बर्दिया,१६ माघ । प्रारम्भिक बाल बिकासमा खानेपानी सरसफाई तथा स्वच्छता (वास) र आपतकालीन अवस्थामा बिपत जोखिम न्यूनीकरण बिषयक ३ दिने तालिम गुलरियामा शुरु भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र ९च्प्व्क्० को साझेदारीमा सञ्चालित बालिका सशक्त परियोजनाअन्तर्गत स्वास्थ्यकर्मी, सामुदायिक सहजकर्ता तथा बालबिकास स्वयंसेवकहरुको लागि प्रारम्भिक बाल बिकासमा खानेपानी सरसफाइ तथा स्वच्छता (वास) र आपतकालीन अवस्थामा बिपत जोखिम न्यूनीकरण बिषयक तालिम शुरु भएको हो ।
तालिममा ठाकुरबाबा, बारबर्दिया, गेरुवा र राजापुर गरि तीन पालिकाबाट सहभागीहरुको उपस्थिति रहेको परियोजना अधिकृत सीमा वलीले जानकारी दिएकी छिन् । तालिम पश्चात सहभागीहरुले प्रमुख ६ स्वस्थकर व्यवहार, बिपत जोखिम न्युनिकरण, पोषण र वासको सम्बन्ध, सुरक्षित खानेपानी, पोषण र वास सुधारमा स्वास्थ्य संस्था र सहजकर्ताको भूमिका, समुदाय प्रज्वलनलगायतका बिषयमा सीप विकास गरि बालबिकास, पोषण तथा वाको क्षेत्रमा समुदायस्तरमा स्वच्छता प्रवर्द्धनको लागि विविध कार्यक्रमहरु गरिने संस्थाका कोषाध्यक्ष यज्ञराज पोख्रेलले जानकारी दिएका छन् ।
संस्थाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको थियो । माघको १५ देखि १७ गतेसम्म चल्ने तालिमको सहजीकरण परियोजना संयोजक मनोज पौडेलले गर्नेछन् ।