दाङमा अस्पतालको जग हालेका ‘गिरिजा बाबु’

देवेन्द्र बस्नेत
दाङ, ८ फागुन । जिल्लामा ठुलो अस्पताल कतै थिएन । बाँकेमा भारतीय लगानीमा ठुलो मेडिकल कलेज खुलेको थियो ‘डिवाइ पाटिल मेडिकल कलेज ।’ त्यो कलेजलाई जिल्लामा भित्राउन सके जिल्लाबासीलाई स्वाथ्य उपचारमा राहत पुग्ने महसुस गरेका थिए, तुलसीपुरका शङ्कर आचार्यहरूले अनि लागे डिवाइ पाटिल मेडिकल कलेज जिल्लामा भित्राउन ।

तत्कालीन तुलसीपुरका मेयर शङ्कर आचार्यले डिवाई पाटिल समूहलाई बेस्सरी फकाए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बोलाएर मेडिकल कलेज उद्घाटन गराउने आश्वासन यो भारतीय समूहलाई दिए । भारतीय समूह जिल्लामा मेडिकल कलेज ल्याउन तयार देखियो । आफ्ना साढुभाइ कांग्रेस नेता खुमबहादुर खड्कामार्फत् तत्कालीन प्रधानमन्त्रीद्वारा मेडिकल कलेजको उद्घाटन गर्ने मेसो मिलाए, शंकरले, अनि २०५० मा कोइराला यो मेडिकल कलेज उद्घाटनका लागि जिल्ला झरे । ‘२०५० सालमा गिरिजाप्रसाद कोइराला आएर डिवाई पाटिल मेडिकल कलेजको शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो’, तत्कालीन तुलसीपुरका मेयर शङ्कर आचार्यले भने, ‘त्यो शाखा कार्यालय खुलेपछि जिल्लामा ठुलो अस्पताल हुने भयो भनेर दङाली धेरै खुसी भएको अवस्था थियो ।’

२०४८ को आम चुनावबाट निर्वाचित कोइराला प्रधानमन्त्री बनेका थिए । २०४९ को स्थानीय निकायको चुनावबाट शङ्कर तुलसीपुरका मेयर निर्वाचित भएका थिए । ‘प्रधानमन्त्री कोइरालालाई बोलाएर उद्घाटन गराउने भनेपछि डिवाई पाटिल समूह दाङमा मेडिकल कलेज खोल्न सहमत भएको थियो’, त्यो बेलाका अर्का जानकार गोपिनाथ योगीले भने, ‘गिरिजा बाबु आएर यो मेडिकल कलेजको शाखा उद्घाटन गरेर जानुभएको हो ।’ उनका अनुसार त्यो बेला तत्कालीन प्रधानमन्त्रीसँगै तत्कालीन स्वास्थ्यमन्त्री तथा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव समेत तुलसीपुर आएका थिए । ‘प्रधानमन्त्री र स्वास्थ्यमन्त्री दुवै जना आउनुभएको थियो’, योगीले भने, ‘उहाँहरूले त्यो बेला बोलेका कुराहरू त अहिले स्मरण छैन ।’

उनका अनुसार बहुदल आएपछि तत्कालीन अञ्चलाधीशको कार्यालय खाली थियो । त्यही खाली कार्यालयमा त्यो मेडिकल कलेजको शाखा कार्यालय खोलिएको थियो तर भारतीय लगानीकर्ताले खोलेको यो कलेज तुलसीपुरमा केही समय मात्रै चल्यो । तत्कालीन मेयर आचार्यका अनुसार बढीमा दुई महिनाको अवधिसम्म मात्रै यहाँ त्यो मेडिकल कलेजको शाखा सञ्चालन भएको थियो तर उसले शाखा कार्यालयमार्फत पनि आम नागरिकलाई स्वास्थ्य सेवा भने दिएकै थियो । ‘दुई महिना जति डिवाई पाटिल चल्यो होला’, आचार्य भन्छन्, ‘त्यसपछि उ पनि भागेर गयो ।’ यो समूह शाखा कार्यालय बन्द गरेर गएपछि यो भवनमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको थियो । अहिले प्रादेशिक अस्पताल भएकै स्थान (तत्कालीन अञ्चलाधीश कार्यालय) मा यो मेडिकल कलेज स्थापना भएको थियो तर त्यो बेलाको भवन तत्कालीन द्वन्द्वमा क्षति पु¥याइएपछि भवनको पुनर्निर्माण गरिएको थियो ।

तत्कालीन द्वन्द्वको समाप्तिपछि जिल्लामा राप्ती अञ्चल अस्पताल खोल्ने निर्णय सरकारले ग¥यो । यो बेलाको सरकारको नेतृत्व पनि कोइरालाले नै गरेका थिए । २०६४ असार ७ गते कोइराला नेतृत्वको सरकारले तुलसीपुरमा अञ्चल अस्पताल खोल्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । तुलसीपुरका गोपीनाथ योगीका अनुसार त्यो बेला घोराही कि तुलसीपुरमा अञ्चल अस्पताल खोल्ने भन्ने विषय पेचिलो बनेको थियो । तत्कालीन स्वास्थ्यमन्त्री भने यो अस्पताल घोराहीमा सञ्चालन गर्ने मनसायमा देखिएका थिए तर डिवाई पाटिल मेडिकल कलेजको उद्घाटनका लागि २०५० मा कोइरालासँगै आएका तत्कालीन स्वास्थ्यमन्त्री डा. रामवरण यादवले प्रधानमन्त्री कोइरालालाई डिवाई पाटिल मेडिकल कलेज उद्घाटनको घटनाक्रम सुनाइदिएका थिए ।

यादवले नै कोइरालाले उद्घाटन गरेको मेडिकल कलेज बन्द भएको र तुलसीपुरमा भरपर्दो स्वास्थ्य संस्था नभएको जनाउ दिएपछि कोइरालाले अञ्चल अस्पताल तुलसीपुरमा खोल्ने निर्णय गराएको गोपिनाथ योगी बताउँछन् । ‘गिरिजाले नै उद्घाटन गरेको डिवाई पाटिल बन्द भइसकेको र तुलसीपुरमा अस्पताल अपरिहार्य छ भन्ने जानकारी डा. रामवरण यादवले गराएपछि ०६४ मा गिरिजाप्रसाद कोइराला तुलसीपुरमा राप्ती अञ्चल अस्पताल सञ्चालन गर्ने निर्णयमा पुगेको भन्ने कुरा आएको थियो’, योगीले भने ।

जिल्लामा भरपर्दो स्वास्थ्य संस्था नभएकाले नै स्वास्थ्य सेवाको जग हालेका थिए, तत्कालीन प्रधानमन्त्री कोइरालाले । स्वास्थ्यसँगै कोइराला जिल्लाको पानीको विषयमा समेत उत्तिकै गम्भीर थिए । पानीको मुहान सुक्दै जान थालेको जिल्लामा पानीका लागि तालतलैया बनाउन कांग्रेसीलाई सुझाव दिएको स्मरण कांग्रेसका पुराना नेता वीरकेशरी गौतम गर्छन् । कोइराला प्रधानमन्त्री भएकै बेला विकासको माग गर्दै गौतमसहितका कांग्रेसका नेताहरू प्रधानमन्त्री कोइराला समक्ष डेलिगेशन गएका थिए । गौतम सहितको नेता टोलीले विकासको लामो सूची तयार पारेर कोइरालालाई सुनाएका थिए ।

कोइरालाले यी अन्य विकासे योजनालाई भन्दा खानेपानीको योजनालाई महत्व दिन आग्रह गरेका थिए । ‘एसियाकै ठूलो उपत्यका दाङ हो, त्यहाँ सम्भावनाका धेरै आधार छन् तर दाङमा पानी सुक्दै गएको भन्ने सुनिन्छ’, कोइरालाको भनाइ उदृत गर्दै गौतमले भने, ‘त्यहाँ पानी सुक्न दिनु भएन, तालतलैया बनाउने योजना बनाउनुस्, पानी भएन भने कुनै पनि विकास हुँदैन, त्यसैले पहिला पानी जोगाएर राखौँ ।’ तालतलैया निर्माण भए पानीको सञ्चितीकरण हुने र यसले पानीको हाहाकारबाट जिल्ला जोगिने कोइरालाले बताएका थिए ।
दाङमा सम्झिइए कोइराला
नेपाली कांग्रेसका पूर्व सभापति एवम् नेपाली राजनीतिका शिखरपुरुष स्व.गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस घोराहीमा मनाइएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा स्मृति दिवस मनाइएको हो ।

क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षता एवम् नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने वक्ताले नेपालको शान्ति प्रक्रियाको नेतृत्व गर्ने स्व.कोइरालाको योगदानको उच्च कदर गर्दै उनी एक कुशल नेतृत्वकर्ता भएको बताएका थिए । नेपाली कांग्रेसको नेतृत्व एवम् समग्र नेपालको नेतृत्वदायी भूमिकामा रहेर देशलाई शान्तिको मार्गमा ल्याउन काम गरेको भन्दै उनले देखाएको मार्गमा हिड्नु पर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य भूपबहादुर डाँगी, नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. २ (१) का सभापति प्रकाश श्रेष्ठ, नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. २ (२) का सभापति अभियान बस्नेत, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, पूर्व महाधिवेशन प्रतिनिधि कृष्ण सुवेदी, घोराही उपमहानगरपालिका वडा नं. १८ का सभापति केशरबहादुर रावतलगायतले भनाइ राखेका थिए । यसैबिच स्व. कोइरालाको १४औँ स्मृति दिवस तुलसीपुरमा पनि मनाइएको छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन तुलसीपुर नगर समितिको आयोजनामा स्मृति दिवस मनाइएको हो । गिरिजाप्रसाद कोइराला फाउन्डेसन तुलसीपुर नगर समितिका सभापति डिल्लीबहादुर डाँगीको अध्यक्षता, फाउन्डेसनका प्रदेश सदस्य, कांग्रेस महाधिवेसन प्रतिनिधि केशव आचार्यको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने वक्ताले नेपाली राजनीतिमा कोइरालाको महत्वपूर्ण योगदान रहेको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केशव आचार्यले कोइरालाले नेपालका विभिन्न राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

माओवादी द्वन्द्वले आक्रान्त मुलुकमा तत्कालीन माओवादीलाई राजनीतिक मूलधारमा प्रवेश गराई मुलुकमा शान्ति स्थापना गरेकै कारण कोइराला एसियाकै एक कुशल राजनेताको रूपमा स्थापित भएको सहभागीको भनाइ थियो । कार्यक्रममा विशिष्ट अतिथि गिरीले सहमति, सहकार्य र एकताका हिमायती, निडर पुरुष गिरिजाप्रसाद कोइरालाले पु¥याएको योगदान उच्च रहेको बताए ।

त्यस्तै नेपाल तरुणदलका जिल्ला अध्यक्ष टीका घर्तीले कोइरालाले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । प्रजातन्त्र लोकतन्त्रदेखि द्वन्द्वबाट आक्रान्त मुलुकमा माओवादी र सरकारबिच भएको १२ बुँदे सम्झौताले शान्ति स्थापना गरेको इतिहासको सहभागीले चर्चा गरेका थिए । नेपाली कांग्रेसका पूर्व पार्टी सभापति समेत रहेका कोइरालाले कांग्रेसको संगठनलाई मजवुत गराउन उनको योगदान धेरै रहेको बताएका थिए । स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. ३ का सचिव शोभाखर सापकोटा, प्रदेश सदस्य मुक्तिप्रसाद न्यौपाने, जिपी फाउण्डेसनका नगर सचिव निमबहादुर केसी, डिल्लीराज धिताल, टोपेन्द्र रेग्मी, ओम वली, जिवलाल सापकोटा, गणेश बस्नेतलगायतले भनाइ राखेका थिए ।