गोरक्ष समाचारदाता
दाङ, २० पुस । लुम्बिनी प्रदेश सभाका संसदीय समितिको नेतृत्व चयनको प्रक्रिया अनिश्चित बनेको छ । पुस १७ गतेका लागि संसदीय समितिको नेतृत्व चयनका लागि चुनाव तोकिएको भए पनि प्रदेश सभाले उक्त चुनाव स्थगित गरेको थियो ।
स्थगित भएको चुनाव कहिले हुने भन्ने टुङ्गो भने लागेको छैन । साना दलले समितिको नेतृत्व दाबी गरेपछि रोकिएको चुनाव पुनः आह्वानका लागि छलफल समेत प्रारम्भ भएको छैन । ‘अहिलेसम्म साना दलसँग कुनै छलफल भएको छैन’, सानो दल नागरिक उन्मुक्ति पार्टीका एक नेताले भने, ‘छलफलसमेत प्रारम्भ नभएकाले संसदीय समितिको चुनाव अनिश्चित नै छ ।’
सरकारमा रहेका साना दलले आफूहरूलाई ४ वटा विषयगत समितिको नेतृत्व दिइनु पर्ने माग गरेका छन् तर साना दलको यो मागमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसम्ग संवाद प्रारम्भ भने हुन नसकेको ती नेताले बताए । चारवटा विषयगत समितिको नेतृत्व साना दलका लागि छुट्याउनु पर्ने अन्यथा आफूहरू सहमत नहुने अडानमा साना दल छन् । ‘साना दललाई चारवटा समितिको नेतृत्व दिइनु पर्छ भन्ने हामी सरकारमा रहेका साना दलको सामूहिक माग हो’, ती नेताले भने, ‘यदि यसो गरिएन भने सहमति बन्ने अवस्था रहन्न ।’
मुख्यमन्त्री चौधरी र साना दलबिच यस विषयमा शुक्रवार संवादको तयारी थालिएको छ । शुक्रवार साना दलका मागको विषयमा छलफल गरिने र उचित निकास निकाल्ने योजनामा आफू रहेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । ‘मुख्यमन्त्रीज्यू बाहिर भएकाले यो विषयमा कुराकानी हुन पाएको छैन’, मन्त्री पाण्डेले भने, ‘शुक्रवार उहाँ आएपछि यो विषयमा गहन तरिकाले छलफल गर्छौँ र निकास निकाल्छौँ ।’ उनले छलफलबाट निकास निकाल्ना साथ संसदीय समितिको नेतृत्वका लागि चुनाव तय हुने बताए ।
‘अहिले अड्किएको विषय भनेको साना दलका माग हो’, मन्त्री पाण्डेले भने, ‘साना दलका मागको सन्दर्भमा निकास निस्कियो भने तत्कालै संसदीय समितिका नेतृत्व चयनका लागि चुनाव हुन्छ ।’ लुम्बिनी प्रदेश सभामा ६ वटा विषयगत समिति छन् । यीमध्ये एमालेलाई २, कांग्रेसलाई २, माओवादीलाई एक र राष्ट्रिय जनमोर्चालाई एउटा समितिको नेतृत्व दिने गरी दलहरूले मोटामोटी सहमति गरेका थिए । सोही अनुसार संसदीय समितिको नेतृत्व चयनका लागि चुनाव तय भएको थियो तर साना दलले चारवटा समितिमा दाबी प्रस्तुत गरेपछि पुरानो सहमति कार्यान्वयन हुने अवस्था देखिएन । फलतः सरकारको आग्रहमा प्रदेश सभाले चुनाव स्थगित गरेको थियो ।