घोराही, १९ पुस । बंगलाचुली गाउँपालिकाका स्थानीयवासीले एम्बुलेन्स चालकलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
बंगलाचुली गाउँपालिकाद्वारा संचालित रा १ झ १३२ नम्बरको एम्बुलेन्स चालकको गैरजिम्मेवारीपनका कारण पटक–पटक स्थानीयले दुःख पाउने गरेको भन्दै स्थानीयले चालकलाई कारवाहीको माग गर्दै एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक र बंगलाुचली स्वास्थ्य शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन ।
स्थानीय बिक्रम डाँगी र मिनराज पुलामीले बिहीवार एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक डोमबहादुर खत्री र बंगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेवबहादुर केसीलाई भेटेर कारवाहीको मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा एम्बुलेन्स चालकको गैरजिम्मेवारीका कारण यहि १३ गतेका दिन बंगलाचुली गाउँपालिका–४ फाँटागाउँबाट साँझको ७ बजेको समयमा फोन गरेर बोलाउँदा रातको समयमा आउन नसक्ने बताएको र त्यसपछि घोराहीबाट एम्बुलेन्स बोलाउन बाध्य भएको स्थानीय बिक्रम डाँगीले बताएका छन् ।
एम्बुलेन्स जस्तो संबेदनसिल साधन २४सै घण्टा सेवामा हुनुपर्ने भएपनि चालकको लापरवाहीका कारण बंगलाचुली गाउँपालिकाबासीले सेवा लिनबाट बञ्चित हुने अवस्था भएको बताए । उनले एक पटक मात्रै नभएर एम्बुलेन्स चालकबाट पटक–पटक यस्ता घट्नाहरु हुने भएकाले सत्यतथ्य छानविन गरेर कारवाही गर्न माग गरेका छन् ।