Goraksha

National Daily

सभापतिको लागि तयार छु : डा. कोइराला

1 min read

गोरक्ष समाचारदाता
दाङ, २४ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री शशाङ्क कोइरालाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व महामन्त्री कोइरालाले लामो समय एउटै व्यक्ति र विचारले पार्टी चल्न नसक्ने भन्दै नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको बताए ।

कांग्रेसलाई सवल र सक्षम पार्टी बनाउन वडा तहदेखि केन्द्रस्तरसम्म पुस्तान्तरण हुनु पर्ने उनले बताए । उनले पार्टीमा पटक–पटक पुस्तान्तरणको कुरा चल्ने गरे पनि व्यवहारमा देखिन नसकेको बताए । उनले भने, ‘कांग्रेसलाई रूपान्तरण गर्न पुस्तान्तरण आवश्यक छ । यदि युवाले पुस्तान्तरणको लागि हिम्मत गर्ने हो भने म पार्टी सभापतिको लागि तयार छु ।’ समुदायमा कांग्रेस खोजिरहँदा युवा जनशक्ति पलायन हुनु दुःखद् भएको बताउँदै नेता कोइरालाले अब सुदृढ, समृद्ध कांग्रेस बनाउँदै देश विकासमा समर्पित हुने काममा ढिलाइ गर्न नहुने धारणा व्यक्त गरेका थिए ।

प्रधानमन्त्री पदलाई फाटेको जुत्ता भन्दै नेता कोइरालाले उक्त पदमा जोकोही पनि जान सक्ने भएकाले त्यसमा रहने व्यक्तिले विवेकपूर्ण नीति र विचारले मुलुकलाई अगाडि बढाउनु पर्ने बताए । राजनीतिमा सबैभन्दा महत्वपूर्ण विवेकको सही प्रयोग भएको भन्दै नेता कोइरालाले अरूको निर्देशनभन्दा प्रधानमन्त्रीदेखि मन्त्रीले आफ्नो विकेक प्रयोग गरेर जनताको पक्षमा काम गर्नु पर्ने बताएका थिए । सरकारले जनपेक्षा अनुसार काम गर्न नसकेकाले जनतामा आशाभन्दा निराशा बढी छाएको बताएका थिए । उनले भने, ‘देशको प्रमुख पार्टीका रूपमा कांग्रेस रहे पनि सरकारमा सहभागी भएका दलबिच वैचारिक मतभेद, सरकारमा बस्नेहरूको विचारमा अस्पष्टता, विवेकको सही प्रयोग नगर्नु र जनताको सेवामा खटिनु पर्ने सरकारले जनपेक्षा अनुसार गति लिन सकेको छैन ।’ अनुअपेक्षा अनुसार काम गर्न नसक्दा युवा पुस्तामा निराशा छएको भन्दै त्यसलाई सुधार गर्न सरकारले कामको गति बढाउन आवश्यक रहेको बताएका थिए ।

उनले भने, ‘सरकार सञ्चालनको जिम्मेवारी सम्हालेको वर्ष दिन बितिसक्दा पनि सरकारको काम निकै स्थिर छ तर विगतमा गठबन्धनबिच भएको सम्झौता अनुसार सरकार चलाउने कोसिस छ । यो हाम्रो बाध्यता हो । जसका कारण विकास निर्माणका कामले अपेक्षित गति लिएको छैन । पुँजीगत खर्च कमजोर छ । विचारमा स्पष्टता, विवेकको सही प्रयोग र जनताको सेवामा खटिनु पर्ने सरकार खोई के कारणले सुस्त छ ?’ उनले विगतमा गठबन्धन गरेर गल्ती भएको बताउँदै अब कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गरी अघि बढ्नु पर्ने बताएका थिए ।
मुलुकको इतिहास बोकेको पार्टीको आफ्नै सामथ्र्यमा उभिन सक्ने हुँदाहुँदै गठबन्धनकै कारण अहिले पार्टीको आन्तरिक जीवन मात्रै नभई सरकारको गति पनि अपेक्षाकृत रूपमा अघि बढ्न चुनौतीपूर्ण बनेको बताएका थिए । ‘चुनाव एक्लै लडेर पछि सरकार चलाउन गठबन्धन गर्न सकिन्छ । चुनाव अघि गठबन्धन गर्दा अहिले सरकार सञ्चालनमा समस्या भएको हो । अब विगतको जस्तो कमजोरी गर्नु हुँदैन’, उनले भने, ‘जनताले गठबन्धन गरेको रुचाएका छैनन् भन्ने उदाहरण अहिले सरकारको कामबाट पनि थाहा भइरहेको छ ।’

सो अवसरमा अर्का केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले आफू ‘समुदायमा कांग्रेस’ अभियान लिएर जिल्ला–जिल्लामा पुग्दा सरकारको कामप्रति जनतामा निराशा बढेको पाएको बताइन् । कांग्रेसले जनपेक्षा अनुसार काम गर्न नसकेको आम नागरिकको बुझाइ रहेको बताउँदै उनले सरकारको अनुभूति हुने काममा लाग्न जनताको आग्रहलाई सरकारले सुन्नु पर्ने बताइन् । नेपाल प्रेस युनियनकी जिल्ला उपाध्यक्ष पार्वती बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

दाङ कांग्रेसको साक्षात्कार

यसैगरी नेपाली कांग्रेस दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता कोइरालाले सबै कांग्रेसजनमा काम र कुरामा एकरुपता ल्याउन जरुरी रहेको बताएका थिए । आशावादी जीवनले काम र प्रतिबद्धता जीवन्त हुने बताउँदै सरकार चलाइरहेकाबाट सही रूपमा विवेकको प्रयोग हुन नसकेको बताएका थिए । ‘म चार पटक निर्वाचन जितेर आएको व्यक्ति हुँ तर पदको लोभ कहिल्यै पनि गरेन’, नेता कोइरालाले भने, ‘राष्ट्रको विकेन्द्रीकरण भयो, त्यही अनुसार पार्टीको विकेन्द्रीकरण हुनु पर्छ । वडा, जिल्ला र प्रदेशलाई पनि अधिकार प्रदान गर्नु पर्छ ।’ स्थानीय ठाउँमा हुने कामलाई केन्द्रले हस्तक्षेप गर्न नहुने उनले बताएका थिए । उनले आपूm परिवर्तनको पक्षमा रहेको भन्दै परिवर्तनको अभियानमा सबै जोडिनु पर्ने बताएका थिए । उनले भने, ‘म वीपीपुत्र हुँ तर म जीवन सङ्घर्षको रूपमा परिचित छु । पद र प्रतिष्ठाभन्दा माथि उठेर देश र जनताको पक्ष लाग्नु पर्छ भन्ने मेरो मान्यता हो ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा समुदायमा कांग्रेस अभियान अन्तर्गत दाङमा खटिएका गोविन्दबहादुर शाहले पार्टी र जनप्रतिनिधिबिच समन्वय गरेर काम गर्नु पर्ने बताएका थिए । पार्टी र जनप्रतिनिधिबिच समन्वय गरेर काम गर्दा जनचाहना अनुसार काम हुने बताएका थिए । कार्यक्रममा उपस्थित विभिन्न नेता तथा कार्यकर्ताले सत्ता स्वार्थका कारण गठबन्धनका नाममा अल्झिन नहुने, पछिल्लो समयमा बढेका क्यान्सरलगायतका ठुला रोगका कारण बिरामी परेका जनताको सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने, कृषिको विकासविना देशको आर्थिक विकास सम्भव नभएकाले कृषिलाई प्राथमिकतामा राखेर पार्टी अघि बढ्नु पर्नेलगायतका सुझाव दिएका थिए । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव बालिका लम्सालले गरेकी थिइन् ।

मलाई साथ दिनुहोस्, म परिवर्तन ल्याउँछु ः नेता कोइराला

यसैगबिच नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले कांग्रेसको आचरणमा परिवर्तन ल्याउनु पर्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नं. ३ ले तुलसीपुरमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले अब म भन्ने प्रवृत्ति सबैले त्याग्नु पर्ने बताए ।

उनले पार्टीभित्र रहेको इतिहास र विचारका कारण कांग्रेस अरू पार्टीभन्दा बलियो रहेको र काग्रेसको राम्रो भविष्य आफूले देखेको उल्लेख गरे । उनले आफूले आफ्नो लागि राजनीति नगरेको समेत बताए । ‘म अब चुनाव लड्नेवाला छैन, मैले चार पटक चुनाव जितेँ, अब अरूलाई अवसर दिनु पर्छ’, डा. कोइरालाले भने, ‘एउटै व्यक्ति पटक–पटक चुनाव लड्नु राम्रो होइन, राजनीतिमा अरूलाई पनि अवसर दिनु पर्छ ।’ उनले अहिले परिवर्तन चाहेको र आफूलाई सबैले साथ दिए परिवर्तन गर्न सकिने बताए । ‘अब हामीले परिवर्तन ल्याउनु छ, म परिवर्तनकै लागि लागेको हो, हामी परिवर्तनकै लागि लागेका हौँ’, उनले भने । उनले कांग्रेसमा नयाँ विचार र परिवर्तन आवश्यक भएको भन्दै त्यो आफूले गर्न चाहेको बताए । कार्यकर्ताले कांग्रेस केही भत्किएको, गुटउपगुटको भारीले अलि सुस्ताएको, सैद्धान्तिक मूल्य मान्यताबाट केही गिरेको हो कि भन्ने भनाइप्रति लक्षित गर्दै उनले नयाँ सोच र विचार ल्याएर कांग्रेसलाई पुनः जीवन दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा क्षेत्रीय सभापति जगतबहादुर खड्काले कांग्रेसभित्रकै गुट उपगुटका कारण कांग्रेस कमजोर भएको भन्दै कांग्रेस बलियो बनाउन सबै एक हुनु पर्ने बताए । यसैगरी नगर सभापति सुरेश हमालले लामो इतिहास बोकेको पाटी कांग्रेसको क्रियाशील सदस्यता वितरणदेखि अन्य कुरामा चुकेको भन्दै यसलाई सुधार गर्नु पर्ने बताएका थिए । उनले एक व्यक्ति एक पद हुनु पर्ने भन्दै सामानुपातिक सिस्टमलाई पनि हेरफेर गर्न सुझाव दिएका थिए । त्यस्तै कांग्रेस नेतृ सूष्मा गिरी, देविका नेपाली, देवा बस्नेत, कांग्रेसका नेता कुलबहादुर केसी, चुर्ण चौधरी, मुक्ति न्यौपाने, घनश्याम भण्डारीलगायतले एउटै व्यक्तिले धेरैपटक अवसर पाउने र सबै पद एउटाले नै लिने प्रथाको अन्त्य गरी चरम गुटबन्दीको अन्त्य गरी एकताबद्ध बनाउन नेता लाग्नु पर्ने सुझाव दिएका थिए । सहभागीले कांग्रेसप्रतिको जनताको वितृष्णा किन आयो र केमा कांग्रेस चुक्यो, त्यसतर्फ सबैले ध्यान दिनु पर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव शोभाखर सापकोटाले गरेका थिए ।

More Stories