Goraksha

National Daily

घोराही तुलसीपुर सडक,फेरि चारलेन बनाउन प्रस्ताव गरिने

अमरराज आचार्य
दाङ, २९ माघ । निर्माण हुन नसकेपछि ठेक्का रद्द गरिएको घोराही तुलसीपुर सडक खण्ड फेरि चारलेन निर्माणका लागि प्रस्ताव गर्ने तयारी गरिएको छ । यस अघि यो सडक चारलेन विस्तारका लागि ठेक्का लागेको थियो तर काम नभएपछि सरकारले ठेक्का नै रद्द गरेको थियो । अहिले पुनः घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चारलेन नै बनाउन प्रस्ताव गरिने भएको छ । अहिले यो सडकको डिपिआरको काम अन्तिम अवस्थामा पुगेको सडक सुधार तथा विकास आयोजना निर्देशनालयका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

‘हामी डिपिआरको अन्तिम तयारीमा रहेका छौँ, अबको २÷३ दिनमा डिपिआरको रिपोर्ट तयार हुन्छ’, निर्देशनालयका प्रमुख सुवेदीले भने । डिपिआरको रिपोर्ट तयार भएपछि निर्देशनालयले सम्बन्धित मन्त्रालयमा पठाउने छ । ‘डिपिआर तयार भएपछि प्रक्रिया अगाडि बढ्ने छ’, प्रमुख सुवेदीले भने । डिपिआर सरकारलाई बुझाएपछि सरकारले ठेक्का आह्वानका लागि लगानीकर्ता भारतको एक्जिम बैंकमा उक्त डिपिआर पेस गर्ने छ । यो डिपिआर उपर भारतीय एक्जिम बैंकले निर्णय लिएर ठेक्का आह्वान गर्ने छ । यो सबै प्रक्रिया पु¥याएर काम गर्दा केही समय लाग्ने उनले बताए । सडक विस्तारका लागि भारतीय बैंक राजी भए उसले ठेक्का आह्वान गर्ने भन्दै उनले भने, ‘तत्काल यो सबै काम हुने अवस्था रहन्न, प्रक्रिया पूरा हुन समय लागिहाल्छ ।’

निर्देशनालयले यो सडकलाई चारलेन नै निर्माण गर्ने गरी प्रस्ताव गर्ने तयारी गरेको छ । ‘डिपिआरमा सडकलाई चार लेन नै बनाउने गरेर प्रस्ताव गरिने छ’। प्रमुख सुवेदीले भने । चारलेन सडक बनाउने भएपछि बजेट कति लाग्ने भन्नेबारे डिपिआरको फाइनल भएपछि मात्र भन्न सकिने उनले बताए । ‘अहिले नै चारलेन सडकका लागि कति रकम लाग्ने भन्नेबारे यकिन छैन’, उनले भने, ‘डिपिआर फाइनल भएपछि मात्रै यसको लागत स्टिमेट हुने कुरा हुन्छ, फलतः यसको डिपिआर पछि लागत स्टिमेट हुने र उक्त लागतको ठेक्का आह्वानका लागि प्रक्रिया अगाडि बढ्छ ।’

यस अघि झन्डै पाँच वर्ष अघि घोराही–तुलसीपुरको सडक खण्डलाई चारलेनमा विस्तार गर्ने सरकारले योजना बनाएको थियो । झन्डै डेढ अर्ब लागतमा निर्माण गर्ने भनिएको यो सडक विस्तारका लागि भारतीय निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो तर काम हुन नसकेपछि गत जेठमा ठेक्का रद्द गरेर सडक विस्तारका लागि भन्दै खनिएका खाल्डा पुर्न अर्को ठेक्का आह्वान गरिएको थियो ।

सडकका कारण दुर्घटनाको जोखिम

यता सडकमा खनिएका खाडल पुरिए पनि यो सडक दुर्घटनाको उत्तिकै जोखिम बनिरहेको छ । साँघुरो सडकसँगै यातायातको बढ्दो चापले दुर्घटनाको जोखिम निम्त्याएको छ । यसैगरी साँघुरो सडकमा अनियन्त्रित गति दुर्घटनाको अर्को कारण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक किरण मल्लले जानकारी दिए । साँघुरो सडकमा धेरै सवारी साधन सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने उनको भनाइ छ ।