गोरक्ष समाचारदाता
दाङ, २८ फागुन । नयाँ गठबन्धनमा जोडिने वा कांग्रेससँगको साइनो कायमै राख्ने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र खटपट छ । पार्टीको नेतृत्वकर्ता रेशम दम्पत्ति बिचमै देखिएको बेमेलका कारण पार्टीको आगामी बाटो के हुने भन्ने अन्योलता छ । रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता चौधरीको ‘लोग्ने–स्वास्नी’ झगडाले पार्टीलाई मात्रै होइन, पार्टीका अन्य नेता तथा कार्यकर्ता समेत अन्योलमा छन् ।
रेशम वर्तमान गठबन्धनमा पार्टी समाहित हुनु हुँदैन भन्ने पक्षमा छन् भने श्रीमती रञ्जिता भने वर्तमान गठबन्धनको फेरोको सहारामा पार्टीलाई हिँडाउनु पर्ने पक्षमा छिन् । सुदूरपश्चिम प्रदेशमा तीन जना मन्त्री भित्राएका रेशमले लुम्बिनी सरकारमा पनि आफ्नो सहभागिता बढाउने पक्षमा छन् । उनले लुम्बिनी प्रदेश सरकारमा पनि आफ्नो दलबाट दुई मन्त्री नियुक्त गर्ने कसरत थालेका छन् ।
बुटवलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगको छलफलमा रेशमले उन्मुक्ति पार्टीबाट दुई मन्त्री नियुक्तिका लागि लबिङ गरेका छन् तर उनकी पत्नी पार्टी अध्यक्ष रञ्जितालाई भने यो प्रयास पाच्य बनेको छैन । ‘रेशम दाई लुम्बिनी प्रदेशमा पनि उन्मुक्तिबाट थप दुई मन्त्री नियुक्त गर्ने रणनीतिमा लाग्नु भएको छ’, उन्मुक्तिका एक प्रदेश सभा सदस्यले भने, ‘तर भाउजु (रञ्जिता) ले भने अहिले प्रदेश सरकारमा जुन खालको सहभागिता छ, त्यत्तिमै सीमित रहेर काम गर्न भन्नु भएको छ ।’ लुम्बिनी प्रदेश सरकारमा नागरिक उन्मुक्तिको तर्फबाट एक जना मन्त्री छन् । यो पार्टीबाट धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।
यसरी हेर्दा श्रीमान श्रीमतीबिचको यो झगडाले प्रदेश तहका नेता तथा सांसदलाई प्रदेश तहमा कस्तो समीकरण बनाउने भन्ने सकस बनाइदिएको छ । फलतः प्रदेशको निर्णयको अधिकार प्रदेश तहकै नेतालाई दिइनु पर्ने अपेक्षामा उनीहरू छन् । पार्टी केन्द्रले केन्द्रीय राजनीतिमा आफ्नो बोल्ड निर्णय गरे आफूहरू पनि सोही अनुसारको कदम चल्नु पर्ने भए पनि प्रदेश तहका नेता तथा सांसद भने भित्री मनदेखि यो चाहँदैैनन् । केन्द्रमा बन्ने समीकरणको निर्णयले प्रदेश सरकारमा आफूहरूको प्रभुत्व जमाउने अधिकार गुम्ने भएकाले केन्द्रमा पार्टीले समीकरणको कुनै ठोस निर्णय नगरोस् भन्ने प्रदेश तहका नेता तथा सांसद चाहन्छन् ।
प्रदेशलाई निर्णयको अधिकार दिइए एक मुख्यमन्त्री आफ्नो पोल्टामा पार्ने कसरतमा उनीहरू लाग्ने तयारीमा छन् । ‘केन्द्रले कतातिर कसरी समीकरण गर्ने हो, त्यो अहिलेसम्म निर्णय हुन सकेको छैन’, ती सांसदले भने, ‘केन्द्रमा ठोस निर्णय भयो भने हामी पनि सोही निर्णय अनुसार चल्नु पर्ने हुन्छ तर केन्द्रमा ठोस निर्णय हुन नसकेको अवस्थामा प्रदेश तहको समीकरण प्रदेश तहले नै गर्ने भन्ने छ, यसो भयो भने एउटा मुख्यमन्त्री हाम्रो बटमलाइन बन्ने छ ।’ यो पार्टीको प्रभाव रहेका दुई प्रदेश हुन्, लुम्बिनी र सुदूरपश्चिम । यी दुई प्रदेशमध्य एउटा प्रदेशको मुख्यमन्त्रीमा दाबी प्रदेश तहका नेताले गरिरहेका छन् ।
आफूहरूको यो एजेण्डामा जसले समर्थन जनाउँछ, उन्मुक्तिले प्रदेश तहमा सोही अनुसारको निर्णय गर्ने ती सांसदले बताए । ‘चाहे अहिलेको नयाँ गठबन्धन होस् या नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दल होउन्, हामीले उनीहरूसँग बार्गेनिङ गर्ने भनेको एउटा मुख्यमन्त्री हो’, ती सांसदले भने, ‘हाम्रो यो एजेण्डामा जसले समर्थन जनाउँछ त्यतै हाम्रो समीकरण बन्छ ।’ ती सांसदका अनुसार अहिले प्रदेश तहका नेताले वर्तमान सत्ता गठबन्धनका नेतासँग एक मुख्यमन्त्रीको बार्गेनिङ गरिरहेका छन् । यो बार्गेनिङले एक मुख्यमन्त्रीको सम्भावना बढाएको ती सांसदले बताएका छन् । उनका अनुसार वर्तमान सत्ता गठबन्धनले लुम्बिनीमा आफ्नो दललाई मुख्यमन्त्री दिने सवालमा सकारात्मक भाव प्रकट गरेको छ । ‘वर्तमान सत्ता गठबन्धनसँग कुराकानी भइरहेको छ, गठबन्धनको सकारात्मक भाव पाइरहेका छौँ’, उनले भने, ‘हाम्रो एजेण्डामा कुरा मिल्यो भने लुम्बिनीमा हाम्रो मुख्यमन्त्री रहने सम्भावना रहन्छ ।’
यता आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा रहेका लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी उन्मुक्तिलाई आफूबाट पन्छिन नदिने गरी रणनीति बनाइरहेका छन् । फलतः उनले रेशम चौधरीलाई भेटेर आफूलाई सघाउन अपिल गरे । मुख्यमन्त्री चौधरीको प्रस्ताव उपर रेशम पनि सकारात्मक छन् । यसका लागि माओवादीका दुई मन्त्री बर्खास्त भएपछि रिक्त रहेका दुई मन्त्रालयमा उन्मुक्तिबाट मन्त्री नियुक्त गर्न रेशमले आग्रह गरेका छन् । मुख्यमन्त्री चौधरी रेशमको यो प्रस्तावमा सकारात्मक देखिएको स्रोत बताउँछ । ‘मुख्यमन्त्रीज्यू र रेशम चौधरीबिच छलफल भएको छ, छलफल सकारात्मक बन्यो’, मुख्यमन्त्रीको निजी सचिवालयले भन्यो, ‘उन्मुक्तिलाई हामीलाई सघाएर जाने भन्ने सहमति बनेको छ ।’ यो प्रदेशमा नागरिक उन्मुक्तिका चार सांसद छन् । चार सांसदको समर्थन कायम राख्न सकिए बहुमतको सम्भावनालाई कायमै राख्न सकिने सोचमा मुख्यमन्त्री चौधरी छन् ।