के.पी.सुवेदी
हाम्रो मुलुकमा अहिले हत्या र हिंसाका घटनाहरु दिन प्रतिवदन बढिरहेका छन् । नवजात शिशुदेखि लिएर बृद्धबृद्धासम्मका शवहरु जहाँतहीँ वेवारिसे अवस्थामा दिनदिनै र अनगिन्ति सङ्ख्यमा भेटिनुले दुःखद् सन्देश प्रवाह भइरहेको छ । सुन्दा पनि अचम्म लाग्ने र सभ्य समाजलाई गिज्याउने खालका घटना धेरै हुन थालेका हुँदा सबैको चिन्ताको विषय बन्दै गएको छ । किनभने यस्ता घटनाले हाम्रो समाज विस्तारै मानवीय संवेदना गुमाएको जस्तो देखिन थाल्यो । मानवीय संवेदना गुमाएको समाजको चरित्र हिंसाप्रिय हुन्छ ।
हिंसाको चर्मोत्कर्ष हो, हत्या । यति धेरै सङ्ख्यामा वेवारिसे शवहरु भेटिनु हिंसात्मक गतिविधि बढी नै भइैरहेको बुझ्नु पर्छ । घटनाका प्रारम्भिक प्रमाणहरुले केही मृत्युहरु हत्या गरिएका हुन सक्ने खालका र केही आत्महत्या हुन सक्ने खालका भए पनि सरकारको सुरक्षा तथा अपराध अनुसन्धान गर्ने निकायको आधिकारिक भनाइ सार्वजनिक भएपछि मृत्युको कारण स्पष्ट हुने हो । सबै घटनाको यथोचित अनुसन्धान सरोकारवाला निकायले गरिरहेको होला । गरिरहेको छ भन्नेमा द्विविधा मान्नु पनि पर्दैन । किनभने पहिले–पहिले आपराधिक घटनाका दोषीलाई समय–समयमा पक्राउ गरी सजाय दिलाएका घटना सार्वजनिक भइरहेका समाचारले पुष्टि गरिरहेका छन् । स्वदेशमा जघन्य अपराधमा संलग्न भई दोष्ीा करार भएका तर भागेर मुलुक बाहिर जान सफल भएका हत्यारा वा अन्य अपराधका अभियुक्तहरु अन्तर्राष्ट्रिय अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी निकायको सहयोग लिएर नियन्त्रणमा लिई सजाय दिलाएको छ ।
हालैका घटनाहरु भने हाम्रो संवेदनालाई बढी नै बिझाउने खालका हुन थाले । कारण जेसुकै भए पनि अस्वाभाविक मृत्युले सम्बन्धित परिवारलाई मात्र नभएर सम्पूर्ण समाजलाई घच्घच्याउँछ र अनेकौँ प्रश्नले लखेटिरहन्छ । के तिमीलाई यो सैह्य छ ? यात्रुवाहक विमानको शौचालयमा नवजात शिशुको शव भेटियो, ईँटाभट्टाको नजिकै एउटी किशोरीको शव भेटियो, साउदी जान हिँडेका युवकको शव जङ्गलमा भेटियो, कोइलाखानीमा एकजना बृद्धको लास भेटियो । एउटै रुखको दुईवटा हाँगामा झुण्डिएको अवस्थामा एकजना युवक र अधबैँसे महिलाको लास भेटियो । एकसातभित्र सार्वजनिक भएका घटना हुन्, यिनीहरु । यी बाहेक प्रहरिको गोली र लाठीले घइते भएर अस्पतालमा मृत्यु भएका दुई युवक पनि थपिए ।
कहीँ न कहीँ लापरबाही, गैह्रकानुनी, गैह्रजिम्मेवारीबाट सिर्जित घटनाहरुले समाजको सभ्यतालाई कुरुप बनाएर जिस्क्याएजस्तो लाग्दैछ । यसबारे सबैले गम्भीरतापूर्वक सोच्नु र त्यसको कारण के हो खोजी गर्नु पर्छ । यसको कारण अनुसन्धान गरी न्यूनिकरण गर्दै निमिट्यान्न पार्न कोसिस गर्ने पहिलो जिम्मेवारी सरकारको वा सरकारको सम्बन्धित निकायको हो र त्यसलाई सघाउनु सबै नागरिकको कर्तव्य हो । यस्ता घटना विगत केही वर्षमा घटेको तथ्याङ्क सरकारको सुरक्षा निकायको प्रतिवेदनमा छ । हालसालै प्रकाशित तथा सार्वजनिक प्रतिवेदनमा चार वर्ष नगन्ने रुपमा रहेको हत्या, हिंसा, अवरोधक गतिविधि अहिले आएर ह्वात्तै बढेको देखाएको छ ।
हाम्रो सुरक्षा प्रणालीमा केही चुनौतीहरु बढेकोबारे सरकारको सुरक्षा निकायले एकदशकदेखिको अनुसन्धानात्मक प्रतिवेदनमा बितेका १० वर्षयता बिचमा एकदमै न्यून नगन्ने रहेको हिंसात्मक गतिविधि यो वर्ष ३ सय प्रतिशतभन्दा बढी बढेको तथ्यात्मक जानकारी सार्वजनिक भएबाट बुझ्नु पर्छ कि हाम्रो समाजको हिंसारहित चरणको पुनर्बहालीको सम्भावना रहेछ । तर कारण नखोजी त्यसको निवारण असम्भव हुने हुँदा कारण पहिल्याउनु सबैभन्दा महङ्खवपूर्ण कदम हो । लैङ्गिक हिंसा, बालबालिकाप्रतिको हिंसा, अपहरण, शरीर बन्धक, फिरौती, महजाल, तमाम प्रकारका अपराधहरुको वृद्धिसँगै हत्या र आत्महत्यासम्म पुग्छ ।
आत्महत्या सोझै हेर्दा दोषभागी नदेखिने हुन्छ तर यथार्थमा हिंसा नै यसको कारक बनेको हुन्छ । घटनाको विवेचनात्मक अनुसन्धान गरेर पत्ता लगाउन सकिन्छ र त्यस्ता घटना दोहोरिन नदिन सचेतना अभियानद्वारा न्यूनिकरण गर्न मद्दत पुग्छ । संयोगले यतिखेर हिंसाको बाटोबाट राज्यसत्ता कब्जा गर्ने नीति अपनाएर हिंसात्मक आन्दोलन गर्दै राजनीतिक उचाइ बनाएको दलको नेतृत्वले सरकारको नेतृत्व गरिरहेको अवस्था छ । साच्चै एउटा गत्तिलो चुनौती हो, उसकै पालादेखि हत्याहिंसाको शृङ्खला सुरु भएर चरम शिखरमा पुगेको बेला शान्ति प्रक्रियाको थालनी भएको थियो । आज माओवादी नेतृत्वले सरकारको नेतृत्व गरिरहेको बेला बढेको हिंसात्मक गतिविधिको विश्लेषणात्मक अनुसन्धान कसले र कहिले गर्ने ?
अझ महङ्खवपूर्ण कुरा के छ भने प्रचण्डकै सरकारको सुरक्षा संयन्त्रको अनुसन्धान गर्ने निकायले आफ्नो प्रतिवेदन सार्वजनिक गर्नुभन्दा केहीदिन अघि मात्र संयुक्तराज्य अमेरिकाको खुफिया एजेन्सीले नेपालसम्बन्धी एउटा निराशा प्रकट गर्दै नेपालमा हिंसात्मक गतिविधि बढ्ने विश्लेषणात्मक प्रतिवेदन सार्वजनिक गरेको बुझिन्छ । उसले आफ्ना नागरिकलाई नेपालमा पर्यटन यात्रमा सचेतता अपनाउन भन्दै कम सुरक्षित क्षेत्रमा वर्गीकरण गरेको उल्लेख गरिएको छ । संसारकै शक्तिशाली संस्थाको अनुसंधानबाट लिइएको धारणामा सरकारको गम्भीर ध्यानाकर्षण हुन आवश्यक छ ।बढ्दो अपराध नियन्त्रणको सूत्र सरकारको प्राथमिकतामा पर्नु पर्छ र यस्ता समाजका विविध क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न प्रयत्नशील अभियन्ता संस्था वा सबै हिंसाको स्रोतलाई समाप्त गर्न नागरिकले आफ्नो योगदान गर्नु अपरिहार्य छ । हिंसामा संलग्न नाताले आफ्नो भए तापनि मानवताले त्यो ठुलो शत्रु हो भन्ने बुझ्नु पर्छ । छिमेकसम्म वा अरुको परिवारमा हानी पु¥याउने हिंस्रक अपराधी आफ्नो घरसम्म सजिलै पुग्छ ।