अलपत्रलाई लमहीमा पतन्जलीको खाना

शिवराज खनाल
लमही बैशाख १० । लकडाउनका कारण गन्तब्यसम्म पुग्न नसकेर बाटोमै अलपत्र परेका यात्रुहरुलाई पतन्जलि योग समिति लमहीले निःशुल्क खाना खुवाएको छ ।

पूर्बबाट पश्चिम् तथा पश्चिम्बाट पूर्बतर्फ जाने पैदल भोकाएका यात्रु हरुलाई ‘मानवता सेवा नै माधब सेवा हो’ भन्दै विगत केही दिनदेखि खाना खुवाउँदै आएको पतन्जली योग समिती दाङकि जिल्ला उपाध्यक्ष साहाना श्रेष्ठले बताइन् ।

बैशाख ७ गतेदेखि हालसम्म ५०० भन्दा बढी यात्रुहरुलार्इ भोजनको व्यवस्था गरिएको व्यवस्थापनको जिम्मा पाएका पतन्जली योग समिति लमहिका नगर अध्यक्ष भेषराज भट्टराई बताए ।

निःशुल्क रुपमा खानाको व्यवस्थाले यात्रुहरु खुसी देखिएका छन् । काठमाडौबाट कैलालीका लागि हिडेका सुसान्त चौधरिले आफू निर्माण श्रमिक भएको र अलपत्र भएपछि उद्धार भएर लमहिसम्म आइपुगेको बताए । २ दिनदेखि खाना खान नपाएका उनी त्यहाँ खानाको व्यबस्था गरिएकोमा औधी खुशी देखिन्थे । खाना खाएर उनले समितिलाई धन्यवाद समेत दिए । उनले आफूहरु एउटै गाउँका ८ जना संगै त्यहाँ आएको र पतन्जलीको सेवा स्वरुपको खाना ग्रहण गरेको बताए ।

साथै पैदल यात्रुहरुलार्इ लमहीको बसपार्कमा प्रत्यक दिन दाल, भात, तरकारी र अचारको ब्यबस्था गरिएको र बैशाख १२ गते भने खिरको ब्यबस्था गरिने लमही नगर उपाध्यक्ष सिमा डाँगि र दुर्गा ओलिले जानकारी दिइन् ।