गोरक्ष समाचारदाता
दाङ, १४ माघ । तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि निःशुल्क औषधीको व्यवस्थापन गर्न सकेको छैन । सरकारले निःशुल्क घोषणा गरेका औषधी आम नागरिकलाई उपलब्ध गराउन सङ्घीय सरकारबाट बजेट आएको तर पनि यो आर्थिक वर्र्षको आधा समय बितिसक्दा पनि उपमहानगरले भने औषधी खरिदको प्रक्रिया नै सुरु गरेको छैन । यो उपमहानगरमा निःशुल्क औषधीको व्यवस्थापनका लागि सङ्घीय सरकारले २८ लाख ७ हजार रुपैयाँ सशर्त अनुदान उपलब्ध गराएको छ ।
यसैगरी उपमहानगरले एक लाख रुपैयाँ छुट्याएको छ । ‘यो वर्ष निःशुल्क औषधी खरिदका लागि सङ्घीय सरकारबाट सशर्त अनुदानमार्फत् २८ लाख ७ हजार रुपैयाँ आएको छ र उपमहानगरले थप एक लाख रुपैयाँ छुट्याएको छ’, तुलसीपुर उपमहानगरको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत ओमप्रकाश न्यौपानेले भने ‘यो बजेटबाट औषधी खरिदको प्रकृया थाल्ने छौँ ।’ तर अहिले सम्म खरिदका लागि प्रकृया नथालिएको उनले बताए । अबको एक÷डेढ महिनामा औषधी उपलब्ध गराउने गरि औषधी खरिदका लागि ठेक्का खोल्ने तयारी भइरहेको उनले बताए । ‘अबको एक÷डेढ महिनामा औषधी आउने गरि ठेक्का प्रकृया सुरु गर्छौँ’, न्यौपानेले भने ‘तत्कालै सबै वडामा औषधी उपलब्ध गराउने गरी तयारी थालिरहेका छौँ ।’
समयमै औषधी खरिद प्रकृया सुरु नहुँदा सरकारले निःशुल्क घोेषणा गरेका सबै औषधी स्थानीले पाउन सकिरहेका छैनन् । निःशुल्क औषधी स्थानीयलाई वितरण गर्ने जिम्मा पाएका वडाका स्वास्थ्यचौकीमा सरकारले घोषणा गरेका सबै औषधी नहुँदा वितरणमा समस्या भएको बताउँछन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित स्वास्थ्यचौकीमा सरकारले निःशुल्क घोषणा गरेका केही प्रकारका औषधी सकिएको बताउँछ । उसले उपमहानगरको स्वास्थ्य महाशाखामा औषधीका लागि माग समेत गरिरहेको छ तर औषधी व्यवस्थापनका लागि ठेक्का प्रक्रिया सुरु नभएका कारण महाशाखाले औषधी दिन सकिरहेको छैन ।
‘म स्वास्थ्य चौकीमा गएको थिएँ, दुई÷तीनथरिका औषधी अभाव भएको रहेछ’, वडाध्यक्ष थलराज पुरीले भने, ‘अभाव भएको औषधी तत्काल व्यवस्थापन गर्नुस् भनेर मैले स्वास्थ्यचौकीका प्रमुखलाई भनेको छु ।’ वडाध्यक्षले भनेजस्तै यो पालिका स्थित स्वास्थ्यचौकीले पनि औषधीको माग उपमहानगरको स्वास्थ्य महाशाखामा गरिरहेको छ तर उपमहानगरले ठेक्का प्रक्रियाबाट औषधी आउँदासम्म पर्खिन सुझाव दिइरहेको छ । ‘हाम्रो स्वास्थ्यचौकीमा केही प्रकारका औषधीको अभाव देखिएको छ, हामीले औषधीको माग गरिरहेका छौँ’, स्वास्थ्यचौकीका प्रमुख कृष्ण केसीले भने, ‘तर उपमहानगरको स्वास्थ्य महाशाखाले औषधी आयातका लागि ठेक्का प्रक्रियामा जान थालिएको र केही समय कुर्न भनेको अवस्था अहिले छ ।’ सरकारले निःशुल्क घोषणा गरेका सबै औषधी पर्याप्त नहुँदा सेवाग्राहीलाई रित्तो हात फर्काउनु पर्ने बाध्यता यो वडाको स्वास्थ्यचौकीलाई छ ।
यसैगरी तुलसीपुर उपमहानगरकै वडा नं. १४ स्थित स्वास्थ्यचौकीमा पनि आँखामा प्रयोग हुने औषधी अभाव भएको दुई÷तीन महिना भइसक्यो । आँखाका समस्या भएका स्थानीय औषधीका लागि निरन्तर स्वास्थ्यचौकीमा आउँछन् तर स्वास्थ्यचौकीले यो औषधी नभएको र बाहिरै खरिद गर्न सुझाव दिन्छ । ‘आँखाको समस्या भएकाका लागि औषधी छैन’, वडाको स्वास्थ्य चौकीका प्रमुख खड्गबहादुर चौधरीले भने, ‘यस्ता समस्या भएकालाई रित्तो हात फर्काउनै पर्छ, किनकि यो औषधी सकिएको दुई–तीन महिना भइसक्यो ।’
आँखाका समस्या भएकाका लागि तथा अन्य केही औषधी पनि यो वडाको स्वास्थ्यचौकीमा छैन । वडाले औषधी व्यवस्थापनका लागि उपमहानगरको स्वास्थ्य महाशाखामा भनसुन गर्दै आएको छ तर उपमहानगरले यो स्वास्थ्यचौकीमा यो औषधी उपलब्ध गराउन सकेको छैन । ‘महाशाखामा हामीले औषधीका लागि भनसुन गरिरहेका छौँ तर पाउन सकेका छैनौँ’, चौधरीले भने, ‘के कारणले औषधी नपाइएको हो, हामीलाई थाहा हुने कुरा भएन तर हामीले औषधी चाहिँ पाएका छैनौँ ।’
उपमहानगरले भने कतै कुनै पनि स्वास्थ्य संस्थाहरूमा औषधी अभाव नरहेको दाबी गर्छ । हाल औषधी व्यवस्थापनका लागि ठेक्का प्रक्रियामा जान लागेको उपमहानगरले औषधी अभाव भएका स्वास्थ्यचौकीमा ठेक्का प्रक्रियामा नगएर पनि खरिद गरेर व्यवस्थापन गरेको जनाउँछ । ‘ठेक्का प्रक्रिया तत्काल पूरा भएन, कुनै पनि स्वास्थ्यचौकीमा औषधी सकियो भने ठेक्का प्रक्रियाबाट मात्रै नभइ उपमहानगरले आफै सिधै पनि औषधी खरिद गरेर वितरण गर्न सक्छ’, उपमहानगर स्वास्थ्य महाशाखाका शाखा अधिकृत न्यौपानेले भने, ‘हामीले यसैगरी पनि औषधी उपलब्ध गराउँदै आएका पनि छौँ, कतै पनि औषधीको अभाव हुने अवस्था आउन दिएका छैनौँ ।’
गत वर्ष यो उपमहानगरले औषधी ठेक्कामार्फत् खरिद गरेको थियो तर यो औषधीले पनि स्वास्थ्यचौकीहरूको मागलाई भने पूर्ति गर्न सकेन । गत वर्ष यो उपमहानगरमा निःशुल्क औषधी खरिदका लागि ५० लाख रुपैयाँ बजेट थियो । सङ्घीय सरकारमार्फत् आएको र उपमहानगरले छुट्याएको ५० लाख रुपैयाँमध्ये उपमहानगरले २७ लाख रुपैयाँको औषधी ठेक्कामार्फत खरिद गरेको थियो । यो औषधीले माग पूर्ति गर्न नसकेपछि उपमहानगर आफैले ठेक्का प्रक्रियामा नगएर पनि औषधी खरिद गरेको थियो । तथापि औषधीको मागलाई पूर्ति गर्न नसकेको उपमहानगरले ९ लाख रुपैयाँ फ्रिज गराएको थियो । संघबाट आएको ३२ लाख रुपैयाँमध्ये ४ लाख र उपमहानगरले छुट्याएको १८ लाखमध्ये ५ लाख रुपैयाँ खर्च हुन नसकेको न्यौपानेले जानकारी दिए । ‘संघतर्फको ४ लाख र उपमहानगरले विनियोजना गरेकोमध्ये ५ लाख रुपैयाँ खर्च हुन सकेन’, न्यौपानेले भने, ‘संघतर्फको बजेट फिर्ता भएर गयो भने पालिकाको बजेट भने पालिकाकै खातामा रह्यो ।’