सार्वजनिक यातायातमा बेथिति

खेमराज रिजाल
दुधरास, १९ पुस । त्यो दिन, अर्थात गत आइतवार हामी कार्यालय घोराहीबाट करिब साढेतीन बजे मोटरसाइकलमा तुलसीपुर जाँदै थियौँ । सहकर्मी गोविन्दको मोटरसाइकलकोे पछि बसेको थिएँ, म । जब हामी दुधरास चोक नजिक पुग्दै थियौँ, नजिकैको जनकल्याण मावि दुधरास स्कुलको गेटबाट उत्तरतर्फ एउटा बस रोकिएको थियो ।

हामी टक्क रोकियौँ । यात्रुवाहक सो बसबाट यात्रु हस्याङफस्याङ गर्दै झरिरहेका थिए तर बसमा सवारीचालक थिएनन् । हामी गाडी नजिक पुग्दा यात्रुले यो गाडीले स्कुलेबच्चा किच्यो भनेर हारगुहार गरिरहेका थिए । सवा ४ बजेको थियो, भर्खरै स्कुल बिदा भएकाले शिक्षक विद्यार्थी विद्यालयबाट बाहिरिने क्रम सुरु हुँदै थियो । हामीले गाडीको अघिलतिरको टायरनेर नियाल्यौँ । टायरले बच्चाको टाउको छोपेको थियो । घोप्टिएर हे¥यौँ, बच्चाको हलचल थिएन । स्कुलका शिक्षक गोविन्द, म र केही जम्मा भएका व्यक्तिले बसलाई धकेलेर व्याक गरायौँ । बच्चाको निधन भइसकेको रहेछ । त्यसको केही मिनेटपछि मात्रै ५० मिटर नजिकको विटबाट सुरक्षाकर्मी त्यहाँ पुगेका थिए । प्रहरी पुग्दा त्यो विभत्स दुर्घटनाको आक्रोशमा स्कुले विद्यार्थी र स्थानीयले चक्का जाम सुरु गरिहाले ।

विद्यालय क्षेत्र दुर्घटनाको संवेदनशील क्षेत्र हो । त्यसमा पनि सडकमा निर्माण भएको कल्भर्टमा दुईतर्फी बस क्रस हुने अवस्था थिएन तर दुर्भाग्य ती बालकले सवारी चालकको ओभरटेकको सो नियतिबाट छुटकारा पाउन सकेनन् । दुःखद् मात्र होइन, अकल्पनीय निधन भयो उनको । उनले कुममा बोकेका पाठ्यपुस्तक छातिमा च्यापेका थिए । शिक्षाको सुनौलो भविष्य बोकेर सामुदायिक विद्यालयमा ३ कक्षा अध्ययन गर्दै गरेका सागरको आशा बिलिन भयो ।

‘त्यो घटना स्वाभाविक दुर्घटना थिएन, स्कुल एरिया, त्यसमा पनि साँघुरो कल्भर्टमा ओभरटेकको होडमा भएको थियो’, सो बसबाट ओर्लेकी एकजना महिला यात्रुले भनिन्, ‘सार्वजनिक यातायातमा पछिल्लो समय अस्वाभाविक बेथिति भएको छ ।’ एउटा सुनौलो भविष्य बोकेर विद्यालयबाट फर्कने विद्यार्थीको निधन, सामान्य दुर्घटना थिएन । त्यसैले होला दुधरास, त्यसपछि करिब ७ घण्टा तनावपूर्ण बन्यो । सडकमै रोकिएको बालक किच्ने सो बसका सिसा तोडफोड भए । बसमा भिडले पटक–पटक आगजनीको प्रयास पनि ग¥यो ।

सुरक्षाकर्मीले मुचुल्का नउठाइ लास उठाएको भन्दै प्रहरी भ्यानको अघिलतिरको सिसा पनि आक्रोशित भिडले फुटाइदिए । वार्तामा तुलसीपुरका उपमेयर जानु प¥यो, वडाध्यक्ष पुग्नु प¥यो, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख पुग्नु प¥यो । वार्ता स्थलमा पनि नाराबाजी मात्र भएन, ढुङ्गा पनि प्रहार गर्ने प्रयास गरिए । सात घण्टा लामो छलफलपछि १० लाख क्षतिपूर्ति दिने सहमतिपछि राति १२ बजे मात्र घोराही—तुलसीपुर सडक खुलेको थियो ।

मुलुकले सार्वजनिक यातायातमा देखिएको सिन्डीकेट तोड्न भन्दै केही वर्ष अघि यातायात व्यवसायीलाई प्रालिमा दर्ता हुन आह्वान ग¥यो । यही सरकारी निर्णयमा यहाँ धेरै प्रालि खुले । त्यसपछि सुरु भयो, सार्वजनिक यातायातमा बेथितिको क्रम । आफू अनुकूल गुड्न थाले यातायात व्यवसायी । यात्रुको चाहनाको कुनै प्रवाह हुन छाड्यो । यात्रु तानातानको अवस्था सिर्जना भयो । यात्रु एउटा बसमा झोला अर्को बसमा हुने अवस्था सिर्जना भयो ।

सँगै यात्रा गरौँला भनेका श्रीमान् श्रीमती पनि व्यवसायीको तानातानमा श्रीमान एउटा बसमा र श्रीमती अर्को बसमा पुग्ने अवस्था पनि बसपार्कमै सिर्जना भयो । यसलाई व्यवस्थापन गर्न यातायात व्यवसायीका प्रालिले कुनै बेला सिङ्गल डायलमा चल्ने परिपाटी पनि बनाए तर त्यो परिपाटी टिक्न सकेन । अहिले सार्वजनिक यातायातलाई लगाम लगाउने कुनै स्वतन्त्र न्यायिक निकाय छैन । यही कारण असुरक्षित बन्दै छ, सार्वजनिक स्थानीय यातायात ।

यो यथार्थ हो, बुटवलबाट तुलसीपुरका लागि छुटेका बसले यात्रुलाई घोराहीमै झारिदिन्छन्, तुलसीपुर पुग्दैनन् । गाडीको स्पीडको कुनै मान्यता छैन । कहिले कछुवाको गतिमा हुन्छन् त कहिले खरायोको गतिमा, सार्वजनिक यातायात । जहिल्यै तछाडमछाडको अवस्थामा हुइकिन्छन् । सवारी चलाउने जोसुकै चालकको कानमा मोबाइल झुन्डिरहेको हुन्छ । एउटा हातले स्टेरिङ, अर्को आतले मोबाइल चलाइरहेका हुन्छन् । सायद सार्वजनिक वा निजी कुनै पनि सवारी चालकले अन्य मुलुकमा मोबाइल चलाउँदै यातायात चलाउने अनुमति छैन तर यहाँका सार्वजनिक बस चालकले सधैँ पछिल्लो बसलाई मोबाइलमा भनिरहेका हुन्छन्, टाइम ग्याप मिला वा अर्कोलाई ओभरटेक गर ।

हो, अधिकांश दुर्घटना ओभरटेककै कारण हुन्छन् । किनकि ओभरटेक नियन्त्रण गर्न टाइमकार्डले पनि कुनै अर्थ राख्दैन । घोराही–तुलसीपुर स्थानीय बसमा सायद यात्रा गर्नुभएको छ भने नारायणपुर आउँदा तपाईँले पाउनुहुने छ, सवारी चालक नै गाडीबाट ओर्लिएर सडकमा आउने छन् । मानौँ त्यो बस खाना÷खाजा खानका लागि रोकिएको हो । बस–स्टप यात्रु चढ्न र ओर्लनका लागि हो तर यहाँ त्यस्तो नियम छैन । मनलागी रोक्ने र अस्वाभाविक गतिमा कुदाउने । यो क्रमलाई कसले व्यवस्थापन गर्ने ? यो सार्वजनिक यातायातको चुनौती बनेको छ ।

त्यसो त यातायात सेवालाई अनुगमन र नियमन गर्न राज्यले प्रमुख जिल्ला अधिकारीलाई यातायात व्यवस्थापन समितिको संयोजकको भूमिका दिएको छ । सवारी साधनको स्वास्थ्य परीक्षणका लागि यातायात व्यवस्था कार्यालयलाई अधिकार दिइएको छ । अधिकारकर्मीलाइ पनि यातायात क्षेत्रको अनुगमन र नियमनको दायित्व छ । उपभोक्ता हकहित संरक्षण मञ्चले पनि आफ्ना गतिविधि यस क्षेत्रमा क्रियाशील बनाउन सक्छ । स्थानीय सरकारका उपभोक्ता हकहित संरक्षण शाखाले पनि यो क्षेत्रमा अनुगमन र नियमन गर्न सक्छन् तर पनि सार्वजनिक यातायात अहिले डाइभर ओरियन्टेड भएको छ । नियमनकारी निकायको मौनताले यो वेतिथिको प्रवृत्ति हाबी हुँदै छ ।