शिवराज खनाल
देउखुरी,२६ पुस । दाङको राजपुर गाउँपालिकामा पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने मुलनाराका साथ पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको हो ।
राजपुर गाउँपालिका अध्यक्ष प्रमुख शरदकुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जानकीलाल बस्नेतले प्रतियोगिताको उद्घाटन गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जानकीलाल बस्नेतले शिक्षा अक्षरबाट मात्रै आर्जन नभई अतिरिक्त क्रियाकलापबाट पनि आर्जन हुने भएकाले खेलकुदका कार्यक्रमहरुलाई हरेक विद्यालयले अघि बढाउनुपर्ने बताएका थिए । पढाईसँगै खेलकुदमा राम्रो गर्न सक्ने विद्यार्थीहरुको राम्रो भविष्य रहेको भन्दै त्यसका लागि विद्यालयले खेलकुद कार्यक्रमहरु गरेर प्रतिभालाई उजागर गर्ने बातावरण निर्माण गर्नुपर्ने बताएका थिए ।
राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको चर्चा गर्दै राजपुरका विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी जन्माउने उद्देश्यले खेलकुदको विकासमा लागिरहेको बताए । उनले खेलकुदका गतिविधिहरुसँगै खेल पूर्वाधार निर्माणलाई समेत पालिकाले अघि बढाउँदै गइरहेको बताए ।
कार्यक्रममा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले खेलकुदको विकास गर्दै विद्यार्थीहरुको प्रतिभा उजागर गर्नका लागि पालिकाले ध्यान दिइरहेको बताइन । स्वास्थ्यसँगै अनुसाशनसँग समेत खेल जोडिने भएकाले हरेक विद्यार्थीकालागि खेल आवश्यक रहेको बताइन ।
प्रतियोगिताको उद्घाटन सत्रमा वडा अध्यक्षलगायतका जनप्रतिनिधि, स्थानीय अभिभावक, खेलप्रेमी, शिक्षक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । यही पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाभरीका १० वटा विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने खेल प्रशिक्षक केशब श्रेष्ठले जानकारी दिएका छन् । पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम द्धितिय र तृतीय हुने विद्यालयहरुलाई शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताबाट छनोट भएका विद्यालयहरुलाई १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् । वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुरेश यादबले गरेका थिए ।
यसअघि जिल्लाको घोराही उपमहानगर पालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भैसकेको छ । दाङ जिल्ला खेलकुद विकास समितिले माघको १० गतेसम्म स्थानीय तहहरुलाई पालिकास्तरीय प्रतियोगिता सम्पन्न भने अनुसार पछिल्लो समय जिल्लाका विभिन्न पालिकाहरुमा कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तह स्तरीय प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरीय रनिङ शिल्ड सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति दाङले बताएको छ ।