नयाँ प्रविधि पछ्याउँदै आँखा अस्पताल

खेमराज रिजाल
तुलसीपुर, १३ पुस । नेपाल नेत्रज्योति संघको व्यवस्थापनमा सञ्चालित राप्ती आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालनमा आएको राप्ती आँखा अस्पताल रक्षाचौर, लमही आँखा अस्पताल र छन्दकालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले एकपछि अर्को नयाँ उपचार प्रविधि पछ्याउँदै आएको छ ।
राप्ती आँखा अस्पताल रक्षाचौरमा आयोजना गरिएको सामाजिक परीक्षण कार्यक्रममा सो अस्पतालले अब मोतियाविन्दुको शल्यक्रियामा भर्खरै सुरु भएको नयाँ प्रविधि मल्टिफोकल प्रिमियम लेन्सको सुरुआत गरेको छ । सुरुआतीका दिनमा इसआइसियस हातले शल्यक्रिया गर्दै आएको सो अस्पतालले केही वर्षदेखि दुरवीन विधिबाट मोतियाविन्दुको शल्यक्रिया गर्दै आएको थियो ।

अस्पतालका प्रमुख प्रशासक शम्शेर थापाले अब अस्पतालमा आधुनिक प्रविधिको उपचार पद्धति सुरु हुने उद्घोष गरे । यसैगरी अस्पतालले भर्खरै मात्र प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा तालिमपरिषद् (सिटिइभिटी)बाट नेत्र ज्योति प्राविधिक शिक्षालयको अनुमति पाएको छ । अस्पतालले विभिन्न विधामा स्वास्थ्यका विद्यार्थीलाई ओजेटी कक्षा समेत सञ्चालन गरेको भन्दै अब अध्ययन प्रतिष्ठानको रूपमा विकास गर्दै लैजाने प्रमुख प्रशासक थापाको प्रस्तुतीमा उल्लेख छ । अस्पतालमा सो स्वीकृति पाएसँगै अब नेत्रसहायक, एचए र फार्मेसीको पनि पढाइ हुने भएको छ ।

यसैगरी अस्पतालले सक्दो चाँडो राप्ती आँखा अस्पताललाई नेत्र विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने र एमडी तहको नेत्र रोग विशेषज्ञ उत्पादनको पनि तयारी गरिरहेको छ । मोतियाविन्दुसँगै जलविन्दु रोगको पनि सामान्य शल्यक्रिया तालिम प्राप्त चिकित्सकबाट हुँदै आएको छ । अब जलविन्दुको विज्ञ चिकित्सक राख्ने तयारी सो अस्पतालको छ । लमही आँखा अस्पतालमा भर्खरैदेखि आँखा उपचारसँगै नाक, कान र घाँटी रोगको विशेषज्ञ सर्जनद्वारा उपचार सेवा प्रदान गरिएको पनि सामाजिक परीक्षणका क्रममा बताइएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालको सामाजिक परीक्षण कार्यक्रम नेपाल नेत्रज्योति संघ, दाङका सभापति, केन्द्रीय सदस्य एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता र तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले अस्पतालको प्रशासनिक एवम् चिकित्सकीय दक्षता वृद्धि हुँदै गएकोमा उच्च प्रशंसा गरे । नर्वेजियन संस्था एनएबिपीको निरन्तर सहयोग र भौतिक निर्माण र उज्यालो अभियानमा स्थानीय एवम् प्रदेश सरकारको सहयोगले अस्पतालले यो आधुनिक पद्धति र विशेषज्ञ चिकित्सकद्वारा उपचार सेवा सुरु भएको उनको अभिव्यक्ति थियो । यो सहयोगलाई अझै निरन्तरता दिन र सहयोग बढाउन पनि उनले स्थानीय पालिकासँग समन्वय र सहजीकरण गर्ने बताए ।

अस्पतालको कार्यकुशलताकै कारण अध्यक्ष कृष्णकुमार गिरी राष्ट्रपतिबाट सम्मानित भएको र प्रमुख प्रशासक एसियन बेस्ट एडमिनिस्टेटिभ अवार्डले सम्मानित भएकोमा उनले बधाई ज्ञापन गरे ।कार्यक्रममा विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले राप्ती आँखा अस्पताल तुलसीपुरकै गहना भएकाले यसको स्तरोन्नति र उज्यालो अभियानमा उपमहानगरपालिकाको सहयोग निरन्तर रहने वाचा गरे ।

नेपाल नेत्रज्योति संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, वडा नं ९ का अध्यक्ष घनश्याम ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीले सबैको साथ र सहयोगले अस्पतालको विकास भएको बताए । उनले अब देशभरकै जनताले आफूहरूले सञ्चालन गरेको अस्पतालमा सेवा लिन आउने गरी विकास गर्ने बताए । गिरीले अस्पतालको भौतिक विकाससँगै अन्य एकाडेमिकदेखि उपचार सेवाको विकासमा आफूहरू लागि रहेको बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालको सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्मको प्रगति विवरण, अन्य क्रियाकलाप तथा भावि योजनाका विस्तृत विवरण आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक थापाको प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा कर्निया रोग विशेषज्ञ डा. ज्योति सापकोटाले आँखाको नानी प्रत्यारोपण तथा अस्पतालका सेवाबारे र अकुलोप्लास्टिक सर्जन डा. सुरेश रसाइलीले अकुलोप्लास्टिक तथा एकाडेमिक क्षेत्रमा भएका र अगामी कार्यक्रमको विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा पछिल्लो समय लुम्बिनी प्रदेशमा अन्धोपनको समस्या बढ्दो रूपमा देखिएको छ । जनचेतनाको कमी, जथाभावी औषधीको प्रयोग,बढ्दो जनघन्त्व, गर्मी, धुलोधुवाँ र गरिबीका कारण आँखामा समस्या भई जलविन्दु तथा मोतियाबिन्दुको कारण प्रत्येक वर्ष आँखाको अन्धोपनको समस्या बढ्दो रूपमा रहेको राप्ती आँखा अस्पतालको तथ्याङ्कले देखाएको छ ।

राप्ती आँखा अस्पतालमा आयोजित सामाजिक परीक्षण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । सन् २००८ देखि २०१० सम्ममा गरिएको सर्वेक्षण अनुसार लुम्बिनी प्रदेशमा ०.३८ प्रतिशतमा अन्धोपनको समस्या देखिएको थियो भने सन् २०१८ देखि २०१९ सम्ममा गरिएको सर्वेक्षण अनुसार यो सङ्ख्या बढेर २.१ प्रतिशत पुगेको छ ।