सुप्रिया मां
मानिसको मन छ, मन भएको कारणले पनि मानिस भनिएको हो । तर यो मनलाई देख्न भने सकिदैंन । मन अति नै सुक्ष्म, चैतन्य र गतिशील छ । प्रकाशको गति भन्दा पनि चाँडो मनको गति छ । मानिसको मन र बुद्धि दुईवटा छुट्टा छुट्टै तत्व हो । हाम्रो भौतिक शरीर लगायत बाहिरका देखिने सबै वस्तु र पदार्थ बाहिरको दृश्य जगत हो भने मन हाम्रो आन्तरिक अदृश्य र अति शक्तिशाली जगत हो ।
मानिसलाई यो संसारमा सफल र असफल बनाउने, सुख र दुःखको महसुस गराउने, बन्धन र मुक्तको महसुस गराउने जस्ता सबै काम यही मनले नै गर्दछ । अदृश्य जगत मनले बाहिरको दृश्य जगत संसारमा ठूलो प्रभाव पार्छ तर बाहिरको जगत संसारले अदृश्य जगत मनमा त्यती धेरै प्रभाव पार्दैन । त्यसकारणले एउटै घटनाको प्रभाव कसैलाई धेरै परेको हुन्छ, कसैलाई कत्ति पनि पर्दैन । हाम्रो मन जस्तो छ बाहिरको संसार पनि हाम्रा लागी त्यस्तै हुन्छ । त्यसकारणले प्रत्येक मानिसको आफ्नो आफ्नो संसार हुन्छ । बाहिरको देखिने जगत हाम्रो आफ्नै मनको प्रक्षेपण हो । हाम्रा सबै प्रकारका महसुस (Feeling) जस्तै खुशी, उत्साह, उमंग, शान्ती, आनन्द, दुःख, निराशा, विस्मात आदि मनले नै गर्दछ ।
मन चंचल र अस्थिर हुन्छ, अर्थात यताउती दौडी रहन्छ र यो शुभ हो । मन चलेको भनेकै मानिस जीवन्त र चेतन रहेको जड नभएको प्रमाण हो । मृत मानिसको मन चल्दैन । जीवन्त वस्तु गतिशील हुन्छ । हामीले चाहेमा चंचल मनलाई विभिन्न उपाय गरेर जड बनाउन पनि सकिन्छ । गहिरो निन्द्रामा, गहिरो मूर्छामा, बेहोश भएको बेलामा, अति नशा सेवन गरेको बेलामा मन चल्दैन । मन नचलाउनु मात्र ठूलो कुरा होइन, मनलाई शान्त, सबल र सन्तुष्ट बनाउनु ठूलो कुरा हो । अनियन्त्रित भएर चलेको र विक्षिप्त भएको मन चै अशुभ हो । विक्षिप्त भएको मन भनेको रोगी र कम्जोर मन हो, यसलाई मानसिक रोग पनि भनिन्छ । यो रोग कुनै मानिसहरुमा पाँच प्रतिशत हुन्छ भने कुनै मानिसहरु मा नब्बे प्रतिशतसम्म पनि हुन्छ । मनले गरेको महसुस अनुसार मन दुई प्रकारको हुन्छ भन्न सकिन्छ । एउटा हो स्वस्थ्य, सबल र शक्तिशाली मन र अर्को हो विक्षिप्त, रोगी, कम्जोर र शक्तिहिन मन । हामीलाई चाहिएको हो चैतन्य, गतिशील, स्वस्थ्य, सबल, शक्तिशाली, शान्त, सन्तुष्ट र आनन्दित मन । हामीले चाहेमा यो पनि सम्भव छ तर त्यस्का लागि हामीले मनको आवस्यक्ता र मनको स्थितिलाई राम्रोसंग बुभm्नु पर्दछ ।
हाम्रो मन चंचल हुनुको पछाडि ठूलो कारण छ र प्रकृतिको ठूलो कृपा छ ।
प्रकृतिले मानिसलाई मन जस्तो महत्वपूर्ण तत्व वरदान स्वरुप दिएर एउटा विशिष्ट प्राणीका रुपमा जन्मदिएको छ । अरु प्राणीहरुमा मन र महसुस गर्ने क्षमता हुदैन । मनले खोजेको कुनै विशिष्ट र महत्वपूर्ण कुरा छ । त्यसकारणले मन चंचल र अस्थिर भएको हो । मनको मध्यमबाट मानिसले चाहेको कुरा प्राप्त गर्नका लागि मन सहित मानिसको जन्म भएको हो ।
मन चंचल, अस्थिर र मनले खोजेको कुरा गर्दा मलाई कतै पढेको एउटा कथा याद आयो । एक जना राजा र एउटा मन्त्री भएर जंगलमा सिकार खेल्न गएका थिए । जंगलमा ठूलो पानी पर्यो । दुवै जना एउटा वृद्ध महिलाको घरमा ओत लाग्न गए । महिलाले भित्रबाट दुईवटा आसन ल्याएर बस्नका लागि राखि दिइन । मन्त्री एउटा आसन समातेर बसे तर राजा भने बसेनन् । राजा बेचैन हुदै यताउती गरेर केही कुरा खोजे जस्तो देखिन्थे । ति वृद्ध महिलालाई यस्तो लाग्यो, आसन सानो र नराम्रो भएकोले ति मानिस बसेनन । उन्ले भित्रवाट अर्को राम्रो र ठूलो आसन ल्याएर राखिदिइन, तर राजा त्यसमा पनि बसेनन्, बेचैन भएर घुमीरहे । महिलालाई अचम्म लाग्यो र मन्त्रीलाई सोधिन् “वहाँ मैले दिएको आसनमा किन नबस्नु भएको हो ?” भनेर । मन्त्रीले जवाफ दिए “वहाँ राजा हुनुहुन्छ, सिंहासन बाहेक अरु कुनै पनि आसनमा बस्नु हुन्न ।”
त्यस्तै, हाम्रो मनले पनि मनको आफ्नो सिंहासन खोजेको हो, त्यसकारणले चंचल र अस्थिर भएको हो । मनले यस्तो कुरा खोजेको हो जुन कुरा पाएपछि अब पाउन कुनै पनि कुरा बाँकी नरहोस् । संसारका सानातिना कुरामा हाम्रो मन अडिदैंन, सानातिना कुराहरु हाम्रो मनले खोजेको होइन । संसारका साना कुरा पाउने बित्तिकै मन सन्तुष्ट र शान्त भैदिएको भए मानिसले यति ठूलो भौतिक प्रगति गर्दैनथ्यो, हाम्रो प्रगती नै रोकिन्थ्यो । मानिस यसरी अनुसन्धानमा सक्रिय हुदैनथ्यो र विज्ञानको यति ठूलो उपलब्धी पनि हुदैनथ्यो । मनको चंचलता र असन्तुष्टीले नै मानिसको जीवनमा ठूलो क्रान्ती ल्याइदिन्छ । ठूला ठूला क्रान्तीहरु यसरी नै भएका हुन । धन सम्पत्ति, भौतिक सुख, पद् प्रतिष्ठा, मानसम्मान पाएर मन सन्तुष्ट भैदिएको भए मानिसले इश्वर, परमात्मा वा परम् आनन्दको खोज पनि गदैनथ्यो र अन्य प्राणी अनि मानिसमा कुनै प्रकारको फरक हुदैनथ्यो । अध्यात्मको खोज नै रोकिन्थ्यो । सिद्धार्थ गौतमको मन दरवारमा सन्तुष्ट भैदिएको भए सिद्धार्थ गौतम आज गौतम वुद्ध हुदैनथे ।
मनले विशिष्ट कुरा, विशिष्ट स्थिति वा विशिष्ट ठाँउ खोजेको हो, जुन हामी भित्रकै अदृश्य जगतमा छ । मनले पदहरुको पनि पद परमपद खोजेको हो । मनले आनन्दको परम् स्थिति परमानन्द खोजेको हो । मनले ऐश्वर्य मात्र खोजेको होईन ऐश्वर्यका मालिक ईश्वरलाई नै खोजेको हो । मनले आफ्नो मूल खोजेको हो । हामी सबै प्राणी ईश्वरमा अंश हौं, अंशले अंशिलाई नै खोज्दछ । मनले खोजेको वास्तविक कुरा पायो भने मन त्याहाँ अडिन्छ, शान्त र आनन्दित् बन्दछ । मानिस जे बन्न यो संसारमा आएको अब मनले मानिसलाई त्यही बनाइदिन्छ ।
मानिसको मन भित्र अनन्त सम्भावनाहरु छन् । हाम्रा ऋषिमुनिहरु र मनोविदहरुले मनका सात गहिरो सतहको उल्लेख गरेका छन् । पहिलो हो चेतन मन (Conscious Mind ), दोश्रो हो अवचेतन मन (Sub Conscious Mind), तेश्रो हो अचेतन मन (Unconscious Mind ), चौथो हो भव्य चेतन मन (Super Conscious Mind ), पाँचौं हो सामुहिक चेतन मन (Collective Conscious Mind ), छैटौं हो स्वभाविक मन (Spontaneous Mind) र सातौं हो परम मन वा सर्वश्रेष्ठ मन(Ultimate Mind) । मनका सात सतहले अदृश्य जगत्को अनन्त रहस्यलाई खोल्दछ । पहिलो दुई सतहमा रहुन्जेल मन अशान्त र चंचल बनि रहन्छ । तेश्रो मनको जड स्थिति हो । चौथो सतह अर्थात भव्य चेतन मन (Super Conscious Mind) ले मानिसलाई अफुले चाहेको सबै प्रकारमा सफलता तिर लैजान्छ । संसारका सबै सफल र सृजनात्मक कार्य गर्ने मानिसहरु मनको यो चौथो स्थिति मा रहेका हुन्छन् । पाँचौं हो सामुहिक चेतनमन । भित्र अदृश्य जगत्को केन्द्रमा हामी एक अर्कासंग जोडीएका छौं, बाहिरको सतहमा मात्र भिन्न भिन्न देखिएको हो । छैटौं हो स्वभाविक मन, मनको यो स्थितिमा प्रकृतिको स्वभाविक नियमले हाम्रो मनलाई संचालन गर्दछ । सातौं सतह सर्वश्रेष्ठ मन वा अल्टीमेट माइन्डमा पुगेपछि असीम र अनन्त आनन्दको अनुभूति हुन्छ ।
यो परम आनन्द र अकारण आनन्दको स्थिति हो । यो मनको अन्तिम सतहले मानिस भित्र रहेको ईश्वरतत्वसंग जोड्दछ । अल्टीमेट माइन्ड वा सर्वश्रेष्ठ मन भनेको नो माइन्डको अवस्था हो, जहाँ साक्षी, द्रष्टा वा परमात्माको अनुभुती हुन्छ । हामी भित्र रहेको महासुख, शान्ती र शाश्वत् आनन्दको अनुभव वा महसुस गराउने सशक्त माध्यम् हो हाम्रो मन ।
मनको यो गहिरो सतहमा जानका लागि हामी अफुतिर फर्किनु पर्छ । त्यसका लागि ध्यान र ज्ञान दुईवटा सशक्त माध्यम छन् । ध्यानले हामीलाई मनको त्यो गहिराइमा लैजान्छ र मनको सर्वश्रेष्ठ स्थितिमा पुर्याउँछ । मनका सबै चंचलता र अस्थिरता हराउँछ । त्यसैले त अध्यात्म जगतमा ध्यानको यति ठूलो महत्व छ ।
समझ, ज्ञान वा जीवनको अनुभववाट सिकेर सबै प्रकारका विभेदलाई हटाउनु पर्छ । जस्तै तेरो मेरो, राम्रो नराम्रो, ठूलो सानो, प्रतिस्पर्धा, क्रोध, लोभ, ईर्षा आदि कुराहरुले मनलाई विचलन गराउँछ । जुन कुराले मनलाई विचलन बनाउँछ त्यसलाई व्यवस्थित गर्ने हो ।
ध्यान र ज्ञान बाहेक अरु यस्ता कर्मले पनि हाम्रो मनको चंचलता कम गर्छ र हामीलाई खुशी, शान्त र आनन्दको महसुस गराउन सहयोग गर्छ । दैनिक गर्ने कार्य बाहेक आफुलाई मन पर्ने कुनै यस्तो कर्म पनि गर्नुपर्छ जुन कर्मको परिणाम तुरुन्तै आओस् । अर्थात कर्मसंगै परिणाम पनि वर्तमान मै आओस् । जस्तै गीत गाउने, संगीत बजाउने, संगीत सुन्ने, नृत्य गर्ने, कविता लेख्ने, चित्र बनाउने, खेलहरु खेल्ने, योगासनहरु गर्ने, मन पर्ने कुनै पुस्तक पढ्ने, कुनै पनि सृजनात्मक कार्य गर्ने, आफुलाई मन पर्ने व्यक्तिको सानिध्यमा रहने आदि । यस्ता कर्मले मनलाई वर्तमानमा ल्याउँछ र कर्म गर्दा नै मनलाई खुसी र आनन्दित बनाउँछ र मनको चंचलता कम हुन्छ ।
हामी प्रकृतिको पञ्चतत्वले बनेका छौ र प्रकृतिको सानिध्यमा हामीलाई खुसी लाग्छ । धेरै भन्दा धेरै समय प्रकृतिको सानिध्यमा रहने हो । जस्तै हरियो जंगल र फूलहरु फूलेको वगैचामा टहल्ने, नदी र समुद्रको किनारमा बस्ने, पहाडहरुमा जाने, सितल हावा चलेको ठाँउमा र खुला आकाशमा बस्ने, झरनामा नुहाउने, घाम ताप्ने र माटोमा केही काम गर्ने आदि । यस्ता कर्महरुले मनको चंचलता कम गर्न धेरै मद्दत गर्छ ।
विज्ञानले गरेको प्रगति र बाहिरको भौतिक सुख सुविधाको उपभोग गर्दै साथसाथै मनस्थितिलाई पनि परिवर्तन गरेर खुसी शान्त र आनन्दको जीवन बाचौं । यहि मंगल कामनाका साथ आजलाई यति नै, हरी ॐ !
—सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।