गोरक्ष समाचारदाता
दाङ, १० पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १३ मौलाकोट निवासी गंगाबहादुर थापाले गाउँमा विद्युतको पोलसँगै तार पुगेपछि घरमा वायइरिङ गरेर विद्युत कार्यालय घोराहीमा बत्तीका लागि निवेदन दिएका छन् तर बत्ती भने अझै बाल्न पाएका छैनन् ।
भौगोलिक रूपमा विकट मौलाकोटमा २०७४ सालको निर्वाचनका क्रममा विद्युत पु¥याउने आश्वासनसहित गाउँमा विद्युतका पोल पु¥याइएका थिए तर निर्वाचनमा भोट तान्नका लागि त्यसरी पु¥याइएका पोल प्रयोगमा आउन सकेनन् । सिमेन्टका पोल भौगोलिक रूपमा विकट पहाडी क्षेत्र मौलाकोटमा टेक्टरबाट लग्दालग्दै भाँचिएपछि मौलाकोटबासीको बत्ती बाल्ने सपना टुटेको थियो ।
निर्वाचन जितेपछि जनप्रतिनिधिको प्राथमिकतामा मौलाकोट पर्न सकेन, जसले गर्दा स्थानीय तहमा जनप्रतिनिधिले पाँच वर्ष बिताउँदा पनि त्यहाँ बत्ती पुग्न सकेन । मौलाकोटवासीलाई लामो समय विद्युतको आशैआसमा बस्नु परेको थियो । लामो समय बत्तीको आशामा बसेका मौलाकोटबासी अहिले गाउँमा विद्युतको पोलसँगै तार तानिएपछि बत्ती बाल्ने आशा पलाएको गंगाबहादुर बताउँछन् । पटक–पटकको प्रयासपछि गाउँमा विद्युतको पोल गाड्नुका साथै तार तानिएपछि बत्ती बाल्ने आशा पलाएको उनको भनाइ छ ।
‘पहिले बत्तीका लागि पोल आउनै सकेको थिएन, यस पटक पोल गाडेर तार पनि तानिइसकेको छ’, स्थानीय गंगाबहादुरले भने, ‘गाउँमा तार तानिएपछि सबैले घरमा वायइरिङ सकेर अहिले विद्युत जडानका लागि घोराही स्थित विद्युत कार्यालयमा निवेदन समेत दिएका छौँ ।’ गाउँमा बत्ती ल्याउनका लागि वडाध्यक्षलगायतका विद्युतकै कर्मचारी निरन्तर लागिरहेकाले पनि स्थानीयलाई बत्ती बाल्नमा थप आशा पलाएको छ ।
कार्यालयले मिटर–बक्स दिएर लाइन जडान गरिदिएपछि वर्षौँदेखि बत्ती बाल्ने मौलाकोटबासीको सपना पूरा हुन थालेको मौलाकोटकै खड्कबहादुर ठकुरी बताउँछन् । घोराही उपमहानगरपालिकाकै वडा भए पनि लाइन आउन सकेको थिएन तर अहिले गाउँमा विद्युतको तार तानेर घरमा विद्युत जडानका लागि वायइरिङ गर्न पठाएपछि बत्ती बाल्ने आशा पलाएको स्थानीय बताउँछन् । ‘निर्वाचनमा पटक–पटक नेताले बत्ती ल्याउने वाचा गर्दै आएका थिए तर बत्ती भने आउन सकेको थिएन’, उनले भने, ‘यसपटक विद्युतका पोल गाडेर बत्ती बाल्नका लागि निवेदन समेत दिइसकेकाले अब बत्ती बाल्ने चाहना पूरा हुने आशा छ ।’
बत्ती नहुँदा सोलार र टुकी बाल्नु पर्ने बाध्यतासँगै खानेपानी तान्न, बालबालिकालाई पढाइ र काम गर्न समेत समस्या भएको गंगाबहादुर बताउँछन् । ‘गाउँमा पानी छैन, करिब दुई किलोमिटर तलबाट सोलारबाट पानी तानेर खाने गरेको छौँ’, उनले भने, ‘सोलार बिग्रियो वा घाम लागेन भने पानी नआउने समस्या हुन्छ, बत्ती आए यो समस्या हट्ने आशा छ ।’
गंगाबहादुर र खड्कबहादुरको घरमा मात्र होइन, मौलाकोट, बुढाकोट र उपल्लो लापेका करिब ३५÷४० बढी घरधुरीसम्म विद्युत पु¥याउने अन्तिम तयारी भइरहेको घोराही उपहानगरपालिका–१३ का अध्यक्ष डुल्लुराम पोख्रेलले जानकारी दिएका छन् । नेपाल विद्युत प्राधिकरणकै बजेटमा लापेबाट उपल्लो लापे, बुढाकोट हुँदै मौलाकोटसम्म पोल गाडेर तार तान्ने काम सकिएकाले अबको केही दिनमै स्थानीयले बत्ती बाल्न बाउने वडाध्यक्ष पोख्रेल बताउँछन् । ‘गाउँमा तार पुगेपछि अहिले स्थानीयका घरमा वायइरिङ गरेर निवेदन दिइसकेका छन्’, वडाध्यक्ष पोख्रेलले भने, ‘वडाले विद्युत कार्यालयसँग समन्वय गरिरहेको छ । तारको मुनि पर्ने रुख काटेर १÷२ हप्ताभित्रै बत्ती पु¥याउने गरी लागिरहेका छौँ ।’