देवेन्द्र बस्नेत
दाङ, ११ फागुन । चार दिनसम्म चलेको नेपाली कांग्रेसको महासमिति बैठकमा ‘गठबन्धन’ को विषय प्रमुख मुद्दाका रूपमा उठ्यो । फरक दलसँग गठबन्धन गर्न हुने वा नहुने भन्ने चारदिने बहस टुङ्ग्याएको कांग्रेस महासमितिले एउटा निक्र्यौल भने ग¥यो, ‘पार्टीलाई मजबुत बनाइनु पर्छ’ । यसका लागि कांग्रेसभित्रको आन्तरिक गठबन्धन बलियो बनाइनु पर्नेमा पार्टी शीर्षनेताले जोड दिए । लामो समयदेखि पार्टीभित्र जरा गाडेर बसेको गुटगत संस्कार तोडिएला त ? महासमिति बैठकका एजेण्डा सामु यो ठुलो चुनौती बन्ने देखिन्छ ।
यो महासमिति बैठकमा मात्रै होइन, नेपाली कांग्रेसभित्रको गुटगत राजनीतिक संस्कारको अन्त्यलाई केन्द्रीय नेताले निर्विकल्प मान्दै आएको वर्षौँ भइसक्यो । तथापि गुट र गुटगत बहसले कांग्रेसका उपल्ला तहमा मात्र नभएर तल्लो इकाइसम्मै विकराल रूप लिँदै गएको छ । त्यसो त महासमिति बैठकमा सहभागी दाङका नेताले यो बैठकबाट कार्यकर्तामा नयाँ उर्जाको सञ्चार हुने अपेक्षा गरिरहेका छन् । ‘महासमिति बैठकले पार्टीका तल्लो तहसम्मै नयाँ उर्जाको सञ्चार गर्ने छ ।’ महासमिति सदस्य अनिता देवकोटाले भनिन्, ‘महासमितिमा पेस भएका राजनीतिक र सांगठनिक प्रतिवेदनले नवीन कांग्रेसको परिकल्पना गरेको छ ।’ तर यसको कार्यान्वयनको पाटो कतिसम्म मजबुत बन्ला भन्ने विषयले परिकल्पना गरिएको नवीन कांग्रेस निर्माण हुने नहुने निर्धारण हुने छ । व्यक्तिगत रूपमै एकअर्काप्रतिको ‘रिसराग’ ले झन् पछि झन् झाँगिँदै गइरहेको बेमेलले कांग्रेसभित्र चल्दै आएको आन्तरिक एकताको बहसलाई थप चुनौती दिइरहेकै छ ।
‘गुटले पार्टी खतम भयो, गुटको अन्त्य गरेर जानु पर्छ भन्ने बोध पार्टीका सबै शीर्षनेतालाई भएकै छ’, कांग्रेस नेता विरकेशरी गौतमले भने, ‘बोध भएर मात्रै के गर्नु, उनीहरूमा गुट अन्त्य गर्ने साहस वा गुट अन्त्यको दृढइच्छा व्यवहारतः प्रस्तुत हुनै सकिरहेको छैन, यसर्थ महासमिति बैठकले प्रस्तुत गरेका एजेण्डा कसरी कार्यान्वयन गर्ने र पार्टीभित्रको अन्तरघुलन कसरी गराउन सकिन्छ भन्ने प्रमुख कुरा हो ।’ पार्टी केन्द्रमा देखिएका ‘दुई धार’मा विभक्त कांग्रेस राजनीति एउटै धारमा उभिन सकेको छैन । भलै यी दुवै धारले आफूहरूको बेमेलले कांग्रेसलाई बेफाइदा भएको छ भन्ने बोध भने गरिरहेकै छन् तर एकै बिन्दुमा उभिएर ‘नवीन कांग्रेस’ निर्माण गर्ने कर्मबाट भने कांग्रेसी धार चुकिरहेका छन् ।
प्रतिशोधको यो आन्तरिक कलहको संस्कार पार्टीको तल्लो तहसम्म पुग्दा भने झनै गलत तवरबाट फिँजिएको छ । पार्टीको आन्तरिक प्रतिस्पर्धा वा आम निर्वाचनका क्रममा देखिने प्रतिशोधको भावनाले कांग्रेसीजनलाई ध्रुवीकृत बनाउँदै लगेको मात्र छैन स्थानीयस्तरसम्म बोली बाराबारकै स्थिति निम्त्याएको छ । कांग्रेसका स्थानीय तहसम्मको संरचनालाई नियाल्ने हो भने केन्द्रमा हाबी धार उसै मजबुत छन् । संस्थापन वा संस्थापन इतर समूहको वर्चस्व कायम गर्ने होडमा लागेका स्थानीय कार्यकर्तालाई आफू जोडिएको गुट मात्रै सच्चा कांग्रेस रहेको महसुस वर्षौँदेखि भइरहेको अवस्था छ । ‘केन्द्रमा भएजस्तै संस्थापन र संस्थापन इतर समूह जिल्लामा मजबुत बनिरहेको अवस्था छ’, दाङ कांग्रेसका एक जिल्ला नेताले भने, ‘पार्टीको आन्तरिक चुनावमा होस् वा आम चुनावमा होस् दुवै पक्षले आफ्नो वर्चस्व कायम गर्ने होड चलिरहेको छ ।’ केन्द्र तहबाट सिर्जित गुट मात्रै नभएर जिल्ला तहका नेताले जन्माएका व्यक्तिगत गुटले कांग्रेसीबिच अन्तरघुलनको चुनौती स्थानीय स्तरमा अझ बढी देखिन्छ । फलतः महासमितिले निर्दिष्ट गर्ने एजेण्डा कार्यान्वयनमा कम्ति चुनौती देखिन्न ।
जिल्लादेखि वडा तहसम्म फैलिएका व्यक्तिवादी गुटलाई निस्तेज पारेर सबै माझ भावनात्मक एकता कायम गर्न कांग्रेस नेतृत्व र महासमिति बैठकले कतिसम्म सक्ला भन्ने चुनौती कांग्रेसीले देखिरहेका छन् । यसका लागि कांग्रेसीलाई विधि र विधानले बाँध्न सक्नै पर्ने नीति पार्टीले अवलम्बन गर्न जरुरी रहेको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन बताउँछन् । केन्द्रदेखि स्थानीय वडा तहसम्म संस्थागत विधि र विधान पालना गर्नै पर्ने बाध्यकारी अवस्था पार्टीले ल्याउन सके व्यक्तिवादी चिन्तन निस्तेज बन्दै जाने प्रदेश सभापति पुनले बताए । ‘मूख्य कुरा कांग्रेसभित्र संस्थागत निर्णय चल्ने विधि र विधानको पालना अनिवार्य हुनै प¥यो’, प्रदेश सभापति पुनले भने, ‘जब विधि र विधानको अनिवार्य पालना गर्नु पर्ने बाध्यकारी अवस्था पार्टीले सिर्जना गर्छ तब तल्लो तहसम्म जन्मिएका व्यक्तिवादी गुट निस्तेज बन्दै जान्छन्, यसर्थ पार्टी केन्द्रदेखि तल्लो तहसम्मका हरेक नेता कार्यकर्ताले पार्टीको विधि र विधान अनिवार्य रूपमा पालना गर्नै पर्ने संस्कार पार्टीभित्र बसाल्नु जरुरी छ ।’
पार्टीभित्र मत विभाजन गरेको अर्को विषय हो, फरक दलसँगको गठबन्धन । चुनावमा हुने गठबन्धन पार्टीका लागि घातक हुने तर्क गर्ने कांग्रेसी एक जमातले गठबन्धन पक्षधर जमातसँग सिँगौरी खेलिरहेकै छ । यो बहस स्थानीय तहका नेताबिच मात्रै नभएर शीर्ष तहकै नेताबिच चलेको यो जुहारीले पनि पार्टी भित्रको टकराव छरपष्ट पारिरहेको छ । महासमितिको समापन कार्यक्रममा बोल्ने शीर्ष नेताहरू पनि गठबन्धनको विषयमा आ–आफ्नै तर्क पेस गरिरहेका थिए । पूर्व महामन्त्री डा. सशाङ्क कोइरालाले कांग्रेसीलाई रुख चिह्नमा भोट हाल्न नदिने परिपाटी कांग्रेसले गर्न नहुनेमा जोड दिए । उनले भने, ‘अरू समयमा रुख चिह्नबारे बहस र छलफल गर्ने तर भोट हाल्ने बेला भने रुख चिह्नमा भोट हाल्न नपाउने संस्कृति अन्त्य हुनु पर्छ ।’ गठबन्धनको पक्षपोषण गर्दै सहमहामन्त्री किशोरसिंह राठौरले गरेको भाषणले गठबन्धन नै कांग्रेसले अहिले गरेको उपलब्धिको प्रमाण भएको बताएका थिए ।
एक्लै चुनाव लड्ने प्रस्ताव पास
विभिन्न राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने प्रस्तावसहित कांग्रेसको महासमिति बैठकले महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्तावलाई पारित गरेको छ । विहीवार सम्पन्न कांग्रेसको महासमिति बैठकले कांग्रेस एक्लै चुनाव लड्ने प्रस्तावलाई पारित गरेको हो ।
महामन्त्री थापाले पेस गरेको सांगठनिक प्रस्तावमा उल्लिखित यो विषय कार्यान्वयन भए अब कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने छैन । चुनावमा फरक राजनीतिक दलसँग गठबन्धन गरिनु हुन्छ या हुुँदैन भन्ने बहस चल्दै आएको थियो । यद्यपि, महासमितिले पास गरेको यो प्रतिवेदनमाथि अन्तिम निर्णयको अधिकार भने केन्द्रीय समितिलाई दिइएको छ ।
यसैगरी कांग्रेसले वडा तहमा जय नेपाल सेवा अभियान गठन गर्ने प्रस्तावलाई पनि पास गरेको छ । यो अभियान अन्तर्गत वडाभित्र परोपकारी कार्य गर्ने लक्ष्य कांग्रेसको छ । पार्टीले कोष खाडा गरी वडा भित्रका अति विपन्प, असहाय व्यक्तिलाई निरन्तर सहयोग गर्ने महामन्त्री थापाको प्रस्ताव कांग्रेसले पास गरेको छ । गरिब जेहेनदार विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गर्ने, स्वास्थ्य समस्या भएकालाई स्वास्थ्योपचारमा सहजीकरण तथा समन्वय गर्ने यो अभियानको लक्ष्यमा उल्लेख गरिएको छ । यसैगरी वडा तहमा हुने कुनै पनि सामाजिक कार्यमा सहभागी हुने गरी यो अभियान अन्तर्गत कांग्रेसीको सहभागिता हुने छ । ‘वडामा हुने जात्रा, पर्व, मेला, जन्म, विवाह उत्सव तथा मृत्यु संस्कारलगायत सामाजिक, सांस्कृतिक संस्कारमा उपस्थित हुने, समन्वय र सहयोग गरिने छ’, महासमिति बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।
यसैगरी कांग्रेसले प्रत्येक गाउँ÷ नगर तहमा गाउँ÷नगर सेवा दल गठन गर्ने प्रस्तावलाई महासमितिबाट पास गरेको छ । यो सेवा दलमार्फत् विपद्मा सहयोग गर्ने लक्ष्य कांग्रेसले लिएको छ । यो सेवा दलमा पार्टी प्रतिनिधि, भ्रातृ संस्था, शुभेच्छुक संस्था तथा विज्ञहरूको प्रतिनिधित्व रहने छ । यो सेवा दललाई विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण समेत दिइने नीति प्रस्तावमा उल्लेख छ । यसैगरी कांग्रेसको महासमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई पनि पास गरेको छ ।