विद्यार्थी आन्दोलन नयाँ ढङ्गबाट अघि बढ्नु पर्छ : अध्यक्ष शेर्पा
गोरक्ष समाचारदाता
दाङ, २४ माघ । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी आन्दोलनलाई नयाँ ढङ्गले अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस इकाइ समितिले मंगलवार आयोजना गरेको परिचयात्मक तथा बृहत सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष शेर्पाले विद्यार्थीको हकहितसँगै अध्ययन गरिसकेपछि स्वदेशमै रोजगारीको सिर्जना गर्ने वातावरण निर्माणमा लाग्नु पर्ने बताए । पछिल्लो समयमा देशमा युवाले त्रिभुवन विश्वविद्यालय रोज्ने कि त्रिभुवन विमानस्थल भन्ने व्यङ्ग्यात्मक बहस हुने गरेको भन्दै अध्यक्ष शेर्पाले यसलाई विद्यार्थी आन्दोलनले चिर्न आवश्यक रहेको बताए ।
‘विद्यार्थी आन्दोलन विद्यार्थी हकहितसँगै उद्यमशीलतामा जोड्ने गरी अघि बढाउन आवश्यक छ’, अध्यक्ष शेर्पाले भने, ‘अब त्यस अनुसारको पाठ्यक्रम तयार गरेर पढिसकेपछि रोजगारीको सुनिश्चितता हुनु पर्छ ।’ २० वर्ष पुरानो पाठ्यक्रममा आधारित भएर पढाउने र पढिसकेपछि देखाउने सर्टिफिकेट मात्र हातमा हुने अवस्थाको अन्त्य नहुँदासम्म देशको विकास हुन नसक्ने बताए । लामो समयपछि भएको स्ववियु निर्वाचनले त्रिभुवन विश्वविद्यालय सुधारका लागि पहल गरेको भन्दै स्ववियु निर्वाचन हुन नसकेका कलेजमा स्ववियु निर्वाचन हुने वातावरण निर्माणका लागि लागेको बताए ।
नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस इकाइ समिति सभापति भीमार्जुन बस्नेतको सभापतित्व तथा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेल, राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धे, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू टिआर पाण्डे, धीरज खत्री, एनपी आचार्य, सरोज बोगटी, रवि बुढाथोकी, आकाश भण्डारी, अभिषेक दाहाल, नेपाल विद्यार्थी संघ महाधिवेशन प्रतिनिधि बिमल रिजाल, तरुण दल दाङका अध्यक्ष टीका घर्ती, नेपाली कांग्रेस तुलसीपुर सभापति सुरेश हमाललगायतले बोलेका थिए । इकाइ उपसभापति नवीन खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव टोपबहादुर वलीले गरेका थिए । कार्यक्रममा विद्यार्थीले नृृत्य प्रस्तुत गरेका थिए ।
