दाङमा २६ जना कुष्ठरोगीका बिरामी

दाङ, १५ माघ । दाङ जिल्लामा २६ जना कुष्ठरोगीका बिरामी रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङकाअनुसार आर्थिक वर्ष २०७९÷०८० को तथ्याङ्कअनुसार जिल्लाका विभिन्न ठाउँमा कुष्ठरोगका २६ जना बिरामीहरू रहेका छन् ।

आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा जिल्लामा केही कृष्ठरोगीको संख्या बढे पनि कुष्ठरोगको जोखिम भने नरहेको स्वास्थ्य कार्यालय दाङका कुष्ठ÷क्षय रोग फोकल पर्सन गजेन्द्र यादव बताउँछन् । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा २२ जना कुष्ठरोगका बिरामीहरू थिए । संख्या बढे पनि जोखिम भने नरहेको फोकल पर्सन यादव बताउँछन् । क्ुष्ठरोगीको संख्या घोराही उपमहानगरपालिकामा १२ जना, गढवा गाउँपालिकामा ६ जना, दंगीशरण गाउँपालिकामा ३ जना, लमही नगरपालिका र राप्ती गाउँपालिकामा २÷२ जना र तुलसीपुर उपमहानगरपालिकामा १ जना रहेको छ ।

बिरामीले नियमित रूपमा स्वास्थ्य संस्थामा औषधी सेवन गरिरहेकाले जोखिम नरहेको फोकल पर्सन यादव बताउँछन् तर सक्रिय कुष्ठरोगीबाट श्वासप्रश्वासको माध्यमबाट अन्य व्यक्तिमा रोग सर्ने जोखिम भएकाले सावधानी अपनाउन आवश्यक रहेको बताए । ‘जिल्लामा रहेको कुष्ठरोगीको तथ्याङ्कअनुसार जोखिम छैन, तर सावधानी अपनाउन आवश्यक छ’,फोकल पर्सन यादवले भने,‘बिरामीमा लामो समयपछि पनि लक्षण देखिएकाले छालासम्बन्धी बिरामीले अनिवार्य चेक गराउनुपर्छ ।’ उनले बिरामी भएका व्यक्तिबाट अन्य व्यक्तिमा सरे नसरेको पहिचानका लागि परिक्षण कार्यक्रम गर्ने तयारी रहेको समेत बताए ।

फोकल पर्सन यादवले जिल्लामा कुष्ठरोगीको संख्या बढ्न नदिनका लागि नियमित परिक्षणसँगै स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेका बताउँछन् । फोकल पर्सन यादवले भने,‘जिल्लामा कुष्ठरोगीका बिरामी बढ्न नदिनका लागि स्वास्थ्य सचेतना गाउँगाउँमा आवश्यक छ । छालासम्बन्धी समस्या देखिँदा परिक्षण गराउनुपर्छ ।’ कम सर्ने कुष्ठरोगीका बिरामीले ९ महिना र बढी सर्ने कुष्ठरोगीका बिरामीले एक वर्षसम्म र्औषधी सेवन गर्नुपर्ने हुन्छ । सरकारले कुष्ठरोगको परिक्षणसँगै उपचार समेत निःशुल्क रूपमा गर्ने भएकाले बिरामीलाई रोग लुकाउनुभन्दा शंका लागेको अवस्थामा परिक्षण गराउनुपर्ने बताउँछन् ।