‘आफ्नै ठाउँमा स्वरोजगार बन्नेगरी काम गरौ’

लमही,१५ माघ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सकेसम्म स्वदेशमै बसेर स्वरोजगार बन्नेगरी काम गर्नुपर्ने बताएका छन् । त्यसका लागि पालिकाले विभिन्न सीपमूलक तालिमको आयोजना गर्दै आएको भन्दै नगर प्रमुख चौधरीले कृषि, पशुपालन, उद्यमलगायतका सिप सिकेर आफ्नै ठाउँमा स्वरोजगार बन्नेगरी लाग्न युवा पुस्तालाई आग्रह गरेका हुन ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरूको संजालमा आवद्धहरुको क्षमता विकास सम्बन्धि दुई दिने कार्यक्रमको समापनका क्रममा नगर प्रमुख चौधरीले युवाहरु आफ्नै ठाउँमा केही गर्नेगरी लाग्न आग्ह गरेका हुन । उनले लमही नगरपालिकाद्वारा स्थापना गरेको आप्रवासी स्रोत उपकेन्द्रले अन्य तीनवटा पालिकाका नागरिकहरुलाई पनि बैदेशिक रोजगार सम्वन्धी सेवा दिने गरेको बताए ।

हरेक वडाबाट सूचना संकलन गरेर नगरपालिकामा जानकारी गराउन संजाललाई नगर प्रमुख चौधरीले निर्देशन दिएका थिए । कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले वैदेशिक रोजगारमा जान चाहानेहरुलाई आप्रवासी श्रोत उपकेन्द्रले राम्रो परामर्श दिने बताइन । नगरपालिकामा गठन भएको संजाललाई बलियो गराउनका लागि नगरपालिका सहयोग रहने उपप्रमुख योगीको भनाई छ ।

नगरपालिकाको आन्तरिक स्रोतबाट संजाललाई निरंतरता दिने भन्दै संजालमा रहेका पदाधिकारीलाई जोस जांगरका साथ काम गर्न आग्रह गरेकी थिइन । नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिकाकि मनोसामाजिक परामर्श कर्ता निमा भट्टराईले गरेकी थिइन ।

श्रमिक संजाल गठन

यसैविच लमही नगरपालिकास्तरीय आप्रवासी श्रमिक संजाल गठन भएको छ । जस्को अध्यक्षमा पहलसिंह पुन, उपाध्यक्षमा सिमा चौधरी, कोषाध्यक्षमा मदनकुमार श्रेष्ठ, सचिवमा दोर्णबहादुर अधिकारी, सहसचिवमा राजकुमार चौधरी चयन भएका छन् । सदस्यमा राजेशकुमार चौधरी, भानु सुनार, विश्वमणी चौधरी, दीपककुमार चौधरी, बलिराम चौधरी, प्रेरणा पछाई, किसमान चौधरी र विनोद चौधरी रहेका छन ।