सावधान ! सरकार निर्माण हुँदैछ …

खेमराज रिजाल
दाङ, २५ फागुन । अघिल्लो आर्थिक वर्षको क्रमाङ्गत आयोजना, घोराही उपमहानगरपालिका–१७ चौघेरा मन्दिरको प्रवेशद्वारको सामुन्ने हरिद्वार गाउँ पस्दा पश्चिमतर्फ सडक निर्माण हुँदै थियो । लेखिएको थियो, ‘सावधान ! अगाडि सडक निर्माण हँुदैछ ।’ सडक निर्माण भएको देख्दा रमाउनु पर्नेमा हामी सावधान बन्नु पर्ने बेला आयो । किनकि जब बन्न थाल्छन् सडक, त्यसलगत्तै त्यहाँ सुरु हुन्छ दुर्दशा । ठेकेदार काममा नआएर पेटी ठेकेदारलाइ पठाउने, बिच–बिचमा त्यही पनि फेरबदल गरिरहने । यही शैलीले सडकको बेहाल भएको छ ।

घोराही–तुलसीपुर चारलेन सडक यस्तै बेहाल भयो । मुख्य ठेकेदारको कहिल्यै उपस्थिति देखिएन । पेटीठेकेदार फेर्दाफेर्दै अन्ततः सडक क्षतविक्षत बनाएर छाडिएपछि ठेक्का नै रद्द भयो । यसबिचमा दर्जनौँ नागरिकले दुर्घटनामा परी ज्यान गुमाए तर ठेकेदारलाइ कुनै प्रवाह छैन । उसले त भएगरेको कामको भुक्तानी अघि नै लगिसकेको छ । जसरी चारलेन सडकको ठेक्का पाएको भारतको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले पेटी ठेकेदार फेरिरहन्थ्यो, अहिले देश चलाउने ठेकेदारले पनि पेटी ठेकेदार फेरिरहेको छ । अर्थात् अगाडि सरकार निर्माण हुँदैछ, होसियार ! किनकि सरकार निर्माण हुँदा उत्साह छैन, त्यहाँ त नागरिकलाई त्रास मात्रै छ ।

पाँच वर्ष सरकार चलाउने म्यान्डेट पाएर बनेको सरकार ६÷६ महिनामा फेरिरहँदा नागरिक बेचैन छन्, जसरी चारलेन सडक नबन्दा यहाँका जिल्लाबासी बेचैन छन् । चारलेन बनाउने ठेकेदारले बदमासी गर्दा जनप्रतिनिधिलाई समेत जिल्ला घुम्न लाज लाग्ने अवस्था छ । नागरिक यति आक्रोशित छन् कि भए÷चलेको कोरियाले बनाइदिएको पक्की सडक भारतको तथ्य इन्जिनियरिङका पेटी ठेकेदारले क्षतविक्षत बनाएर यातायातमा एम्बुस थापे । सोही एम्वुसमा दुई वर्षको अवधिमै २८ जनाले ज्यान गुमाए ।

नागरिकले सडक बनाउने ठेकेदारलाई धिक्कारिरहेका छन् । चारलेनमा ठेकेदारको अविश्वास दाङबासीलाई भएझैँ नयाँ सरकार निर्माण हुँदै गर्दा देश निर्माण गर्ने राजनीतिक दलका मुख्य ठेकेदारप्रतिको जनविश्वास उस्तै छ । यी ठेकेदारप्रतिको बढ्दो आक्रोशले नैराश्यता मात्रै होइन नागरिकलाई डिप्रेसन र आत्महत्यामा समेत सहभागी बनायो । गाडीको बैंक किस्ता तिर्न नसकेर केही वर्ष पहिले तुलसीपुर बसपार्कमा राखिएको बसमै व्यवसायीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । कति व्यवसायी व्यवसायबाट पलायन भएर देशै छोडेर विस्थापित हुन पुगे ।

अहिलेको सरकार पनि यस्तै ठेकेदारले बनाएको सरकार भएको नागरिक टिप्पणी छ । सत्तालिप्सा राजनीतिकर्मीका कारण सातदशकको आन्दोलनले आर्जेको सङ्घात्मक लोकतन्त्र पनि फाप्ने देखिएको छैन । ‘व्यवस्था राम्रो भएर के गर्नु व्यवस्थापक नै कुजात बनिदिएपछि’, घोराही उपमहानगरपालिका–१७ हरिद्वारमा भेटिएका स्थानीय नागरिक मोहन केसीले भने । उनी वर्तमान सत्ता गठबन्धन दलकै कार्यकर्ता र शुभचिन्तक हुन् तर पार्टी सरकारमा समाहित भएको उनलाई कत्ति पनि मन बुझेको छैन । भन्दै थिए, राजनीतिका चतुर खेलाडीले फेरि केपी बालाई फसाइ छाडे ।

कति शालीन र कति आक्रामक छन्, हिजोका, आज र भोलिका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । कहिले कांग्रेसका मित्रसँगको व्यक्तिगत सामिप्यता अहिले कत्ति पनि बिग्रिएको छैन भन्छन् त कहिले यो प्रचण्डा रहँदासम्म देशमा यस्ता उथलपुथल भई नै रहन्छन् । अर्थात उनमा जनयुद्धको ह्याङओभर अझै हटेको छैन । त्यसैले त धम्कीपूर्ण अभिव्यक्ति उनको पर्याय हो । चारलेन निर्माणमा ठेकेदारले नागरिकलाई धम्क्याउँथे । यहाँसम्मकी पेटी ठेकेदारले तात्कालीन कोरोनाको कहरमा काम गरेका मजदुरलाई पारिश्रमिक माग्दा सेनापुरको यार्डमा बोलाएर गुण्डा लगाएर कुट्थे, किनकि उनकै पार्टी नेतृत्वको सरकार थियो, स्थानीय सरकार थियो ।

कांग्रेसप्रति कति नरम भाव देखाए प्रचण्डले नयाँ सत्ता गठबन्धनपछि दिएको संसद्को सम्बोधनमा । प्रतिनिधिसभाको विहीवारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही आशङ्का पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको उल्लेख मात्र गरेनन् सत्ता साझेदार कांग्रेसले प्रधानमन्त्री दाहालका धेरै कदमलाई तुसारापात गराए । प्रधानमन्त्री दाहालले व्यक्तिका रूपमा कांग्रेससँगको अघिल्लो गठबन्धनमा आफूलाई समस्या नरहेको उल्लेख पनि गरे । यद्यपि ‘अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’का रूपमा म कुनै समस्या या अप्ठ्यारोमा थिइनँ, न प्रधानमन्त्री पद नै असुरक्षित थियो’, उनले भने, ‘कांग्रेसको नेतृत्व र मबिच व्यक्तिगत अविश्वास पनि केही थिएन । टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन ।’

कति नरम भाषा र कति कठोर व्यवहार कांग्रेस बुझ्दाबुझ्दै रणभुल्लमा छ । ११ महिना कांग्रेससँग सहकार्य भएकोमा उनले सभापति शेरबहादुर देउवालाई धन्यवाद पनि दिए । ‘अहिले पनि हाम्रो निजी सम्बन्धमा कम्तिमा मेरो तर्फबाट उत्ति नै सद्भाव छ तर राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणाम निर्णायक हुँदा रहेछन्, अघिल्लो गठबन्धनमा पनि त्यही भयो’, प्रधानमन्त्री दाहालले भने । तर यथार्थ सबै नागरिकले बुझेकै कुरा हो, अब माओवादी पार्टी कसैको बुइँ नचढी कहीँ डग्नै सक्दैन, एक्लै सुरक्षित महसुस नै गर्दैन ।

त्यसैले त प्रधानमन्त्री प्रचण्ड एकपछि अर्को सत्ता साझेदारीको अभ्यासमा छन् । जस्तो चारलेनको तथ्य इन्जिनियरिङले भाखा सकिँदा पनि पटक–पटक पेटी ठेकेदार फेरेर आफू मुख्य ठेकेदार नै भइरहन खोज्थ्यो । अन्ततः चारलेनको ठेक्का रद्द भयो । ‘हो त्यसरी नै यो नयाँ गठवन्धनका पनि भोलिखि नै दिनगन्ती सुरु हुने छन्’, तुलसीपुर उपमहानगरपालिका–१७ झिँगैका स्थानीयबासी गिरिराज पाण्डेले भने । त्यसैले त लेखिएको हुन्छ, होसियार ! अगाडि सडक मर्मत हुँदै छ । त्यसरी नै नागरिक होसियार बन्नु पर्ने बेला आएको छ, नयाँ सरकार निर्माणमा पनि ।