हाम्रो योग्यतामाथि कस्ले प्रश्न उठाउने ?

लक्ष्मण शर्मा

तिमी किन लेख्छौ ? लेखेबापत तिमीलाई के मिल्छ ? तिम्रो लेखनले यो समाज र राष्ट्रलाई के योगदान पुर्‍यायो ? कतिलाई प्रेरणा दियो ? जब मेरो मित्र सुबिनले यो प्रश्न गर्यो तब म यसबारे सोच्न बाध्य भए । कोही किन लेख्छन् भन्ने प्रश्नको उत्तर दिन त्यति सजिलो नहोला। यसमा व्यक्तिगत स्वभाव र इच्छाले पनि व्यक्तिको लेखन यात्रामा फरक पर्न सक्छ तर म किन लेख्छु भन्ने प्रश्नले चाहिँ मलाई सतायो।

त्यो अघि मैले त्यसरी कहिल्यै सोचेको थिएन म किन लेख्छु भनेर । आत्मसन्तुष्टिको लागि वा समाजमा सकारात्मकता फैलाउनको लागि वा लेखनद्वारा समाजमा भइरहेका विकृतिमाथि खबरदारी गर्नको लागि वा आर्थिक लाभको लागि वा पहिचानको लागि। जब सोच्न थाले यी र यस्ता विचारद्वारा बाँधिए। हरेक मानिस जस्तै म भित्र पनि आत्मा छ। त्यो आत्माभित्र दर्द छ । पीडा छ । त्यो पीडालाई आफैसँग राखे नमेटिने दाग बन्न सक्छ। तर त्यो पीडालाई बाँड्न सके सुगन्ध फैलाउन सकिन्छ । म यसकारण लेख्छु म आफ्नो पीडालाई दाग बनाउन चाहन्न। म समाजमा भएका विकृति, विसंगति, सफलता र सकारात्मकताका कथाहरू कोरी समाजमा सुगन्ध फैलाउन चाहन्छु।

नयाँ सञ्चार नीतिमार्फत अभिव्यक्ति स्वतन्त्रताको व्यावहारिक कार्यान्वयन गर्न जरुरी छ। अभिव्यक्तिका कारण कुनै पनि हालतमा संचार माध्यममाथि प्रतिबन्ध लाग्नु हुँदैन। समाचार वा विचार सम्प्रेषणको जवाफ समाचार वा विचार सम्प्रेषणले मात्र हुन सक्छ भन्ने संस्कृति र कानुनको विकास गर्नुपर्दछ। निजी संचार गृहमा पत्रकारिताको मूल्य र मान्यता अनुसार काम गर्नमा कुनै बाधा विरोध रहे त्यसलाई निषेध गर्नुपर्दछ।

सूचनाको हकको सुनिश्चितता गर्ने, सूचनाको हकको बारेमा जनमानसलाई सचेत बनाउने र सूचनाको हकको माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता मात्र होइन सुशासनको पक्षमा समेत योगदान हुने स्थिति सिर्जना गर्न जरुरी छ। निजी क्षेत्रलाई पनि दक्ष र चुस्त बनाउनुपर्दछ ।लागत र लाभको विश्लेषण गरी अनावश्यक जनशक्ति र भौतिक स्रोतको लगानी,तिनको दक्ष प्रयोगको अभाव र सेवा क्षेत्रमा रहेको ढिलासुस्ती जस्ता कुरामा निजी संचार गृहले विचार गर्नुपर्दछ।
मिडिया दुरुपयोग रोकी यसको गरिमा कायम राख्न र गुणस्तर वृद्धिमा पनि आचारसंहिताको महत्वपूर्ण भूमिका रहन्छ। नेपालमा आचारसंहिता पालनाको स्थिति सन्तोषजनक छैन। मिडियामा आचार समिताको कुरा गर्ने तर पत्रकारको न्यूनतम योग्यता कति ? त्यतातिर प्रश्न किन नगर्ने ? साक्षर हुने बित्तिकै पत्रकार बन्न योग्य हुने ? जुन विषय पढे पनि पत्रकार बनिहाल्ने ? पत्रकारको लागि योग्यता के हो ? कति हो ? पत्रकार बन्ने सीमाहरू के के हुन् ? त्यसको निर्धारण नभएसम्म कसरी बन्न सक्छ मिडिया नैतिकवान ? आफैले आफ्नो योग्यता र क्षमतामा प्रश्न नउठाएसम्म परिवर्तन सम्भव हुँदैन।
हामी निष्पक्ष, स्वतन्त्र र योग्य भए मात्र हाम्रो पत्रकारिता निष्पक्ष, स्वतन्त्र र विश्वसनीय हुन्छ। अरुलाई प्रश्न उठाउने हामीमाथि पनि प्रश्न उठ्यो भने त्यसको उत्तर दिने नैतिक आधार हामीसँग रहँदैन। हरेक मिडियाले आफ्नै आचारसंहिता बनाई आफैले घोषणा गर्नुपर्ने व्यवस्था गरिएमा पनि स्व अनुशासनमा वृद्धि हुन्छ। निर्माण गरेको आचारसंहितालाई सम्मानजनक रूपमा लागू गर्ने र यदि भूलवश आचार समिता उल्लंघन भएमा पत्रकारको योग्यता निर्धारण गरी सुधार गर्न सकिन्छ। अब प्रिन्ट मिडिया र विद्युतीय मिडियामाथि पनि मोनिटरिङ हुन आवश्यक छ। अनलाइन मिडियालाई पनि यसको कार्य प्रकृति अनुसार आचार संहिता बनाउनु पर्दछ। यसबाट मात्र जनस्तरमा मिडियामाथि खबरदारी र विश्वसनीयता बढ्छ।

नागरिक पत्रकारिताको अवधारणा अनुसार नागरिकले व्यवसायिक पत्रकारिताको तालिम बिना आधुनिक प्रविधिको प्रयोग गरेर आफ्ना विचार, आफूले खिचेका तस्बिर वा भिडियो फुटेजहरू सञ्चार उपभोक्ताको हैसियतले व्यावसायिक पत्रकारद्वारा उपलब्ध भएका सञ्चार माध्यम मार्फत सम्प्रेषण गर्दछ ।नागरिक पत्रकारले आफ्नै ब्लक मार्फत पनि व्यवसायिक पत्रकारितामा देखिएका कमजोरहरुलाई औलाउन सक्छ। सत्य तथ्य कुराहरू बाहिर ल्याउन सक्छ। सूचना प्रविधिको विकासले विश्वलाई एउटा मोबाइल, ष्उबम र डेस्कटपमा सीमित गरिदिएको छ। यसले गर्दा पनि नागरिक पत्रकारले नयाँ जीवन पाएका छन्। नागरिक पत्रकारिता सेन्सरसिपको दायरा भन्दा बाहिर हुने भएकाले पनि यसको व्यापकतामा वृद्धि भएको हो।

नागरिक पत्रकारिता स्वतन्त्र हुने भएकोले व्यक्ति, समाज र देशप्रति यसको जिम्मेवारी बोधको प्रश्न यतिबेला उठ्न थालेको छ। समाजमा रहेका विकृति तथा विसंगति विरुद्ध शब्दहरूको माध्यमद्वारा व्यक्त गर्दा कसैको भावनामाथि चोट पुग्नु हुँदैन। लोकतन्त्रमा आलोचना हुनु सुन्दर पक्ष हो। आलोचनाबाट नै आफ्नो कमजोरी थाहा पाउन सकिन्छ । विरोधीले विरोध र निन्दा नगर्नु लोकतन्त्रको लागि घातक हुन्छ। म एक उदारवादी लोकतान्त्रिक मान्यता बोकेको लेखक हुँ। म मेरो आलोचना सुन्न र त्यसलाई सुधार गर्न चाहने मान्छे हुँ डियर पाठक।