बर्दिया, १५ माघ । विद्यार्थीको पढाईप्रतिको रुचि र भविश्यको योजना निर्माणमा सहयोग पुर्याउनका लागि विद्यार्थी र अभिभावकहरुसंग छुट्टाछुट्टै परामर्श र अभिमुखीकरण गरिएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका–३ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई पढाई कुना निर्माणका बारेमा अभिमुखीकरण र वडा नं. ६ मा रहेको अंशुवर्मा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई भविश्यको बारेमा परामर्श तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा संचालित बालिका सशक्त परियोजनाअन्तरगत बारबर्दिया नगरपालिकाको वडा नं. १ देखि ७ नम्बरमा रहेका मावि विद्यालयहरुमा कार्यक्रमहरु संचालन हुदै आएको छ । कार्यक्रम संचालनको क्रममा वडा नं. ३ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १ देखि ५ का विद्यार्थीहरुको अभिभावकलाई ४ वटा समुहमा बिभाजन गरेर पढाई कुना निर्माण गर्नका लागि शुक्रबार अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा अभिमुखीकरण गर्दै उक्त परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेल र कार्यक्रम अधिकृत सिमा वलीले अभिभावकहरुलाई आफ्नो छोराछोरीका लागि पढाई कुना निर्माण गर्न आग्रह गरेका थिए । पढाई कुना निर्माण गर्दा आफ्नो घरमा निर्माण हुन सक्ने बस्तुलाई प्राथमिकतामा ध्यान दिन सुझाव दिएका थिए । एक घर, एक पढाई कुना बनाउनुपर्ने आवश्यकता र अभिभावक शिक्षामा सात सन्देशको बारेमा जानकारी गराएका थिए ।
अभिभावकहरुले आफ्नो छोराछोरीका लागि पढाई कुना निर्माण गर्ने प्रतिबद्धता समेत जनाएका थिए । यसैगरी बारबर्दिया नगरपालिका वडा नं. ६ मा रहेको अंशुवर्मा माध्यमिक विद्यालयका कक्षा ८ देखि १० कक्षाका विद्यार्थीहरुको लागि क्यारियर परामर्श र अभिमुखीकरण कार्यक्रम भएको छ । परामर्श तथा अभिमूखिकरणगर्दै बारबर्दिया नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईले विद्यार्थीहरुको प्रमुख काम भनेको पढाई हो, पढाईले सबथोक गर्न अतिआवश्क रहेको बताएका थिए ।

मानिसको पहिचान नामले भन्दा क्यारियरले दिने भएकोले क्यारियर निर्माणमा ध्यान दिनुपर्ने बताए । राम्रो क्यारियर बनाउनका लागि गर्नुपर्ने क्रियाकलापको बारेमा छलफल गराउर्दै अरुलाई जित्नका लागि आफुलाई पहिले जितेर देखाउन आग्रह गरेका हुन । उक्त परियोजनाद्वारा विद्यार्थी, अभिभावक, किशोरकिशोरी, आमा समुहलाई लक्षित गरेर बर्दियाको बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाँउपालिकामा कार्यक्रम संचालन गरिरहेको उक्त परियोजनाकी सुपरभाईजर रामकली थारुले जानकारी दिएकी थिइन ।