भुवन पोख्रेल
श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाह शाहवंशीय राजा थिए । स–साना राज्यहरुमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै सिंगो नेपाल निर्माण गर्ने आधुनिक नेपालको राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाहलाई चिनिन्छ । उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । तत्कालिन गोर्खा राज्यमा वि.स. १७७९ पुष २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने । साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाडौँ उपत्यका तीन राज्यका साथै थुप्रै बाइसे र चौबिसे राज्यलाई एकीकरण गरेका थिए । उनको मृत्यु ५२ वर्षको उमेरमा वि.स. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भयो ।
पृथ्वीनारायण शाहले पहिलो विवाह मवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग भएको थियो । उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो । नरेन्द्रलक्ष्मीको कोखबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरु गरी र कयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ जात ३६ वर्णको साझा फूलबारीको सृष्टि गरेका थिए । पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रुपमा इतिहासकारहरुले हेरेका छन् । तत्कालिन बाइसे र चौबिसे राज्यहरु, उपत्यकाका विभाजित मल्ल राज्यहरु, पूर्वका किरात र लिम्बुवान क्षेत्रहरु सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो । जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए ।
वि.स. १८१४ मा पृथ्वीनारायण शाहले किर्तिपुरमा आक्रमण गरेका थिए । यसमा गोरर्खाकोतर्फबाट १२०० सैनिक थिए तर किर्तिपुरले काठमाडौँ, ललितपुर र भक्तपुरका सैनिक समेत सहयोग मागेकाले किर्तिपुरतर्फ ३०० जति सैनिक थिए । यी दुई पक्षबिच बल्रक खोलमा ६ घण्टासम्म लडाई हुँदा धेरै गोर्खालीले वीरगति प्राप्त गरेका थिए । किर्तिपुरको कब्जामा परेका पृथ्वीनारायण शाह राजा वध गर्न नहुने नैतिक नियमका कारणले मात्र यहाँ बचेका थिए । किर्तिपुरको पहिलो युद्धमा वीरगति प्राप्त गरेका काजी कालु पाण्डेका ठाउँमा उनको छोरा वंशराज पाण्डेलाई र सेनापति पदमा शिवरामसिंश बस्न्यातका छोरा, केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनः गठन गर्ने अभिभारा सुम्पिएका थिए । वि.स. १८१९ को भदौ महिनामा वंशराज पाण्डे र केहरसिंहले संगठन गरेको सैनिक साथै, दलमर्दन शाह, शुरप्रताप शाह, दलजित शाहका साथ पठाएको ठूलो संख्यामा मकवानपुरमाथि आक्रमण गरेका थिए । यहाँ १० घण्टासम्म लडाई चलेको थियो र अन्ततः दिवन्धन सेनले आत्मसमर्पण गरेका थिए ।
वि.स. १८२१ को भदौ महिनामा किर्तिपुरमाथि दोस्रो आक्रमण भएको थियो । यस युद्धमा पनि किर्तिपुरलाई पहिले जस्तै उपत्यकाबाट सैनिक सहयोग प्राप्त नभए पनि किर्तिपुरका जनताले गोर्खाली सैनिकलाई गापुर किल्ला तोडी किर्तिपुरमा प्रवेश गर्ने मौका नै दिएनन् । यस युद्धमा किर्तिपुरद्वारा निशाना लगाइएको तिरबाट शुरप्रतापको आँखा फुट्नको साथै अन्य केही फौज फर्कन बाध्य भएका थिए । किर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाण्डेले लिएका थिए । उनले चारैतिरबाट गोपुर किल्लालाई घेरी खेतालाका रुपमा केही सैनिक किर्तिपुर पठाएका थिए । त्यस बखत किर्तिपुरमा धान भित्र्याउने समय परेकाले वंशराज किर्तिपुरहरुलाई आत्मसमर्पण गर्न भनेका थिए । यो युद्धमा किर्तिपुरलाई छिमेकि राज्यहरुबाट सैनिक सहयोग भएको थिएन । वि.स. १८२२ चैत ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसमर्पण गरेका थिए ।
किर्तिपुर गोर्खाको कब्जामा पर्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरुसँग बैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए तर ललितपुर र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाले र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अंग्रेजसँग सैनिक र हात हतियारको सहयोग मागेका थिए । राजा जयप्रकाश मल्ललाई सहयोग वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुँदै काठमाडौँतिर बढेको थियो । यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई पहिले नै थाहा भएकाले सिन्धुलीगढीको रक्षार्थ विरभद्र पाण्डे र विरभद्र उपाध्यायको अघि बढी पौवागढीमा आक्रमण गरेकाले सारा अंग्रेज फौज आफूसँग रहेका हात हतियार र बन्दुहरु छाडी आफ्नो प्राण बचाउन जंगलतर्फ भागाभाग गरेका थिए ।
पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतर्फबाट घेरी नाकाबन्दी गरेकोले उपत्यकामा चरम आर्थिक संकट छाएको थियो । यही मौका छोपेर वि.स. १८२५ मा पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेका थिए । वि.स. १८२५ मै ललितपुरमाथि आक्रमण गरी विजय प्राप्त गरेको थिए । वि.स. १८२६ मा भक्तपुरमाथि विजय प्राप्त गरेका थिए ।
त्यतिबेला दक्षिणतर्फको भारतमा इष्ट इण्डिया कम्पनीले शासन गरेको थियो । उक्त कम्पनीले बेलायती उपनिवेश स्थापना गर्ने क्रममा भारतका टुक्रे राज्यहरुलाई एकीकरण गर्दै शासन गरिरहेका थियो । जब पृथ्वीनारायण शाहले नुवाकोटबाट नेपाल एकीकरण गर्न सुरु गरे त्यसबेला दक्षिणको अंग्रेजको आँखा नेपालतर्फ परिसकेको थिएन । पृथ्वीनारायण शाह त्यसप्रति सचेत थिए । उनले नेपाललाई दुई ढुंगबिचको तरुल भनी नेपाललाई स्वतन्त्र राज्यका रुपमा जोगाइ राख्न कठिन छ भन्ने उनलाई थाहा थियो । पृथ्वीनारायण शाह कहिले हार नखाने र नयाँ–नयाँ योजना बनाएर आफ्नो कार्य सफल पार्ने व्यक्तित्व हुन् भन्ने बुझिन्छ । उपत्यका विजयपछि पश्चिमतिरका केही राज्य विजय थाले । पृथ्वीनारायण शाह बिरामी परेपछि आफ्नो अन्तिम समयतिर आफ्ना भाइभारदार राखेर केही अर्ति उपदेशहरु दिएका थिए । जसलाई दिव्यो उपदेश भनिन्छ ।
दिव्यो उपदेश अहिले पनि सान्दर्भिक छन् । मेरा सानो दुःखले आर्जिएको मुलुक होइन चार जात छत्तिसवर्णको साझा फूलबारी हो सबैलाई चेतना भया । ‘प्रजा मोटा भए दरबार बलियो रहन्छ ।’ भनेर पृथ्वीनारायण शाहले आर्थिक समृद्धिका बारेमा पनि धेरै कुरा व्यक्त गरेका थिए । मुलुक गरिब भयो भने सुरक्षित रहन सक्दैन भन्ने उनको मान्यता रहेको थियो । सरकारले कर उठाउनका लागि कसैलाई ठेक्का नदिइकन आफैले उक्त कार्य गर्नुपर्छ भन्ने उनको धारणा रहेको थियो । तत्कालिन समयमा उनले पूर्व र पश्चिमको बाटोहरु बन्द गर्दै काठमाडौँ उपत्यकासम्मको बाटो खुलाउने इच्छा राखेका थिए । पृथ्वीनारायण शाहले स्थानीय उत्पादनलाई जोड दिएका थिए । उनको कृति दिव्योपदेशमा उनले विदेशी व्यापारीहरु नेपाल प्रवेश गरे भने यसलाई मरुभूमि बनाएर छोड्ने धारणामा रहेका थिए ।
यस्तै सन्दर्भमा उनले विदेशी कपडा लगाउनलाई बहिष्कार गर्ने सल्लाह दिएका थिए । स्थानीय मानिसलाई कपडा बुन्न प्रशिक्षण समेत दिएका थिए । स्थानीय सम्पत्ति देशबाट बाहिर जान नहुने उनको विश्वास रहेको थियो । उनले नेपाली जडिबुटीलाई विदेशी भूमिमा बेच्न र यसबाट प्राप्त सम्पत्तिलाई देशमा फिर्ता ल्याउन प्रोत्साहित गरेका थिए । उनी पैसा देशभित्र मात्र रहेको हेर्न चाहन्थे ।
पृथ्वीनारायण शाहको आर्थिक नीतिका साथै रक्षा नीति, धार्मिक नीति पनि महत्वपूर्ण मानिन्छन् । ‘घुस दिन्या र घुस लिन्या देशका शत्रु हुन्, यिनलाई देश निकाला गरे पनि हुन्छ ।’ भन्ने उनको उपदेशको वर्तमान हाम्रो मुलुकमा ठूलाबडाहरुले भ्रष्टाचारको दलदलमा फसेर खिल्ली उडाई रहेका छन् । ‘दक्षिणको छिमेकि निकै धूर्त छ, उसले कुनैबेला घात गर्न सक्छ उसबाट सधै बच्नु ।’ ‘टक्सार चोखो चलाउनु, अदालतको पैसा दरबारमा नहाल्नु ।’ आदि जस्ता उनका दिव्य उपदेशहरु वर्तमान नेपालको राजनीतिक, सामाजिक, आर्थिक र बाह्य कुटनीतिक परिवेश झल्लेको पाइन्छ ।
नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको जग बसाल्ने वडा महाराजाधराज पृथ्वीनारायण शाहले आफूले बाल्यकालमा शिक्षाआर्जन गर्न नपाए पनि उनको दरबारमा विद्धानहरुको ठूलो सम्मान थियो । देश भक्तिमा चुर्लुम्मै डुबेका पृथ्वीनारायण शाह, साहसी, चतुर संगठनकर्ता र कर्मठ सेनापति पनि थिए । ‘जाहिकटक नगर्नु, झिकी कटक गर्नु’ जस्ता अर्तिले देशका नागरिकलाई स्वालम्बी, उद्यमशील र नेपालीपन छोड्नु हुन्न भन्ने शिक्षा वर्तमान अवस्थामा पनि प्रदान गर्दछ । ३१ वर्षसम्म उनले राष्ट्रका लागि गरेको एकीकरण अभियान, नेपाली बहादुरी र साहसीपनको उचाई इतिहासमा जीवन्त रहने छ । उनी शाहवंशका उज्याला नक्षत्र थिए । उनले राष्ट्रको अस्तित्व सार्वभौमिकता, अखण्डता बचाउन धेरै भूमिका खेले ।
संघर्षमा र लडाई झैझगडामा नै उनकी जिन्दगी व्यतित भयो । नेपाल राष्टहरु निर्माणमा पृथ्वीनारायण शाहलाई नेपाली जनजनले युगयुगान्तर सम्झिरहने छ । उनी शक्तिशाली र दुरदर्शी राजा थिए । पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिक मानेर पौष २७ गते राष्ट्रिय एकता दिवस मनाइन्छ । उनको मृत्यु पछि पनि नेपाल एकीकरणको अभियान रोकिएन । उनको अभियानलाई छोरा प्रताप शाह, बुहारी रानी राजेन्द्रलक्ष्मी, छोरा बहादुर शाहलगायतले अघि बढाए ।
नेपाल एकीकरणको काम समाप्त भएपछि नेपालमो दरबार षड्यन्त्रको भूमरीमा फस्न गयो । सीमा र विकासमा केन्द्रित हुनुपर्ने दरबार आन्तरिक कलह र सत्ता हत्याउने दाउपेचमा फसेपछि नेपालको सेना तथा राज्य सत्ता कमजोर हुन थाल्यो । आफ्नो शक्ति जोगाउनका लागि अंग्रेजको सहयोगको अपेक्षा गर्ने भारदारहरुका कारण अरु अंग्रेजले पनि नेपालको राजनीतिमा चासो राख्न थाले । नेपालको खपार जलस्रोत र हावापानी देखेर अंग्रेज पनि लोभिएको थियो । कुनै निहुँ झिकेर नेपालमाथि आक्रमण गर्न चाहन्थ्यो । अवध राज्यलाई अंग्रेजले नियन्त्रणमा लिएपछि बुटवल र स्युराज पनि आफ्नो दावी ग¥यो तर नेपालले असहमत जनाएकाले वि.स. १०७१ मा नेपाल अंग्रेज युद्ध भयो । यस युद्धमा अमरसिंह थापा, भक्ति थापा बलभद्र कुँवरले बहादुरी साथ लडाई लडे । नेपालको अंग्रेज सेनातर्फ ठूलो क्षति पु¥यो तर जित्न सकेन । नेपालले अंग्रेजको ठूलो शैन्य शक्तिका साथ नेपालमाथि आक्रमण गरेकाले नेपालको सबै भूमि गुमाउनुभन्दा केही भाग गुमाएर भए पनि नेपाल जोगाउनु उचित ठानेर सन्धीको प्रस्ताव पठायो । अंग्रेजले राखेका सर्तहरु मानेर सुगौली भन्ने ठाउँमा सन्धी भयो, जसलाई अहिले सुगौली सन्धी भनिन्छ । यो सन्धीमा नेपालले एकतिहाई भू–भाग गुमाउनु प¥यो ।
बहादुर शाहको आफ्नो नौ वर्षको नायवी कलामा नेपालको सिमाना कुमाउँ गढवासम्म पु¥याए । पश्चिमी विजय अभियानाको नेतृत्व अमरसिंह थापाले गरिरहेका थिए । त्यति नै बेला तिब्बतसँग युद्ध सुरु भएकाले अमसिंहलाई बोलाइयो उनी काठमाडौँ आएर तिब्बती युद्धमा होमिए । तिब्बतलाई चिनको सहयोग थियो । उक्त युद्धमा नेपाली सेनाले ठूलो बहादुरी प्रर्दशन गरे । अन्तमा बेत्रावती नदीमा सन्धी भयो । नेपालको सिमाना पूर्वमा टिस्टा नदीदेखि पश्चिममा सतलज नदीसम्म पुगेपछि नेपालको एकीकरण अभियान टुंगियो । सुगौली सन्धी पछि नेपालको सिमाना पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सीमित बन्न पुगेको हो ।
कुनै पनि व्यक्ति निश्चित उमेरसम्म बाच्छ । उमेर पुगेपछि ऊ मर्छ । उसले गर्न सक्ने योगदान जति हो त्यति मात्रै गर्न सक्छ । आफ्नो ५२ वर्षकै उमेरमा मृत्युवरण गरेका पृथ्वीनारायण शाहले नेपालको आजसम्मको इतिहासमा सबैभन्दा माथिल्लो उचाई कायम राखेका छन् । पृथ्वीनारायण शाहले राष्ट्रको निर्माण मात्र गरेनन् कि सामराज्यवादका विरुद्ध लड्न सक्ने तागत नेपालसँग पनि छ भन्ने सन्देश ब्रिटिशहरुलाई दिए । यदि उनले एकीकरण अभियान नथालेको भए नेपाललाई ब्रिटिशहरुले उपनिवेश बनाउने थिए ।
पृथ्वीनारायण गोर्खाका राजा नरभूपाल शाहका छोरा भएकाले २०÷२२ वर्षे उमेरमा दरबारीया मोजमस्ती र विलासपूर्ण जीवनमा रमाउन सक्थे र त्यसो नगरी महान सपना बोकेर त्यो सपनालाई साकार पार्न सधै जसो लडाइको मैदानमा उत्रिए । उनी आफ्नो व्यक्तिगत स्वार्थ र ऐशोआराममा भुलेका भए अहिले नेपाल र हामी नेपाली भनी गर्व गर्न सकिँदनथ्यो । आधुनिक नेपालको निर्माण गरेका कारण पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता पनि भनिन्छ । उनी शक्तिशाली राजा बन्न मात्र राजा थिएनन् । उनी शासन व्यवस्थामा जनचाहनाको पनि कदुर गर्दथे । यसको उदाहरणका रुपमा कालु पाण्डेको नियुक्तिलाई लिन सकिन्छ ।
उनी विराज बखेतीलाई मूल काजी बनाउन चाहन्थे तर जनभावना कालु पाण्डेतर्फ हुनाले कालु पाण्डेलाई नै मूल काजी बनाएका थिए । पृथ्वीनारायण शाहले मायामोहमा लागेर भाइ–भाइमा राज्य बाँडेका भए नेपाल राज्य टुक्रिने थियो । भाइहरुबिच राज्यको अंश नलगाउने उनको कार्य अत्यन्त राम्रो र दुरदर्शी थियो, राज्य टुक्रिएन र हामीले सिंगो नेपाल पायौँ । उनले राष्ट्रको अस्तित्व, सार्वभौमिकता, अखण्डता बचाउन धेरै भूमिकार संघर्षपूर्ण जीवन व्यक्तित्व गरेकाले पृथ्वीनारायण शाह इतिहासकै शक्तिशाली र दुरदर्शी राजा मानिन्छन् ।