्माको पहिचान गर्न सक्नु पर्दछ । विचार प्रवाह गर्दा भावी पुस्ताले युगौयुग अवलम्बन गर्न सक्ने चिन्तन प्रवाह गर्नु सक्नु पर्दछ । तब मात्र जीवनको सार्थकता हुन्छ विचारमा शुद्धता आउँछ ।

अहिलेको वर्तमानलाई हेर्ने हो । सानोदेखि ठुलासम्म नेतादेखि मन्त्री प्रधानमन्त्रीसम्म तथा आफूलाई सक्षम र प्रगतिशील विचारको उत्प्रेरक सम्झने सबैले क्षणिकतालाई आफ्नो विचार गन्तव्य बनाएको पाइन्छ । हो ! कर्म र विचारलाई वर्तमानमा नै प्रदर्शन गर्नु पर्दछ । वर्तमान नै भविष्यको आधार पनि हो तर वर्तमानमा सबै गर्ने हो भनी आफू र बिरानो छुट्याउन नसक्ने, राम्रो र नराम्रो छुट्याउन नसक्ने, आफ्ना भावीपिढीले के भन्लान् त्यो कुरा सोच्दै नसोच्ने, यो के हाम्रो वर्तमानले खोजेको सत्य हो र ? देखावटी र बनावटी सत्य के सधै दिगो रहन सक्छ ? क्षणिक भौतिक सुख सुविधा मात्र सबै सत्य होइन यो सबैले बुझ्नु पर्दछ ।

हिमाल जतिसुकै अग्लो भए पनि त्यसमा चढ्ने मानिस ओरालो लाग्नै पर्छ फेदमा बसी उकालो ओरालोको मूल्याङ्कन गर्नै पर्छ । तसर्थ विचार प्रवाह गर्दा वर्तमान सत्यलाई पाच्य हुने भविष्यको आधार तयार गर्ने, विचार र संकल्पमा पवित्रता झल्कने, सबैप्रति समान भाव झल्कने गरी विचार प्रवाह गर्नु गराउनु पर्दछ । सबै सक्षम हुँदैनन् असक्षमले पनि सक्षम विचार प्रवाह गर्न सक्छ, यो कुरा सबैले बुझ्न जरुरी हुन्छ । अहंकार, घमण्ड, कामक्रोध, लोभमोह यी मानिसको विचारलाई विचलित गराउने तत्व हुन् यो कुरा बुझि शुद्ध र पवित्र विचार प्रवाह गर्नु हाम्रो जिम्मेवारी, दायित्व हो भन्ने ठानी आफूलाई प्रदर्शन गराँै । यो आजको आवश्यकता हो ।