कविता : अन्तर मनका आवाजहरु

विनु दाहाल

सोच्दै छु,
हिजोसम्म त
ढुङगे युगबाट बाटो सुरु गर्दा,
हामी नारी र पुरुष संगै हिडेका थियौ त
तिमी त निकै अगाडि पुगेछौ,
म भने कहाँ अल्झेछु ?
कसरी पछाडी परेछु ?
बुझ्न चाहान्छु ।

थाहा छैन, कहाँवाट सुरु भयो
नारीको यस्तो दर्दनाक काहानी ?
कतै अस्पताल मै त सुरु भएन ?
‘डाक्टर साब छोरा या छोरी ?’

छोरा भन्दा बात्तिस दाँत देखाएर मुस्कुराउने
र छोरी भन्दा बत्तिस ठाँउ अनुहार चाउरिने
बाबाको मनस्थिति म बुझ्न चाहन्छु ।
कहिलेकाँही सोध्न मन लाग्छ,
पल्ला घरे तीन छोरीका बाउ बनेका साइला काकालाई
कि ‘काका आखिर तपाईंले काकी माथी
यति धेरै रिस के मा पोख्नु हुन्छ ?
छोराको जन्म नभएर ?
दाइजो कम भएर ?
कि कतै काकीको जवानी माथी
अझै पनि खेल्न पुगेको छैन ?’
म बुझ्न चाहन्छु ।

गहिरो सोचाँइमा डुब्दै छु
नारी र पुरुष त रथ का दुई पाङ्ग्र हुन ।
नारी पनि त रथ हाक्न पुरुषसंगै कुदिरहेकी छिन् नि
तर पनि पुरुष प्रधान समाजले
उनी कुदेको किन देखेन होला ?
म बुझ्न चाहन्छु ।

त्यती मात्र कहाँ हो र !
भाइलाई भकुण्डो खेल्न दिएर,
गुडिया चै किन नकिनिदिएको होला,
मलाई चै गुडिया दिएर,
भकुण्डो किन नाकिनिदिएको होला ?
म बुझ्न चाहान्छु ।

छौपडी प्रथालाई मानी,
त्यो अध्यरो कोठामै निसास्सिएर बस्ने
नारिको अनुहार पढ्न चाहान्छु,
डर उत्पन्न भै नराम्रा साेंचहरुले
उकुसमुकुस भएका मनहरुलाई बुझ्न चाहन्छु ।

त्यति मात्र कँहा हो र !
अरु दिन चै नारी देबी,
तर रजस्वलाका बेला तेही नारी भारी कसरी ?
तिमीले त यस्तो कानुन बनाएनौ होला भन्दै
म भगवानसंग गुनगुनाउन चाहन्छु ।

हिजो भर्खरै सुनेको समाचारमा,
छोरी छ भन्दा त
अस्पताल मै झण्डै पतन भएछ,
फेरि चिकित्सकले झुकिदै
‘ए छोरा चै रहेछ’ भन्दा फेरि जतन भएछ ।

अनि फेरि नारी कम्जोर छैन भनी
सानैदेखि सिकाउनु भनेकै
कहीँ न कहीँ नारी कम्जोर छिन् भन्नु हो
भनि चिकित्सकले नै सिकाउनु भएछ ।

त्यसैले त म हात जोड्छु, सरकार !
शिक्षाको ज्योती जताततै फैलाइ देउ,
धेरै निर्मलाहरु बाँच्ने छन्,
धेरै फ्लोरेन्स नाइटिङ्ल जन्मिने छन्,
धेरै झमक घिमिरे उत्रिने छन् ।

जताततै चेतना जगाई देउ,
बिजुली बजार हेर्न पाउँछु भनेर
नारी बेचबिखनमा फसेका नारीहरु
फेरि बिजुली बजार हेर्न आउने छैनन
बरु आफ्नै गाउँलाई शिक्षित बनी
बिजुली जस्तै चमकाउने छन् ।

त्यसैले त पुरुषले मर्द बन्दा
नारीले नि मर्दानी बन्नु प¥यो,
अधिकार छिन्नु प¥यो, सोंच फेर्नु प¥यो ।

बरु मसंगै यात्रा गरी छुट्टीएको पुरुषलाई
मेरो एउटा सानो अनुरोध छ,
तिमी मलाई थोरै बुझ्ने प्रयास गर,
मेरा भावना र वेदनालाई महसुस गर ।

तिमिले नबुझे कस्ले पो बुझ्ने ?
कसरी पो संसार चलाउने ?
तिमी जहाँ हिंडे पनि
त्यहीं एकछिन रुकेर
मलाई पर्ख, अनि
फेरि नछुटिने गरी यात्रा गरौला
र संगै आफ्नो अनी राष्ट्र हुँदै संसारको बिकास गरौला ।

 

-BBM 3rd semester, Nepal commerce Campus ,Minbhawan Kathmandu