Goraksha

National Daily

फिजियोथेरापीलाई एकीकृत स्वास्थ्यका रूपमा स्थापित गर्नुपर्छ : डा. ठाकुर [अन्तर्वार्ता]

महोत्तरी जिल्लामा घर भएर दाङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा काम गरेको अनुभवसँगै कन्सल्टेन्ट फिजिसियन डा. सुजित ठाकुरले निजी स्वास्थ्य संस्थाहरुमा सेवासँगै आफ्नै स्वामित्वमा घोराहीको विपी चोकमा दिर्घायु फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याएका छन् । करिब ५० लाखको लगानीमा खुलेको उक्त केन्द्रमा अहिले बिरामीको आकर्षण पनि सन्तोषजनक रहेको बताइन्छ ।
अत्याधुनिक मेसिनसहित उक्त केन्द्रमा फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ । नेपाल सरकारको स्वास्थ्य नीतिमा हरेक पन्ध्र वेडका सामुदायिक अस्पतालमा कम्तिमा एक जना फिजियोथेरापिष्ट राख्ने छ तर सामुदायिक अस्पतालहरुमा अझै पनि फिजियोथेरापी सेवा उपलब्ध हुन सकेको छैन । फिजियोथेरापीको आवश्यकता र महत्वका विषयमा केन्द्रित रहेर नेपाल फिजियोथेरापिष्ट एशोसिएशन लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका डा. सुजित ठाकुरसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।
 गोरक्ष सातावार्तामा यहाँलार्ई स्वागत छ ।
 धन्यवाद, तपाई अनि तपाईको लोकप्रिय गोरक्ष रास्ट्रिय दैनिक पत्रिका परिवारलार्ई । मलार्ई मेरो कार्यक्षेत्र फिजियोथेरापीका विषयमा केही कुरा राख्न दिनु भएकोमा ।
 सबैभन्दा पहिले के हो, फिजियोथेरापी ? भन्ने कुरा आम नागरिकलार्ई बताइदिनुस् न ?
 फिजियोथेरापी एक प्रकारको स्वास्थ्य उपचार पद्धति नै हो । बिरामीका समस्या पहिचान गरेर म्यानुअल र मेसिनबाट बिरामीलार्ई यो सेवा उपलब्ध गराइन्छ । यो एउटा अभ्याससँग पनि जोडिएको छ । यसले खासगरी हाडजोर्नी र नसाका बिरामीलार्ई विशेष फाइदा हुन्छ । शल्यक्रिया गरेका बिरामी होउन् वा बालबालिकाको भौतिक बनावटमा समस्या, हाडजोर्नी र नसामा समस्या, पक्षघातका बिरामी तथा सुत्केरी महिला तथा बालबालिकालाई पनि फिजियोथेरापी सेवा आवश्यक हुन्छ । ज्येष्ठ नागरिकलाई दैनिक रूपमा चलाईमान बनाउन पनि यो सेवा नितान्त आवश्यक छ ।
 नेपाल सरकारको स्वास्थ्य नीतिमा हरेक पन्ध्र वेडका सामुदायिक अस्पतालमा कम्तिमा एक जना फिजियोथेरापिस्टबाट सेवा उपलब्ध गराउने भन्ने छ । यो विषयमा तपाई अध्यक्ष भएको संस्थाले के गर्दै छ ?
 हो, फिजियोथेरापी सेवाबिना स्वास्थ्य सेवा पूर्ण हुँदैन । नेपालका स्तरीय स्वास्थ्य संस्थाहरूमा विषयविज्ञ फिजियोथेरापिस्ट पनि छन् । जस्तै अर्थो फिजियोथेरापिस्ट, गाइनो फिजियोथेरापिस्ट, प्याडियाट्रिक फिजियोथेरापिस्ट, न्युरो फिजियोथेरापिस्ट, कार्डियो फिजियोथेरापिस्टलगायतका विज्ञ कन्सल्टेन्ट फिजियोथेरापिस्ट हुन्छन् तर मोफसलका अस्पतालमा फिजियोथेरापी सेवालाई महत्व नदिएको जस्तो लाग्छ ।
त्यसैले हामीले संस्थागत रूपमै स्वास्थ्य मन्त्रालयलाई कम्तिमा १५ बेडका हरेक अस्पतालमा एक जना फिजियोथेरापिस्ट नियुक्त गर्ने र आवश्यक उपकरणको व्यवस्थापन गर्ने सन्दर्भमा लविङ पनि गरिरहेका छौँ । मलाई लाग्छ, अब विस्तारै फिजियोथेरापीको महत्व सरकारले पनि बुझेको छ । सायद केही वर्षभित्र सवै सरकारी अस्पतालमा फिजियोथेरापी सेवा उपलब्ध हुने छ भन्नेमा हामी विश्वश्त छौँ ।
 तपाईले त फिजियोथेरापी सेवामा लामो अनुभव बटुल्नु भएको छ । सरकारी सेवामा पनि आवद्ध हुनु भो, अहिले किन निजी लगानीमा फिजियोथेरापी सेन्टर खोल्नुभो ?
 हामीले अध्ययन गरिरहँदा धेरै उपकरणको प्रयोग र म्यानुअल थेरापीका विषयमा ज्ञान लिएका थियौँ । त्यसैको प्रतिफल मैले तात्कालिन राप्ती उपक्षेत्रीय अस्पताल (हालको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान), मितेरी अस्पताल, कृपा मेडिकलमा काम गरेसँगै अहिले आफ्नै लगानीमा दिर्घायु फिजियोथेरापी सेवा खोलेका छौँ । सरकारी संस्थामा काम छाड्नुको मुख्य कारण त्यहाँ फिजियोथेरापी सेवा उपलब्ध गराउन आधुनिक उपकरणको अभाव पनि हो । यस कारण पनि मैले निजी संस्था खोलेर आधुनिक उपकरण र म्यानुअल प्रविधिबाट फिजियो थेरापी सेवालाई रोजेँ ।
 तपाईको फिजियोथेरापी सेन्टरमा के कस्ता सेवा उपलब्ध छन् नि ?
 सबैभन्दा पहिले सेवाका विषयमा कुरा गरौँ, त्यसपछि हामीले उपयोग गरिरहेका मेसिनका विषयमा पनि तपाईलाई सामान्य जानकारी गराउने छु । म हाडजोर्नीमा विशेषज्ञता हासिल गरेकाले त्यसैमा बढी फोकश छ । हाडजोर्नी तथा नसा रोग उपचार तथा पुर्नस्थापना सेवा, प्यारालाइसिस, मुख बाङ्गो हुने समस्याको उपचार तथा पुर्नस्थापना सेवा, मेरुदण्डको चोट पछि पुर्नस्थापन, अप्रेशन पश्चातको उपचार सेवा, बाल अपांगता उपचार सेवा, खेलकुदको समयमा वा खेलकुदको चोट पश्चातको उपचार सेवा, वृद्धवृद्धामा हुने समस्याको उपचार, श्वासप्रश्वासको समस्यामा उपचार, पोस्ट कोभिडको उपचारलगायतका सेवा हाम्रो केन्द्रमा उपलब्ध छन् ।
हामीले विभिन्न कारणले पूर्ण प्यारालाइसिस भएका बिरामीलाई समेत निको बनाएर सामान्य दैनिकि चलाउन सक्ने बनाएका छौँ । त्यसका लागि केही समय लाग्न सक्छ, तर बिरामीले हतार गर्नु हुँदैन । त्यसैले हाम्रो केन्द्रमा बिरामीको अवस्था हेरेर उपचार सेवा उपलब्ध छ । दैनिक सेवा लिनेहरू पनि आउँछन् । उनीहरूका लागि दैनिक शुल्क ५ सय रूपैयाँ राखेका छौँ । एक साताको शुल्क ३ हजार २ सय रूपैयाँ र पन्ध्र दिनको ६ हजार ७ सय रुपैयाँ शुल्क निर्धारण गरेका छौँ । हामीले सेवा दिने भनेको आफै समस्या पहिचान गरेर, बिरामीले रोजेअनुसार र चिकित्सकको सिफारिसका आधारमा पनि आवश्यकता अनुसारका उपकरण प्रयोग गरेर सेवा उपलब्ध गराउँदै आएका छौँ ।
 तपाईको संस्थामा भएका मेसिन उपकरणका विषयमा पनि केही जानकारी गराइ दिनुस् न ?
 हामीले बिरामीको अवस्था हेरेर उपकरण प्रयोग गर्ने गरेका छौँ । हाडजोर्नी दुखेको तथा नसा च्यापिएका बिरामीका लागि लम्वर ट्रैक्शन, अल्ट्रासाउण्ड, ट्रेडमिल, सर्टवेभ अप्थाल्मिक मेसिन जसले दुखाइ कम गराउँछ, हातका आँैला जाम हुने अवस्थामा रोवोटिक ग्लोवलगायतका मेसिनबाट र म्यानुअल विधिबाट पनि हामीले सेवा दिइरहेका छौँ । यस केन्द्रमा अर्थोकन्सल्टेन्ट फिजियोथेरापी सेवा तथा प्याडियाट्रिक फिजियोथेरापी सेवा उपलब्ध गराउँदै आएका छौँ ।
अन्य विशेषज्ञ फिजियोथेरापी सेवाका कन्सल्टेन्ट ल्याउन पनि हामी प्रयासरत छौँ । हाम्रो संस्था उपचारसँगै नागरिकलाई फिजियोथेरापी सेवाको आवश्यकता बोध गराउन सचेतना कार्यक्रममा पनि केन्द्रित छौँ । खासमा फिजियोथेरापी सेवा लिन यहाँ आउनेहरूमा अधिकांश हाडजोर्नीका बिरामी छन् ।
जुन बिरामीलाई चिकित्सकले शल्यक्रिया गर्न सिफारिस गरेका हुन्छन्, त्यस्ता बिरामी शल्यक्रिया नगरी फिजियोथेरापी उपचार सेवाबाट निको भएका थुप्रै उदाहरण पनि हामीले पाएका छौँ । खासगरी नसा च्यापिएका बिरामीको यो संस्थामा बढी आकर्षण देखिएको छ । खासगरी हाडजोर्नी दुखेका बिरामी यहाँ सेवा लिएपछि तत्कालै दुखाई कम हुने र विस्तारै समस्याको पनि निराकारण भएको यहाँ सेवा लिनेबाटै हामीले प्रतिक्रिया पाएका छौँ । यसले हामीलाई हौस्याएको पनि छ ।
 अन्तमा यो पत्रिकामार्फत आम पाठक तथा नागरिकलाई केही भन्न चाहनु हुन्छ ?
 हो, हामी यो सेवामा लागेको कारण यो भनिरहेको होइन तर सबैले बुझ्नु पर्ने कुरा के हो भने, फिजियोथेरापी सेवाबिना स्वास्थ्य उपचार सेवा पूर्ण हुँदैन । हरेक शल्यक्रियाका बेला पनि फिजियोथेरापी सेवा हुन आवश्यक छ । यसमा सरकारसँग लविङ पनि भइरहेको छ । विशेष गरी दीर्घ समस्या भएका बिरामीले समस्या पहिचान गरी उपचार सेवा लिनु पर्दछ । महिनौँसम्म हातखुट्टा नचल्नेहरूलाई पनि फिजियोथेरापी सेवाले निको बनाएको छ ।
चिकित्सकहरूले पनि यसको महत्व नबुझेका होइनन् तर पनि चिकित्सकहरुमा के जहिले पनि फिजियोथेरापीभन्दा शल्यक्रियामा जोड दिइन्छ तर फिजियोथेरापी सेवाबाट हुने उपचारले निको भएपछि समस्या बल्झिने अवस्था रहँदैन । यो कारण पनि फिजियोथेरापीको महत्व आमनागरिकले बुझ्न आवश्यक छ । चाहे बालबालिका होउन वा सुत्केरी महिला, शल्यक्रिया गरेका बिरामी होउन वा खेलाडी, तौल बढी भएका व्यक्ति वा वृद्धवृद्धा सबैका लागि फिजियोथेरापी आवश्यक हुन्छ ।
किनकि अचेलको दैनिकि आरामदायी दैनिकि भएको छ । यसले पनि मानिसका विभिन्न हाडजोर्नीमा समस्या देखिने, नसा जाम हुने, जोर्नी जाम हुनेलगायतका समस्या छन् । यी सबै समस्या निराकरणका लागि फिजियोथेरापी सेवा उपयुक्त सेवा हो । अर्थात यो शरीर विज्ञानसँग जोडिएको विषय पनि भएकाले स्वास्थ्य उपचारलाई पूर्णता दिन सबैले एक पटक फिजियोथेरापी सेवालाई पनि आत्मसात गर्न आवश्यक छ भन्न चाहन्छु ।