यात्रु खोस्ने हतारले जोखिम

बढ्दो सवारी दुर्घटना
गोरक्ष समाचारदाता
दाङ, ५ माघ । केही दिन अघि तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको बसले दुधरासमा स्कुले बालकलाई ठक्कर दियो । भे१ख ३६९७ नम्बरको बसको ठक्करबाट कक्षा ३ मा अध्ययनरत सागर चौधरीको घटनास्थलमै मृत्यु भयो । विद्यालय क्षेत्रमा भएको यो दुर्घटना बसको अधिक गतिका कारण निम्तिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार यो दुर्घटना तीब्र गतिका कारण भएको हो । प्रहरीका अनुसार घोराहीसम्म आउँदै गरेको उक्त बस यात्रु खोस्नका लागि तीब्र गतिमा थियो । त्यो बसभन्दा अगाडि अर्को बस थियो । अगाडिको बसलाई उछिनेर यात्रु चढाउनका लागि पछाडिको बसका चालकले बसको गति बढाए तर तीब्र गतिमा रहेको बसले विद्यार्थीलाई ठक्कर दिन पुग्यो । ‘अगाडि रहेको बसलाई उछिनेर यात्रुहरु खोस्नका लागि चालकले बसको गती बढाए’, डिएसपी मल्लले भने, ‘तर सडकमा हिँडिरहेका विद्यार्थीलाई बसले ठक्कर दिन पुग्यो ।’

यो घटना मात्रै होइन । जिल्लामा हुने अधिकांश बस दुर्घटनाको कारण भनेकै यात्रु खोसाखोस गर्ने होड हो । विशेष गरी स्थानीय रुटमा चल्ने यात्रुवाहक बसको यो प्रतिस्पर्धाले यात्रुसँगै पैदल यात्रुहरूलाई ज्यानको जोखिममा पारिरहेका हुन्छन् । ‘जिल्लाको दुर्घटनाको अवस्था हेर्ने हो भने यात्रु कसरी चाँडै चढाउने भन्ने प्रतिस्पर्धाका कारण हो’, डिएसपी मल्लले भने, ‘यात्रु चढाउने होडका कारण ओभरटेक गर्ने प्रतिस्पर्धा चल्छ अनि तीब्र गतिका कारण दुर्घटना भइरहेका छन् ।’

स्थानीय रुटमा चल्ने सवारी साधन पालैपालो छुट्ने गरी ‘क्यू सिस्टम’ लागु गरिएको छ तर अगाडि छुटेकोभन्दा पछि छुटेको बस यात्रु खोस्न तीब्र गतिमा कुदेर ओभरटेक गर्ने प्रवृत्ति जिल्लामा अधिक देखिन्छ । ‘क्यू सिस्टम त छ तर बस छुटेपछि बाटोमा ओभरटेक गरेर यात्रु खोस्ने प्रवृत्ति अधिक छ’, डिएसपी मल्लले भने, ‘यसको नियमन अधिक जरुरी छ ।’ त्यसो त सडकमा सवारी साधनको चाप बढिरहेको छ तर सडकको चौडाइ भने बढेको छैन । यिनै साँघुरा सडकमा कुद्ने सवारी साधनको तीब्र गति दुर्घटनाको अधिक जोखिम बनिरहेको प्रहरी बताउँछ ।

गति नियन्त्रन नै दुर्घटना न्यूनीकरणको प्रमुख उपाय रहेको भन्दै जिल्लामा ‘टाइमकार्ड’ लागु गर्ने निर्णय समेत भएको छ । टाइमकार्ड लागु भएपछि गति नियन्त्रण हुने र दुर्घटना न्यूनीकरण हुने प्रहरीको आँकलन छ । टाइमकार्ड लागु गर्ने निर्णय भए पनि यसको कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार टाइमकार्ड लागु गर्नका लागि खाका बनेको र यो खाकाको विषयमा यातायात व्यवसायीसँग छलफल गरेर यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । ‘टाइमकार्ड कसरी लागु गर्ने भनेर सामान्य खाका बनाएका छौँ’, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक किरण मल्लले भने, ‘अब यातायात व्यवसायीहरूसँग बसेर यसलाई अन्तिम रूप दिने छौँ ।’ उनका अनुसार यातायातका साधनको अधिक्तम गति अनि चेकजाँचको प्रबन्ध कसरी मिलाउने भन्ने सम्बन्धमा अन्तिम निर्णय हुन बाँकी रहेको र यो टुङ्गिएलगत्तै टाइमकार्ड लागु हुने उनले बताए ।