असन्तुष्टिको परिणाम परदेशी जीवन

राजीव चौधरी

मानिसको जिन्दगीलाई सबैले आफ्नो आफ्नै बुझाई र भोगाइको आधारमा परिभाषित गर्ने गर्छौ । कसैले यसलाई यात्रा भन्छन्, कसैले जिन्दगी सङ्घर्ष भन्छन् त कसैले दूखको रुपमा जिन्दगीलाई हेर्छन् । जसले जसरी बुझे पनि हामी मानिसको जिन्दगी अमुल्य छ, यो कुरामा भने सबैको एक मत पाइन्छ ।

मानिसको रुपमा जन्मलिनु नै भाग्यको कुरा हो । यो धर्तीमा भएका जीवजन्तु मध्य सबै भन्दा विबेकशील र चेतनशील प्राणी हौँ हामी, त्यसैले यो जिन्दगीलाई रमाएर सन्तुष्टिका साथ जिउनु पर्छ । तर हरेक राम्रा कुरासंग नराम्रा सन्दर्भहरु पनि जोडिएर रहेका हुन्छन् । यही मान्यतामा टेकेर होला सायद, हामी मानिसमा पनि असन्तुष्टिको गुण राखिदिएका छन् सृष्टिकर्ताले । त्यसैले त हामी मानिस कहिल्यै सन्तुष्ट हुन सक्दैनौ ।

यही असन्तुष्टिको एउटा परिणाम हो, परदेशी जीवन । कोही भाएको भन्दा मिठो खानका लागि, कोही धेरै खानका लागि, कोही आरामदायी भबिष्यको सपनाका लागि परदेशी हुन्छन् । जे जस्तो कारणले परदेशी भए पनि यस्को मुलकारण भने असन्तुष्टि नै हो । मैले यसरी असन्तुष्टिको कुरा गरिरहँदा हाम्रा देशका नेपाली दाजूभाइहरुवीच विवाद र बहस हुन सक्ला । हामी बाध्यताले परदेश आउन परेको हो या आफ्नै ठाउँमा केही गर्ने बाटो नभएर आको हो ? यी दुई बिषयमा अन्त्यहिन बहस हुनसक्छ पनि । तर म फेरि पनि यही भन्छु कि हामी बिदेसिन परेको हाम्रै कारणले हो । होइन भने यो जाबो पेट पाल्न त हामी आफ्नै ठाउँमा काम गरेर पनि सक्छौ । हाम्रा बाउबाजेले आफ्नै देशमा काम गरेरै जिन्दगी चलाएका हुन, चलाएकै छन् । मेरै कुरा गर्नुपर्दा मेरो गाउँको पहिलो परदेशी हुँ म, त्यत्रो गाउँ आफ्नै ठाउँमा बाचँेका छन्, रमाएका छन् भने म मात्र बाँच्न नसक्ने त कुरै आउँदैन ।

यति भन्दै गर्दा आफ्नो देश छोडेर परदेश आउनु गलत नै हो भनेको चाँही पटक्कै होइन है । यसको आफ्नै भोगाई र लक्ष्य छ । परदेश परको देश अर्थात टाढाको देश, जहाँ कोही आफ्नो छैन, केही आफ्नो छैन । परदेशको बसाईमा भौतिक रुपमा मात्र होइन हाम्रो सोचाईमा पनि धेरै परिवर्तन आउने रहेछन् । परदेशको बसाईमा शारिरीक रुपमा त मेहेनत गर्नै पर्ने हुन्छ, त्यो भन्दा गाह्रो मानसिक रुपमा आफुलाई सम्हाल्नु हुँदो रहेछ । यदी सम्हालिन सकिएन भने दुःख पाउनु त छँदैछ, धेरै ठूला दुर्घटना पनि निम्तिन सक्छन् ।

परदेशको बसाईमा अलि बढि भाबुक भइदो रहेछ । अझ भनौ परदेशको बसाईमा असन्तुष्टिको मात्रा झनेै बढ्दो रहेछ । आफ्नो देशमा हुँदा परदेश गए सबै समस्या समाधान हुन्छ भन्ने साँेच्ने हामी परदेश आइसकेपछि अझ बढि असन्तुष्ट हुन पुग्छौ । परदेश आए एकाएक सबै हुन्छ भनेर आएका हामी लामो समयसम्म पनि केही नहुँदा यसरी अतालिन पुग्छौ कि जिन्दगी बेकार लाग्न थाल्छ । यता साहुको किचकिच त छदैछ, घर परिवार, साथीभाइको व्यबहारले झनै एक्लो भएको महसुस गराउँछ । काम कस्तो छ भनेर नसोधेर कति कमाउछस् ? भनेर सोध्दा त झन् असन्तुष्टि बढाउँछ । कमाउन आएको मान्छेलाई सोध्ने त त्यही नै हो कति कमाउछस् ? तर हाम्रो मनले नराम्रो मान्छ । यही बेला मानसिक रुपमा सम्हालिन नसक्दा साथीभाइसगँको सम्बन्ध बिग्रन थाल्छ । आफ्नाहरु सगँ असन्तुष्टि बढ्दै जान्छ, एक्लोपना पनि बढ्दै जान्छ र यसले अनेकौ दुर्घटना निम्त्याउँछ ।

तर जिन्दगीका अनेकौ असन्तुष्टिहरुलाई पन्छाउँदै जे छ, जस्तो छ त्यसैमा रमाउन सकेमा जिन्दगी रमाइलो छ, अमुल्य छ । देश र परदेश दुबै रमाइलो छ । परदेशमा रहुन्जेल रमाएर पैसा र सिप कमाएर हाम्रो देश बनाउन सके बल्ल हाम्रो परदेशी जीवनको फल मिल्ने छ । परदेशमा बसेर नेपालमा गई योगदान गर्ने भावना उर्लेर आउँदो रहेछ, भावुक भइदो रहेछ । यो भावुकतालाई शक्ती र राष्ट्रिय पुँजी बनाउने नीति देशले निर्माण गर्ने हो भने हाम्रा बल, पसिना र उर्जा नेपाली माटोमा पोख्न सहज हुन्थ्यो होला झै लाग्छ । देशका लागि योगदान गर्ने भावना मनमा जागृत हुँदा परदेशको भूमिवाट नेपालले सुन्नेगरी चिच्याएर भन्न मनलाग्दो रहेछ-जय नेपाल !

-घोराही १८, महदेवा । हाल : कोरिया