अमरराज आचार्य
दाङ, ९ पुस । दाङमा सघन सहरी तथा भवन निर्माण आयोजना दाङमार्फत् करिब ५ वर्षको अवधिमा ४५ किलोमिटर सडक गुणस्तरीय (अस्फाल्ट कङ्क्रिट) कालोपत्रे गरेको छ । घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा गरेर ४५ किलोमिटर सडक कालोपत्रे, करिब ५७ किलोमिटर फुटपाथ र ५७.१२ किलोमिटर नाला निर्माण भएको हो ।
आयोजना सुरु भएदेखि हालसम्म ठुला प्रोजेक्टमार्फत् करिब ४५ किलोमिटर सडक निर्माण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख खड्गबहादुर चौधरीले जानकारी दिए । यसका लागि एक अर्ब ६३ करोड ६ लाख ३६ हजार ६ सय ३२ रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । जिल्लामा आयोजना २०७५ भदौबाट सुरु भएको हो । आयोजनाले सडक कालोपत्रेसँंगै फुटपाथसहित नाला निर्माण गरेको हो । ठुला आयोजना ३ वटा प्याकेजबाट ३७.१२ किलोमिटर कालोपत्रे गरिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख चौधरीले जानकारी बताए । जसमा फुटपाथ र नाला समेत रहेको छ । यसरी निर्माण गरिएको सडक सामान्य कालोपत्रेभन्दा गुणस्तरीय कालोपत्रे रहेको उनको भनाइ रहेको छ ।
प्याकेज नम्बर १ अन्तर्गत १४.३ किलोमिटर सडक कालोपत्रे भएको छ । जुन नारायणपुर–नारेवाङ र सर्रा सौँडियार सडक रहेको छ । जसमा २८.६ किलोमिटर पक्की नाला र फुटपाथ समेत निर्माण गरिएको छ । प्याकेज नं. १ का लागि ६३ करोड ७३ लाख १० हजार सात सय ७९ रुपैयाँ खर्च भएको छ । प्याकेज नं. २ अन्तर्गत ९.२ किलोमिटर सडक कालोपत्रे भएको छ । जुन घोराही–बाँसबोट–हापुर हँुदै रक्षाचौर सडकखण्ड रहेको आयोजना प्रमुख चौधरीले बताए । प्याकेज नं. २ का लागि १७ करोड १८ लाख ५१ हजार तीन सय ९४ रुपैयाँ खर्च भएको छ ।
प्याकेज नं. ३ अन्तर्गत १३.६ किलोमिटर सडक कालोपत्रे गरिएको छ । जसमा २५.३ किलोमिटरमा फुटपाथ सहित पक्की नाला निर्माण गरिएको आयोजनाले जनाएको छ । प्याकेज नं. ३ अन्तर्गत घोराही–ल्याण्डफिल साइट हुँदै बाहुनडाँडा, झिँगौरा हुँदै स्वर्गद्वारी आश्रम, रतनपुर चोकबाट भेटेरीनरी अस्पताल, प्रहरी बोर्डिङदेखि खिरटिया, मालपोत कार्यालयदेखि क्याम्पस तलसम्म र रामपुरको बालिम खोलादेखि सिमलतारासम्मको सडक रहेको आयोजना प्रमुख चौधरीले गोरक्षसँग बताए । प्याकेज नं. ३ का लागि ६७ करोड ५१ लाख २० हजार ७ सय ५३ रुपैयाँ खर्च भएको छ । यी ठुला योजनाको काम सकिसकेको प्रमुख चौधरीले बताए ।
यसैगरेर पर्सेनी सडक खाद्रे खण्ड अन्तर्गत १.५३ किलोमिटर कालोपत्रे गरिएको छ । जसमा ३ करोड ५५ हजार ९ सय ४९ रुपैयाँ खर्च भएको छ । नारायणपुर, मर्फा सडकखण्ड अन्तर्गत २.६ किलोमिटर कालोपत्रे गरिएको छ । जसमा सात करोड पाँच लाख ५७ हजार ९ सय ५८ रुपैयाँ खर्च भएको छ । तुलसीपुरको टरिगाउँ गोलौरा सडकखण्ड अन्तर्गत १.९५ किलोमिटर कालोपत्रे गरिएको छ । ४ करोड ४ लाख ७७ हजार ६ सय ९९ रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ ।
अन्य स्थानमा पनि स–साना काम भएको आयोजनाले जनाएको छ । ‘भौगोलिक स्थान अनुसार फुटपाथसहितको नाला निर्माण गरिएको छ’, आयोजना प्रमुख चौधरीले भने । आयोजनाले निर्माण गरेका सडक अन्य सडकभन्दा फरक रहेको समेत स्थानीयले बताएका छन् । यसले नागरिकलाई सहज भएको छ । सहरी सघन मार्गको मापदण्ड अनुसार सडक निर्माण भएको आयोजनाका प्रमुख चौधरीले बताए । ‘आयोजनामार्फत् निर्माण गरिएका सडक सामान्य कालोपत्रेभन्दा फरक गुणस्तरीय रहेका छन्’, उनले भने । यसैले आफूहरूले निर्माण गरेका सडक अन्य सडकभन्दा फरक रहेको उनको भनाइ रहेको छ ।