दाङमा ४७ जनाको र्‍यापिड डाइग्नोस्टीक टेस्ट, सवै ‘नेगेटिभ’

खेमराज रिजाल

दाङ, ७ बैसाख । नेपाल सरकारले मुलुकका ७७ वटै जिल्लाबाट विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको ल्यावटेष्ट सुरु गरेसंगै दाङ जिल्लाबाट पनि गत २ गतेदेखि र्‍यापिड डाइग्नोष्टिक टेष्ट(आरडीटी) सुरु भैरहेको छ । पांच दिनको अवधिमा ४७ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट सम्पन्न भैसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपाल सरकारको नीति वमोजिम पहिलो चरणमा हरेक जिल्लाका विभिन्न पालिकामा सन्चालनमा आएका क्वारेन्टाइनहरुमा रहेका संकास्पद संक्रमितहरुको मात्र यो परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कोरोना नियन्त्रण कार्यक्रमका फोकलपर्शन कमल चन्दले बताएका छन् । संबन्धित पालिकाहरुको सिफारीससंगै ज्वरो आएका विरामीहरुको यो परीक्षण गरीने गरेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

पहिलो चरणमा स्थानीय तहमै पुगेर शंकास्पद व्यक्तिको र्‍यापिड टेस्ट गर्ने नेपाल सरकारको निति अनुरुप दाङ जिल्लामा १ सय वटा किट प्रदेश सरकारले उपलव्ध गराएको थियो । एउटा किटले एक व्यक्तिको परीक्षण गरीन्छ । कार्यालयका अनुसार हालसम्म घोराहीको कुइरेपानीस्थीत क्वारेन्टाइन्, शान्तिनगर, तुलसीपुरको रक्षाचौर र वगलामुखि गाउपालिकामा रहेका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको परीक्षण गरिएको हो । परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको मात्र ¥यापिड डाइग्नोष्टिक टेष्ट गरीने गरेको छ । नेगेटिभ रिपोर्ट आएका उनीहरुलाइ घरमा पठाउने र घरमा थप ७ दिन सेल्फ क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको फोकलपर्शन चन्दले बताए ।

प्रदेश सरकारले सन्चालन गरेको कोरोना विशेष अस्पतालमा भने यो परीक्षण गरीदैन । त्यहां भर्ना भएका विरामीहरुलाइ भने स्वाव निकालेर पिसिआर टेष्टकालागी बुटवल लगायत राजधानी सम्म पठाउने गरिएको छ । सरकारले यस अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बेलझुण्डिस्थीत कोरोना विशेष अस्पतालबाट स्वाव परीक्षणकालागी पठाइने व्यवस्था मिलाएपनि पछिल्लो समयमा भने वेलझुण्डिबाट मात्रै स्वाव निकालेर संबन्धित प्रयोगशालामा परीक्षणकालागी पठाइएको थियो । आइतवारसम्म बेलझुण्डिमा राखिएका व्यक्तिहरु मध्ये ५२ जनाको पिसिआर टेष्ट गरिएको थियो । ती सवैको रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ । रिपोर्ट नेगेटिभ आएकाहरुलाई थप एक साता सेल्फ क्वारेन्टाइनमा बस्ने सल्लाह दिएर डिस्चार्ज गर्ने गरिएको छ ।

यसैबीच सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पिसिआर परीक्षणको व्यवस्थापन मिलाउने भएको छ । त्यसका लागि मेशिन शनिवार राती आइपुगेको छ । संभवतः मंगलवारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पिसिआर परीक्षण सुरु हुने प्रतिष्ठान श्रोतले जनाएको छ ।