अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा १३ देशका कलाकारद्वारा प्रस्तुती

घोराही,२१ फागुन । दाङको घोराहीमा भएको १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव–२०८० मा विभिन्न १३ देशका कलाकारद्वारा सांस्कृतिक प्रस्तुती राखेका थिए । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा नेपालसहित १३ देशका तीन सय बढी कलाकारहरुको आ–आफ्नो देशको मौलिक कला सस्कृति झल्कने सांस्कृतिक प्रस्तुति राखेका हुन ।

एकै स्थानमा धेरै देशका कलाकारहरुद्वारा प्रस्तुति हुँदा कला संस्कृतिको आदानप्रदान हुनुका साथै स्थानीय संस्कृतिको अन्तर्राष्ट्रियकरणमा सहयोग पुग्ने भएकाले महोत्सवको आयोजना गरिेएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले बताउनुभयो । उहाँले भन्नुभयो,‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवले कलास्कृतिको विकाससँगै अन्तरदेशीय सम्वन्ध समेत प्रगाढ बनाउन सहयोग गर्नेछ ।’ महोत्सवमा अन्तर्राष्ट्रिय र स्थानीय कला संस्कृतिलाई एक ठाउँमा प्रस्तुत गरेर एकअर्कामा आदानप्रदानसँगै लोक संस्कृतिको विकासमा सहयोग गर्नेछ ।

महोत्सवमा स्थानीय थारु नाच, झाँक्री नाच, पञ्चेबाजा, लाखे नाचसँगै अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका लगायत १३ देशका कलाकारहरुले आफ्नो देशको कला संस्कृति झल्कने लोक नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमपूर्व घोराहीमा सम्पूर्ण देशका कलाकारहरुसहित आफ्नो देशको कला संस्कृति झल्ने झाँकीसहित घोराहीमा सांस्कृतिक ¥याली समेत गरिएको थियो ।

एभरेष्ट नेपाल कल्चर ग्रुपको आयोजना तथा दाङ जिल्ला उद्योग बाणिज्य सघको स्थानीय आयोजनामा महोत्सवको आयोजना गरिको थियो । दाङको पर्यटन तथा व्यवसायिक क्षेत्रको विकास, आर्थिक क्षेत्रलाई चलायमानसँगै कला संस्कृतिको प्रचारप्रचार गर्ने उद्देश्यले फागुनको १८ गतेदेखि २१ गतेसम्म अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो । नेपालीसँगै विदेशी कलाकारहरुको सहभागीता भएपनि उल्लेख्य दर्शकको समेत महोसवमा सहभागिता रहेको थियो ।