पानी दिवस
बालाराम खड्का
तुलसीपुर, १० चैत । आज पानी दिवस । पानी दिवस मनाइरहँदा मुहानमा सङ्कट चुलिँदै आएको छ । पानीमुनिको सतहको पानी हरेक वर्ष भासिँदै गएको छ । हिमाल नाङ्गो भइरहेका छन् । अर्थात् पछिल्लो समयमा विश्व समुदायमै जलवायु सङ्कट बढिरहेको छ । एक जना वैज्ञानिकले उद्घोष गरिसकेका छन्, अबको तेस्रो विश्वयुद्ध पानीकै लागि हुने छ ।
हो, साच्चै अवस्था त्यस्तै देखिएको छ । धारामा खानेपानीको खिचाचानी, सिँचाइ कुलोमा पानी बाँडफाँडको लफडा अनि गाईवस्तुलाई पानी खुवाउने राज्यको कुनै नीति छैन । प्रकृतिले निःशुल्क दिएको पानी अहिले बजार भएको छ । पानी व्यवसायी पलपलमा बढिरहेका छन् । जलवायु सन्तुलनका लागि वर्षातको पानी पर्ने दर कमजोर भइरहेको छ । वर्षातको पानी सञ्चितीकरण गर्न आधुनिक सहरीकरण अवरोध बनेको छ । परम्परागत मुहान सुक्दै गएका छन् । इनारको पानीको सतह बर्सेनि भासिँदै गएको छ ।
पानी सङ्कट चुलिँदै गर्दा स्थानीय, प्रदेश र सङ्घीय सरकारको बजेट प्राथमिकता सडक र औद्योगिकीकरणममा खनिएका छन् । वार्षिक बजेटको कम्तिमा ६० प्रतिशत बजेट भौतिक निर्माणमै खर्चिएको छ । मानौँ पानीको समस्या विकास होइन, विकास भनेको भौतिक पूर्वाधार निर्माण नै हो । तैपनि जसोतसो पिउन पुग्ने पानी जनताले पाएका छन् । सरकारले स्वस्थ पिउने पानीलाई आधारभूत अधिकारका रूपमा संविधानमै किटान गरेको छ तर पनि पानीको उपलब्धता अझै सहज हुन सकेको छैन । सायद अबको केही वर्षपछि खानेपानीको आपूर्तिमा विद्युतको जस्तै लोडसेडिङ हुने छ ।
कुनै बेला मुहानमा प्रशस्त खाने र सिँचाइका लागि पानी हुने पातुखोलाको मुहान अहिले सुख्खा छ । त्यहाँ रहेको पानीभरि खानेपानीको लागि प्रयोग गरिएको छ । यो पानी सिँचाइ गर्ने कि खानेपानीको लागि प्रयोग हुने भन्ने विषयमा बेलाबेलामा खैलाबैला मच्चिन्छ । मुहानको पानी ४ इञ्चको पाइपमा सीमित छ । त्यस्तै गुहार खोलामा पनि कमिला हिडछन् । ‘हाम्रा कुवाँ, पँधेरो, पोखरीदेखि पानीका मुहानहरू आज घनाबस्तीमा परिणत भइसकेका छन्’, तुलसीपुर उपमहानगरपालिका–३ का धनबहादुर पुनले भने । बढ्दो सहरीकरणले पानीको स्रोत र शुद्धता दुवै कुरामा चुनौती थपेको छ । चैत–वैशाख लाग्यो भने पानीकै लागि अशान्ति छाउँछ । विश्वमा हुने रोगमध्य सर्वाधिक रोग सफा पिउने पानी उपलब्ध नहुनाले भएको भन्ने गरिन्छ । चुरे उत्खनन् तथा विभिन्न विकास निर्माण र वनविनाशले गर्दा हाम्रा परम्परागत पानीका मुहान सुक्दै गएका छन् ।
त्यसप्रति सरोकारवालाहरू चिन्तित छन् । पर्यावरण, कृषि, स्वास्थ्य र शिक्षा सबैतर्फ जल संरक्षणका आवाज आउन्, जलबाट हुने प्राकृतिक विपत्तिहरू बाढी, पहिरोलगायत अन्य कुराहरू घट्दै जाउन् । जलको अभावमा कुनै पनि प्राणी वा वनस्पति बाँच्न असम्भव छ । त्यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्मन मात्र होइन बाँच्नका लागि पनि स्वच्छ पानीको आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भए ८० प्रतिशत रोग नै नलाग्ने दाबी गरिन्छ ।
संविधानको मौलिक हकमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन सकेको छैन । खानेपानीमा धारा माग गर्दा पानीको अभावले खानेपानीका धारा जडान गर्न नसकेको हजारौँ उपभोक्ता छन् । ‘खनेका कुवाँ सुकेका छन्, धारा माग गर्दा पानीको अभावले दिन सकिँदैन भनिन्छ, सविधानको मौलिक हक पनि कार्यान्वयन हुन सक्दैन’, एक स्थानीयले भने, ‘सरकाको एक घर एक धारा अभियान पनि कागजमै सीमित भएको छ । चुरेपहाड रित्तिँदै गर्दा त्यसमा वृक्षारोपन गर्ने योजना कसैको पनि छैन ।
पानी हाम्रो जीवन हो र शुद्ध पिउने पानी हाम्रो अधिकार र कर्तव्य दुवै । पानी छैन त जिन्दगानी छैन, यस अद्भूत पानीको मानव जीवनसँगको अटुट नातालाई आत्मसात गर्दै पानीबिनाको काकाकुल अशान्तिसँगै शुक्रवार शान्तिका लागि पानी भन्ने मूल नाराका साथ विश्व पानी दिवस मनाइएको छ ।
तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्था तुलसीपुरले मुहानमै पुगेर पानी दिवस मनाएको हो । तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले खानेपानी मानिसको पहिलो शर्त भएको भन्दै नेपालको संविधानले नै सुनिश्चित गरेको अधिकार जनताले पाउनु पर्ने बताए ।
उनले पछिलो समयमा विभिन्न कारणले मुहान सुक्दै गएको भन्दै अब मुहान संरक्षण गनुपर्ने बताए । ‘खानेपानीको वैकल्पिक व्यवस्था जमिन मुनिको पानी र यहाँको बबई नदी हो, यो सफल भए तुलसीपुरलाई पानी प्राप्त हुन्छ’, खड्काले भने । उनले खानेपानीका मुहान वरपर पानी सोचने रुखबिरुवा लगाउनुका साथै पहिलो रोकथाम हुनु पर्ने बताए । खड्काले मुहानदेखि मुखसम्म शुद्ध पानी हुनु पर्ने बताए । खडकाले पानीको संरक्षणका लागि जलायशय निर्माण गर्नु पर्ने र त्यसतर्फ आफूहरू लाग्ने बताए ।
‘अहिले मुहानका मानिसलाई सिँचाइ आवश्यक छ भने सहरकालाई घरघरमा शुद्ध पानी ।’ उनले आवश्यकता हेरेर अगाडि बढनु पर्ने अवस्था भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका मदन धिताल, नेकपा एमालेका जितबहादुर खड्का, तुलसीपुर उपमहानगरपालिका वडा नंं. ५ का वडाध्यक्ष वीरेन्द्र शाह, वडा नं. ३ का अध्यक्ष वीरबहादुर विक, १२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर खानेपानीका सल्लाहकार जनकप्रसाद खराल, अस्थायी प्रहरी चौकी गोठीखोलाका प्रमुख भरतनाथ योगी, पार्सद रजन गौतम, पत्रकार वंशिकुमार शर्मालगायतले पछिल्लो समयमा खानेपानीको मुहान विभिन्न कारणले सुक्दै गएको बताएका थिए । उनीहरूले यसलाई बेलैमा जोगाउन नसके खानेपानीको हाहाकार हुने बताएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष यमकान्त भण्डारीले पछिल्लो समयमा बबई खानेपानी आयोजनादेखि विभिन्न खानेपानीका मुहान संरक्षण बढाएको भन्दै खानेपानीको समस्या समाधान गर्न आफू लागेको बताए । उनले जनतालाई शुद्ध खानेपानी पु¥याउन आफू लाग्ने बताए । कार्यक्रमको सजीकरण तुलसीपुर खानेपानीका सचिव सेवकराम भण्डारीले गरेका थिए ।
घोराहीको असल अभ्यास
पानी सङ्कटमा घोराहीले वातावरणमैत्री योजनालाई प्राथमिकतामा राखेको छ । पानीका मुहान संरक्षणसँगै वर्षातको पानी सञ्चय गर्न उपमहानगरपालिकाले कम्तिमा दर्जन बढी कृबिम तालको निर्माण गरेको छ । ‘पानीको सञ्चिती बढाउन हामी निकै संवेदनशील छौँ, साथै सञ्चय भएको पानीबाट सिँचाइ सुविधाको सहजता पनि हाम्रो अपेक्षा हो’, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले गोरक्षलाई भने । उनले आगामी वर्ष पनि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विशेष योजना ल्याइने पनि बताए । यसैगरी नागरिकलाई पिउने पानी उपलब्ध गराउने सन्दर्भमा पनि उमपहानगरपालिकाको उल्लेख्य भूमिका रहेको उनको अभिव्यक्ति थियो ।