गोरक्ष समाचारदाता
दाङ, १२ पुस । बितेको साढेपाँच महिनामा जिल्लामा करिब एक सय जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ९९ जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्ने सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए । उनका अनुसार यो उपमहानगरमा २८ जनाले आत्महत्या गरेका छन् ।
यसैगरी गढवा गाउँपालिकामा ७ जना, बंगलाचुली गाउँपालिकामा ७ जना, तुलसीपुर उपमहानगरपालिकामा २२ जना, दंगीशरण गाउपालिकामा ४ जना, लमही नगरपालिकामा ८ जना, शान्तिनगर गाउँपालिकामा ६ जनाले आत्महत्या गरेका छन् । बबई गाउँपालिकामा १, राप्ती गाउँपालिकामा ७ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यसैगरी दाङ बाहिर ठेगाना भई दाङमा आत्महत्या गर्ने ९ जना रहेको प्रहरीसँग तथ्याङ्क छ । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी छ । प्रहरीका अनुसार आत्महत्या गर्ने ३८ जना महिला र ६१ जना पुरुष छन् ।
उमेर सम्मूह अनुसार आत्महत्या गर्नेमध्ये १४ देखि १६ वर्षसम्मका ४ जना, १७ देखि २० वर्षसम्मका ८ जना, २१ देखि ३० वर्षसम्मका २० जना, ३१ देखि ४० वर्षसम्मका १८ जना, ४१ देखि ६० वर्ष सम्मका ३८ जना र ६० वर्षभन्दा माथिका ११ जना रहेको प्रहरी निरीक्षक मिश्रले बताए । आत्महत्या गर्नेमध्ये ८३ जना विवाहित र १६ जना अविवाहित छन् । आत्महत्या गर्नेमध्ये ८३ जना भुन्डिएर, १५ जनाले विष सेवन गरेर र एक जनाले घाँटी रेटेर आत्महत्या गरेको उनले बताए ।
यसैगरी यस अवधिमा एक सय ६३ जनाले आत्महत्याको प्रयास गरेका छन् । जसमा महिला एक सय १८ जना र पुरुष ४५ जना रहेका छन् । प्रहरीका अनुसार पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । आत्महत्याका कारण धेरै नागरिकले ज्यान गुमाउने गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएस्पी तथा प्रहरी प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए । प्रहरीको अनुसन्धानले आत्महत्या गर्नुको कारण मानसिक रोगी, प्रविधिको दुरुपयोग, प्रेम सम्बन्धलगायत रहेको पाइएको उनले बताए । यसप्रति अभिभावक सचेत नहुँदा त्यसको बालबालिकामा प्रभाव देखिने गरेको उनको भनाइ छ ।
एग्रोभेट व्यवसायीसँग अन्तरक्रिया
जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा आत्महत्या न्यूनिकरणको लागि एग्रोभेट व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा जिल्लामा आत्महत्याको अवस्थाबारे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मिश्रले जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका डिएस्पी मल्लले नागरिकलाई सचेत गराउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए ।
आत्महत्या न्यूनिकरणका लागि सबै मिलेर सचेतना जगाउन जरुरी रहेको डिएस्पी मल्लको भनाइ थियो । दाङ जिल्ला उवासंघका अध्यक्ष बसन्त जोशीले यसका लागि व्यवसायी सचेत भएर अगाडि बढ्नु पर्ने बताए । व्यवसायीले विधि, प्रक्रिया पूरा गरेर व्यापार व्यवसाय गर्नु पर्ने उनले बताए । एग्रोभेट व्यवसायी एकनारायण पौडेलले व्यवसायीले सचेतता अपनाएर विषादी बिक्री गर्नु पर्ने बताए । विषादी दुरुपयोग हुन नदिने गरी आफूहरूले बिक्री गर्ने गरेको उनको भनाइ छ ।
सरकारले निषेधित गरेका औषधी बिक्री नगर्ने गरेको पौडेलले बताए । अर्का व्यवसायी खुसीराम चौधरीले स्टक नरहने गरी औषधी दिने गरेको बताए । गिता रावतले रासायनिक औषधीभन्दा पनि जैविक औषधी प्रयोग बढाउनु पर्ने बताइन् । यस प्रकारको सचेतना ग्रामीण स्तरसम्म पु¥याउनु पर्ने उनले बताइन् । कार्यक्रमको सहजीकरण दाङ जिल्ला उवासंघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।