भूमी समस्या सम्वन्धि १ दिने कार्यशाला

घोराही १३ माघ ।नेकपा माओवादी केन्द्र दाङको आयोजनामा भूमि समस्या सम्वन्धि एकदिने कार्यशाला शनिबार घोराहीमा सम्पन्न भएको छ । पार्टीका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको अध्यक्षता र प्रतिनिधिसभा सदस्य नारायणी शर्माको प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रतिनिधिसभा सदस्य नारायणी शर्माले भुमि सम्बन्धि समस्या एउटा आयोगको मात्रै बिषय नभएर सरकार र सदनको बिषय रहेको बताए । अहिलेसम्म भुमिको बिषय राजनीतिक नारा मात्रै दलहरूले बनाएकोले अब वास्तविक रुपमा माओवादी पार्टीले एजेन्डा बनाएर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश बिष्टले राजनीतिक प्रतिशोधका कारणले पनि भुमि समस्या हल हुन नसकेको बताए । स्थानीय सरकार गम्भीरतापूर्वक लागेको बताउदै उहाँले भुमि सम्वन्धि ऐन कानुनले समेत अप्ठ्यारो पारेको बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले भुमि समस्या हल गर्न आलन्दोलन र दबाब सिर्जना आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय भुमि आयोग दाङका अध्यक्ष लेखराज सिहले हलमा उठेको प्रश्नको जवाफ दिदै आयोगको कार्यविधि अनुसार काम अगाडि बढेको बताए । अहिले सक्रिय पालिकाहरुमा जग्गा नापजाँचको कार्य अगाडि बढिरहेको बताउदै उहाँले विभिन्न समस्याहरुका बीच आयोग अगाडि बढिरहेको बताए । कार्यक्रममा आयोगका विज्ञ सदस्य लक्ष्मी चौधरीले आयोगले गरिरहेका बिषयमा प्रशिक्षक प्रशिक्षण दिएका छन् ।