Goraksha

National Daily

स्वर्ण पदक बिजेता तेक्वान्दो खेलाडी डाँगी सम्मानित

सुशीला वली
घोराही, २७ माघ । थाइल्याडमा भएको चियाङ माई अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२४ प्रतियोगितामा स्वर्ण पदक जित्न सफल तेक्वान्दो खेलाडी वीरेन्द्र डाँगीलाई बगेश्वरी डाँगी वन्धु ट्रष्टले सम्मान गरेको छ ।

बगेश्वरी डाँगी वन्धु ट्रष्टले शनिवार कार्यक्रमको आयोजना गरेर देशका लागि पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो । बगेश्वरी डाँगी वन्धु ट्रष्ट केन्द्रिय अध्यक्ष चत्र्तुरमान डाँगीको अध्यक्षतामा तुसीपुर उपमहानगरपालिका–१८ दुधरासमा भएको कार्यक्रममा नगद ७ हजार रुपैँयासहित खेलाडी डाँगीलाई सम्मान गरिएको थियो ।

९ वटा देशका खेलाडीहरु सहभागी भएको उक्त प्रतियोगितामा डाँगीले ५४ केजी तौल समुहतर्फ स्वर्ण पदक जित्न सफल भएका थिए । त्यसअबसरमा केन्द्रिय अध्यक्ष चत्र्तुरमान डाँगीले डाँगी बन्धुको शिर उचो राख्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । खेलको माध्यम मार्फत देशको गौरव बढाउने काम गरेको भन्दै आगामी दिनमा समेत सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव चन्द्रबहादुर डाँगीले गरेका थिए ।

रोल्पाली सेवा समाजद्वारा खेलाडीलाई सम्मान

यसैविच रोल्पाली सेवा समाजले बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।

समाजले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर थाइल्याडमा भएको चियाङ माई अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२४ प्रतियोगितामा स्वर्ण पदक जित्न सफल तेक्वान्दो बीरेन्द्र डाँगी र रजत पदक जित्ने रिमोट झाँक्री मगरलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा खेलाडी डाँगीका बुवा गोर्कण डाँगी, आमा इन्द्रमाली डाँगी र अंकल अर्जुन डाँगीलगायतको सहभागीता रहेको थियो । रोल्पाली सेवा समाज दाङका अध्यक्ष ओमप्रकाश खड्काको अध्यक्षता तथा केन्द्रिय सल्हाकार कैलाश रोकामगरको प्रमुख आतिथ्यता एवं केन्द्रिय अध्यक्ष डिलाराम ओलीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सम्मान गरिएको थियो ।

डाँगी रोल्पा त्रिवेणी गाउँपालिका ७ र झाक्री मगर थवाङ गाउँपालिका २ निवासी हुन । दुवै जना खेलाडीहरु घोराहीस्थीत अल्फा तेक्वान्दो डोजाङबाट खेल्ने गर्दै आएका छन् । रोल्पाली सेवा समाज दाङ शाखाका महासचिव घनश्याम गिरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।