शिक्षक महासंघको अध्यक्षमा बस्नेत

गोरक्ष समाचारदाता
दाङ, ५ माघ । शिक्षक महासंघ दाङको अध्यक्षमा युवराज बस्नेत चयन भएका छन् । शिक्षक महासंघ दाङको रिक्त रहेको अध्यक्ष पदमा बस्नेत चयन भएका हुन् ।

बस्नेतलाइ नेपाल शिक्षक संघ दाङ जिल्लाको पूर्ण बैठकले अध्यक्षमा सर्वसम्मतिले सिफारिस गरेको शिक्षक संघका जिल्ला अध्यक्ष प्रकाश डाँगीले जानकारी दिए । बस्नेत शिक्षक संघका निवर्तमान अध्यक्ष हुन् । महासंघका अध्यक्ष अमरबहादुर खड्कको उमेरहदका कारण अनिवार्य अवकास भएपछि अध्यक्ष पद खाली भएको थियो । विधानसम्मत शिक्षक महासंघको अध्यक्षको भाग नेपाल शिक्षक संघलाई रहेको छ ।

यसैबिच शिक्षक संघको बैठकले सल्लाहकार चयन गरेको छ । जसमा पूर्व बरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद न्यौपाने, निवर्तमान सङ्घीय उपाध्यक्ष अमरबहादुर खड्का, लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष अर्जुनकुमार योगी, निवर्तमान जिल्ला अध्यक्ष युवराज बस्नेत, देवा पौडेल, बसन्तराज घिमिरे, जितबहादुर थापा रहेका छन् ।

यसैगरी बैठकले माघ २० भित्र स्थानीय पालिकाका प्रतिनिधि सभा सम्पन्न गर्ने र माघ २७ गते जिल्ला प्रतिनिधि सभा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले माघ १३ गते महिला शिक्षकका लागि महिला सशक्तिकरण तथा आइसिटी तालिम घोराहीमा आयोजना गर्ने भएको छ । बैठक संघका जिल्ला अध्यक्ष प्रकाश डाँगीको अध्यक्षतामा बसेको थियो । बैठकको सहजीकरण सचिव सूर्यबहादुर बस्नेतले गरेका थिए ।