दाङ–सल्यान सडक, जति बनाए पनि ओभरलोडले जीर्ण

बालाराम खड्का
तुलसीपुर, १८ पुस । राप्ती राजमार्ग स्तरोन्नतिका लागि सरकारले बर्सेनि करोडौँ बजेट विनियोजन गर्दै आए पनि सुधार हुन भने सकेको छैन । दाङ–सल्यान सडक सधैँ जीर्ण अवस्थामा हुँदा नागरिकले सास्ती भोग्दै आएका छन् । सडक चौडा बनाउँदै स्तरोन्नति गर्न बर्सेनि करोडौँ रुपैयाँ खर्च भए पनि सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको छ ।

बर्खामा पहिरो र हिलोका कारण सास्ती पाएका नागरिकले अहिले धुलोका कारण सास्ती पाउँदै आएका छन् । राम्रीदेखि चोरखोलाको सडकको काम अलपत्र हुँदा धुलोले हैरान बनाउनुका साथै यात्रा गर्न समस्या र सडक आसपासको क्षेत्रमा बस्न सक्ने अवस्था नरहेको स्थानीयको भनाइ छ ।
यस सडकमा यात्रा गर्ने नागरिकले सधैँ दाङ–सल्यान सडकको स्तरोन्नति कहिले हुन्छ भन्ने गुनासो गर्ने गरेका छन् । दाङ र सल्यानको सीमानामा बोर्डमै यो सडकको सुधार कहिले होला भनेर लेखिएको पनि छ । ‘राम्रीदेखि चोरखोला बिचको सडक लामो समयदेखि अलपत्र छ, सडक चौडा बनाए पनि कालोपत्रे भएको छैन’, यात्रु पवित्रा डाँगीले भनिन् । वर्षौँदेखिको अलपत्र सडक निर्माणमा सम्बन्धित पक्षले ध्यान नदिँदा आफूहरूजस्ता हजारौँ यात्रुले समस्या झेल्नु परेको उनको गुनासो छ । तुलसीपुरको श्रीकुलादेखि खमारीसम्मको सडकको मर्मत र खाडलमा कालोपत्रे भर्ने काम भने भइरहेको छ ।

तुलसीपुर–३ राम्रीसम्मको बाटो भने धुलाम्मे छ । त्यस्तै राम्रीदेखि सल्यानको चोरखोला बिचको सडक वर्षौँदेखि धुलाम्मे छ । सडक डिभिजन कार्यालय दाङले भने दुईवटा ठेक्का लागेको स्थानमा काम भइरहेको जनाएको छ । सडक डिभिजन कार्यालयका इन्जिनियर उज्ज्वलकुमार झाँले दाङको राम्री र सल्यानको चोरखोलाको सडकको स्तरोन्नतिको काम नभए पनि अन्य दुई स्थानमा भने निर्माणको काम भइरहेको बताए । उनले सल्यानको चोरखोला क्षेत्रको सडकको स्तरोन्नतिका लागि सूचना प्रकाशित भइसकेको र केही समयमा टेण्डरको तयारी गरिएको बताए । ‘दाङ–सल्यान सडकखण्डको विभिन्न स्थानमा काम भइरहेको छ तर चोरखोला क्षेत्रको सडक स्तरोन्नतिका लागि भने ठेक्का व्यवस्थापनको काम भइरहेको छ’, इन्जिनियर झाँले भने ।

उनले अहिले स्तरोन्नति हुन लागेको सडकको ठेक्का सम्झौताको भ्याद थप भएको बताए । ‘यस अघि कोभिड सङ्क्रमणदेखि हालै १२औं ऐन संशोधन भइ आएकाले केही ठेक्काको म्याद थप भएको छ’, उनले भने । विभिन्न कारणले काममा ढिलाइ भएका कारण समयमै सडक निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । त्यस्तै सडकको कालोपत्रे गर्न उपयुक्त प्रतिकूल मौसम आवश्यक पर्ने भएकाले पनि केही समस्या भएको इन्जिनियर झाँले बताए ।
‘निर्माणको काम लथालिङ्ग भएको छैन, क्रमिक रूपले ठेकेदार कम्पनीले काम गरिरहेका छन्, कालोपत्रे गर्ने समय भनेको फागुन, चैत, बैशाख हो । विभिन्न कानुनी तथा अन्य कारणले केही ढिला भएको हो’, कार्यालयका सूचना अधिकारी समेत रहेका झाँले भने । बनेको सडक जीर्ण हुनुको प्रमुख कारण भने ओभरलोड नै भएको अधिकारीहरू बताउँछन् । सडक स्तरोन्नति र मर्मत कार्य भए पनि क्षमताभन्दा बढी भार भएका सवारी साधन ओहोरदोहोर हुँदा कालोपत्रे टिक्न गाह्रो हुने गरेको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक निर्माणको काम बर्सेनि भइरहे पनि एकातिरबाट काम सुरु हुने र अर्कोतिर सडक जीर्ण हुँदै जाने समस्या देखिएको छ । सीमित भारवहन क्षमताका लागि गराएको सडकमा ओभरलोड बोकेका गाडी ओहरदोहोर गर्दा सडक जीर्ण हुने गरेको इन्जिनियर झाँले बताए ।

भौगोलिक विकटता, पहाडी सडकमा पहिरो, हिलो, पानी जम्ने समस्याले सडकको आयू घट्ने भए पनि मुख्य कारण ओभरलोड नै भएको उनको भनाइ छ । ‘ओभरलोडका कारण सडक दिन प्रतिदिन बिग्रँदै गएको छ, सडक मर्मत गरे पनि केही समयपछि भत्किने गरेको छ’, उनले भने । १० टन क्षमता भएको सडकमा दुई गुणा बढी लोड बोकेर सवारी साधन गुड्ने समस्या छ । विशेष गरी ट्रक, टिप्परले बढी लोड बोकेर कालोपत्रे सडकमा गुड्दा सडक तहसनहस हुने गरेको छ ।

इन्जिनियर झाँले सडक निर्माण गर्दा आफूहरूले गुणस्तर हेर्ने भए पनि सवारी साधनले बढी लोड बोकेको छ÷छैन त्यसको नियमन गर्न आफूहरूले नसक्ने बताए । ‘बेला–बेलामा हामीले सरकारी पक्ष तथा कम्पनीहरूलाई पत्र भने काटेका छौँ, ओभरलोडको विषयमा’, उनले भने । विश्वव्यापी रूपमा तथा सरकारले मापदण्ड लागु गरेपछि पनि कुन सवारी साधनले कति भार बोक्छन् भन्ने मापन अहिलेसम्म सो सडकमा हुन सकेको छैन । जसका कारण मापदण्डविपरीत ओभरलोड भार लिएर हिँड्ने सवारी साधनमाथि कारबाही हुन सकेको छैन । सडकलाई व्यवस्थित बनाउन र मापदण्डविपरीत सञ्चालन हुने सवारी साधनलाई कारबाही गर्न सडक विभागले सवारी भार मापन यन्त्र सो सडकमा जोडेको भने छैन । विभिन्न समयमा ट्राफिक प्रहरी कार्यालयले चेकजाँच गरे पनि त्यसले पूर्णतया नियमन भने हुन सकेको छैन ।

यस वर्ष मात्र सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म ४० करोड बजेटमा दर्जन बढी ठेक्का लागेका छन् । केही ठेक्का सम्पन्न भएका छन् भने केही अझै अलपत्र अवस्थामा छन् । सल्यानको कपुरकोटदेखि श्रीनगर तथा अन्य राप्ती लोकमार्गको सल्यान र रुकुम सडकखण्ड भने कालोपत्रेका साथै मर्मत भएका छन् । केही ठाउँमा गरिएका कालोपत्रे पनि ओभरलोडका कारण उप्किएका छन् ।