देवेन्द्र बस्नेत
दाङ, ६ चैत्र । आम कार्यकर्ताबाट ‘शालीन महरा सर’ को पगरी गुथाइएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको शालीनतालाई उनीसँग जोडिएका विभिन्न प्रकरणले निरन्तर ओरालो यात्रामा सोझ्याए । कुनै न कुनै प्रकरणमा जोडिएर निरन्तर ओरालो यात्रा कुदेको ‘महरा शालीनता’ यसपालि स्खलित मात्रै भएन सुन प्रकरणसम्म आइपुग्दा उनको राजनीति समेत ‘अवसान’ को बिन्दुमा पुगेको छ ।
भेप सुन प्रकरणमा मुछिएका महरालाई उनकै पार्टी नेतृत्वको सरकारले नियन्त्रणमा लिएपछि ‘महरा राजनीति’ को अवसान भएको आँकलन गर्ने प्रशस्त ठाउँ मिलेको छ । छानबिनका लागि नियन्त्रणमा लिइएका महरा यो मुद्दामा भलै निर्दोष ठहर होलान् अनि उन्मुक्ति पाउलान् । तथापि उनको छविमाथि लागेको कालो धब्बाले भासमा परेको उनको राजनीतिले उकास पाउनेमा आशङ्का देखिन्छ । त्यसो त भेप सुन प्रकरणमा आफ्नो नाम मुछिनासाथ महराले आफ्नो राजनीति सखाप बन्न थालेको महसुस गरिसकेका थिए ।
गोरक्षसँग दाङमा गत साउनमा भएको अन्तर्वार्ताका क्रममा महराले भनेका थिए, ‘मलाई र मेरो राजनीतिलाई खोइ किन सिध्याउन खोजिँदै छ मैले पनि बुझ्न सकेको छैन ।’ कोबाट सिद्धिँदै हुनुहुन्छ ? उनको जवाफ थियो, ‘कसले किन सिध्याउन खोज्दै छ, त्यो त थाहा छैन ।’ उनको यो अभिव्यक्ति महराले आफू राजनीतिक पतनको बाटोमा रहेको महसुस गरेको प्रमाण काफी थियो । नभन्दै सुन प्रकरणले उनको राजनीतिलाई समाप्तिको कोटरीमा पु¥याइदिएको छ ।
प्रतिनिधि सभाका सभामुखको कार्यकालमा लागेको यौन दुराचारको मुद्दाले गुमेको ‘शालीन नेता’ को ‘साख’ पुनः फर्काउन चाहेका थिए, महराले । प्रतिनिधि सभा सचिवालयकी महिला कर्मचारीमाथि यौन दुराचार गरेको आरोपमा मुद्दा खेपेका महराले यो प्रकरणमा सफाइ पाएपछि आफ्नो चुनावी जिल्ला दाङमा आफूलाई क्रमशः सहज बनाउँँदै लगेका थिए । भलै उनीमाथि जोडिएको उक्त प्रकरणमा निर्दोष सावित भए पनि आम नागरिकसँग नतमस्तक देखिन्थे, उनी । राजनीतिक रूपमा फेरि बौरिने अवसरका रूपमा महराले गत निर्वाचनलाई आफू अनुकूल बनाउन चाहे तापनि माओवादी नेता महराका लागि गत निर्वाचन अग्निपरीक्षा नै बन्यो । उनले यो परीक्षामा सहभागी हुने हिम्मत भने गरेनन् ।
माओवादीको पहिलो रोजाइँका सम्भावित उम्मेदवार महराले आफूलाई आम नागरिक सामु पहिले जसरी ‘आँखा जुधाउन’ सक्ने ल्याकत राखेनन् । तब त सम्भावित हार देखी तर्सिए अनि दाङ २ मा दोस्रो विकल्पमा रहेकी रेखा शर्मालाई उम्मेदवार बन्ने ‘सुनौलो अवसर’ प्राप्ति भयो । भलै त्यो बेला महराले भनेका थिए, ‘म अब पार्टी राजनीतिमा सक्रिय भएर लाग्छु ।’ यौन दुराचारको मुद्दाले ओरालो लागेको महराको शालीनता ‘कम–ब्याक’ भएन बरु थप ओरालो यात्राको मार्गमा कुद्ने खतरादेखि मुक्त रहेन । पहिलेको मुद्दाको ‘तुष’ मेटिन नपाउँदै सुन प्रकरणमा मुछिए र अन्ततः सोमवार उनी समातिए ।
२०६४ मा दाङकी कांग्रेस नेतृ अनिता देवकोटालाई पहिलो संविधान सभा निर्वाचनमा पराजित गरेसँगै रोल्पाका महराको उँचो राजनीतिक कदको रेखाङ्कन भयो । उनलाई त्यो बेला दाङका सम्भावित एक मात्रै शीर्ष नेताका रूपमा विश्लेषण गरियो । माओवादी राजनीतिमा ठुलो प्रभाव राख्न सकेका महरालाई कतिपयले त्यो बेला दाङको विकासका ‘पर्याय’ का रूपमा अथ्र्याए । दोस्रो संविधान सभा निर्वाचन ०७० मा महरा दाङमै टिकेनन् । उनी आफ्नो गृह जिल्ला रोल्पा हानिए । उनी त्यो बेला पनि विजयी बने ।
निर्वाचनका लागि दाङबाट रोल्पा फड्को मारेका महराका लागि ०७४ को प्रतिनिधि सभा निर्वाचन रोल्पा अनुकूल बनिदिएन । उनलाई फेरि दाङ झर्नु पर्ने बाध्यता आइलाग्यो । त्यो बेला रोल्पाका अर्का नेता वर्षमान पुनले रोल्पामा महरालाई टिक्न दिएनन् । महरालाई दाङ झारेर पुनले रोल्पाको जनमतलाई आफ्नो एकल पडकमा निरन्तर राखिरहन चाहे । अर्थात रोल्पाको जनमतमाथि महराले कहिलै आँखा लगाउन नपाउने अवस्था निम्त्याउन पुन चाहन्थे । नभन्दै महराको यो राजनीतिक अवसानले अब पुनका लागि ‘महरा त्रासदी’को अन्त्य भएको छ भने रोल्पा उनको लागि एकलौटी बनेको छ ।
०७४ को निर्वाचनमा एमालेसँगको तालमेलको बलमा प्रतिनिधि सभा सदस्य चुनिएका महराको प्रतिनिधि सभा यात्रा सुखद् बनेन । प्रतिनिधि सभा सभामुखको ‘ओहदा’ मा पुगेका महरा यौन दुराचारजस्तो गम्भीर मुद्दामा मुछिए । संसद् सचिवालयकी एक कर्मचारीले महराविरुद्ध
बलात्कार मुद्दा दर्ता गरेपछि महराको सभामुख पद मात्रै खोसिएन उनको राजनीतिक यात्रा एकाएक ओरालो लाग्यो । भलै महराले यो मुद्दामा सफाइ पाए । तथापि यो मुद्दाले महराको सक्रिय राजनीति ‘शिथिल’ बन्दै गयो । कार्यकर्ता पङ्क्ति सामु ‘निराश’ देखिने महराले आफूलाई पहिला जस्तो ‘भद्र’ नेताका रूपमा प्रस्तुत गर्न सहज मान्दै मानेनन् । उनको राजनीतिक यात्रालाई ठुलो धक्का लगाएको यो मुद्दादेखि शिथिल बनेका महरा गत निर्वाचनमा भिड्ने वा नभिड्ने भन्नेमा अनिश्चित देखिए तर अन्तिम निर्णय लिए ‘निर्वाचन लड्दैन ।’
‘महरा सर गत निर्वाचनमा नलड्नुको कारण नै उहाँमाथि लागेको आरोप वा मुद्दाको प्रभाव नै हो’, एक बाम विश्लेषक भन्छन्, ‘उहाँमा चुनाव जित्छु भन्ने आत्मविश्वास नै भएन ।’ महराले आफ्नो जनमत बुझ्ने माध्यम गत स्थानीय तहको निर्वाचनलाई बनाएका थिए । आफ्नो क्षेत्र दाङ २ मा रहेको ठुलो स्थानीय तह घोराही उपमहानगरको जनमत बुझ्न खोजेका उनले यहाँको मेयर पदको उम्मेदवार आफू निकटस्थ नेता माओवादीका हेमराज शर्मालाई बनाए । उनले प्राप्त गर्ने जनमतका आधारमा आफ्नो उम्मेदवारी रहने वा नरहने भन्ने विषयको निक्र्योल गर्नेमा महरा थिए । यो स्थानीय तहमा आफू निकटस्थ शर्मा पराजित बने, त्यो पनि कांग्रेससँगको गठबन्धन रहेको अवस्थामा । एकाएक निर्वाचनबाट भाग्दा कार्यकर्ता पङ्क्तिमा राम्रो सन्देश नजाने देखेका महराले आफू निर्वाचन लड्ने उद्घोष भने गरेकै थिए ।
गत निर्वाचनमा आफूलाई फेस गर्न डराएका महराले आफूलाई पार्टी राजनीतिमा मात्रै केन्द्रित गर्ने बताए पनि उनीसँग जोडिएको सुन प्रकरण उनको यो मार्गमा अर्को बाधक बनिदियो । ‘आम निर्वाचन मात्रै होइन, यस्ता ठुला घटनामा नाम मुछिएपछि पार्टी आन्तरिक राजनीतिमा पनि असर पर्छ नि’, ती बाम विश्लेषकले भने, ‘पार्टीभित्र पनि त व्यक्तिगत छवि, आचरणको कुरा जोडिन्छ नि ।’
यो प्रकरणबारे सरकारले गर्ने अनुसन्धानले दोषी प्रमाणित हुने वा नहुने भन्ने एउटा पाटो भयो तर लागेको आरोपले मात्रै पनि राजनीतिक जीवनमा ठुलो नकारात्मक प्रभाव पार्ने तर्क बाम विश्लेषक गर्छन् । ‘दोषी, निर्दोषको कुरा फरक पाटो भयो’, ती विश्लेषक भन्छन्, ‘तर लागेको आरोपले मात्रै पनि राजनीतिक यात्रामा ठुलो नकारात्मक असर पार्छ ।’ राजनीति र राजनीतिक दलका नेताप्रति आम नागरिकले हेर्ने दृष्टिकोण नकारात्मक भएका कारण पनि यस्ता खालका आरोपले मात्रै पनि थप नकारात्मकता पैदा हुने उनको भनाइ छ ।
विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन काठमाडौं स्थित विमानस्थलमा समातिएपछि महराले उक्त सुन छुटाउन विमानस्थलका कर्मचारीलाई निरन्तर फोनमार्फत् दबाब दिएको आरोप छ । उनका छोरा राहुल यही प्रकरणमा समातिइसकेका छन् तर महराले विमानस्थलमा समातिएको सामग्री सुन भए नभएको बारे आफूलाई कुनै जानकारी नरहेको गोरक्षसँगको कुराकानीमा बताएका थिए । चाइनाका फलफूल व्यापारीसँग आफ्नो चिनजान रहेको र उनको सामान विमानस्थलमा अड्किएको भनेपछि आफूले फलफूल नै होला भन्दै नियमानुसार छोड्न मिल्ने भए छोडिदिन विमानस्थलका कर्मचारीलाई आग्रह गरेको बताएका थिए ।