शिवराज खनाल
दाङ,२८ फागुन । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले ओभरलोड बोकेर नेपालमा निर्वाद रुपमा सञ्चालन हुने भारतीय ट्रकका कारण नेपाली ट्रक व्यवसायी धरापमा पर्दै गएको बताएका छन् ।
राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी समितिको २१ औं बार्षिक साधारणसभा तथा १४ औँ अधिबेशनलाई सोमवार घोराहीमा सम्वोधन गर्दै अध्यक्ष श्रेष्ठले नियम कानुन विपरित ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई रोकेर नेपाली व्यवसायीलाई व्यवसाय गर्ने बातावरण निर्माण गर्नुपर्ने माग गरेका छन् । नेपाली व्यवसायीका गाडीहरु भारतमा चल्न नपाउने तर हाम्रो देशमा निर्वाध रुपमा सञ्चालन हुँदा नेपाली व्यवसायीहरु मारमा परेको अध्यक्ष श्रेष्ठले बताए ।
यातायात व्यवसायीका माग सरकारले सम्बोधन नगरिरहेको अबस्थामा अब आफ्नो अधिकारका सुनिश्चित गर्न व्यवसायीहरुकाविचमा व्यवसायिक एकता आवश्यक रहेको बताए । व्यवसायिक एकताविना अधिकार प्राप्तीमा कठिनाई हुने कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले सवै व्यवसायीहरु एक भएर सरकारलाई दवाफ दिए सरकारले माग सम्वोधन गर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलले भारतीय ट्रकका कारण नेपाली यातायात व्यवसायी आफ्नो पेशाबाट पलायन भएकोमा चिन्ता ब्यक्त गरे । त्यसैगरी कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले यातायात व्यवसायीले यातायात व्यवसायीका समस्या सरकारले सम्बोधन गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन । उनीहरुले नेपालका तिनै तहका सरकारले यस क्षेत्रको लागी कानुन बनाउन आवश्यक रहेको बताए ।
हजारौ मानिसलाई रोजगार दिएर राज्यलाई अग्रिम कर बुझाउंदै आएका ट्रक व्यवसायी संकटमा पर्दा पनि सरकार गम्भीर बन्न नसकेको यातायात व्यावसायीहरुले गुनासो गर्दै सरकारले निर्धारण गरेको भाडा पनि नपाइएकोमा ट्रक व्यवसायीको दुखेसो थियो ।
समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा नेपाल रास्ट्रिय यातायात व्यवसायी महासंघका सल्लाहकार सुरेश हमाल , नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष बिष्णु न्यौपाने, महासचिव राजेन्द्रविक्रम बानिया, लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डे , केन्द्रिय सदस्य बद्री चौलागाईं , जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्ल, समितिका पूर्व अध्यक्षका तर्फबाट भुपाल रावत, अम्बिकेश्वरी यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेत , तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, नेपाल रास्ट्रिय स्वतन्त्र मजदुर संगठन जिल्ला अध्यक्ष दिपक बुढाथोकी , अखिल नेपाल मजदुर संघका केन्द्रीय उपमहासचिव घनस्याम डाँगीलगायतले बोलेका थिए ।
बार्षिक साधारणसभा तथा अधिवेशनका अवसरमा व्यवसायीकातर्फबाट टीकाबहादुर डाँगी, चालकका तर्फबाट दुर्गाबहादुर डाँगी, कर्माचारीको तर्फबाट इन्दिरा वली र सामाजिक उत्तरदायित्वतर्फ आसाराम चौधरीलाई नगद प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।समितिका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासनिक सचिव उमेशचन्द्र मजगैयाले गरेका थिए ।