बालाराम खड्का
तुलसीपुर, ९ पुस । स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचित भएको करिब डेढवर्ष पुगेको छ भने प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल एक वर्ष पूरा भएको छ । निर्वाचनको समयमा भोट माग्न उठाएका विकासका मुद्दा पूरा हुन सकेका छैनन् ।
जनताले शिक्षा, स्वास्थ्य, रोजगार तथा अन्य विकास निर्माणका आफ्ना माग सम्बोधन नभएको प्रति जनप्रतिनिधि समक्ष दैनिक गुनासो आउन थालेका छन् । तुलसीपुर–४ निवासी शिवराजसिंह ठकुरीले तुलसीपुर वडा नं. ४ अन्तर्गत साविक वडा नं. २ मा हालसम्म कुनै पनि सरकारले विकासप्रति ध्यान नदिएको गुनासो गरे । उनले तुलसीपुर उपमहानगरपालिकाले निर्माण थालेको चक्रपथ पनि बिचैमा रोकिएको बताए । ‘चक्रपथको स्तरोन्नतिका लागि कहिले राजपुर हुँदै आँखा अस्पतालसम्म गरिने भनिन्छ त कहिले गुल्मचोक हुँदै भन्ने उल्लेख हुन्छ, आएको बजेट पनि कहाँ जान्छ थाहै हुँदैन’, ठकुरीले भने । उनले प्रदेश अर्थमन्त्रीले विभिन्न कार्यक्रममा विकास पहुँचका भरमा भन्दा आवश्यकताको आधारमा गर्न आग्रह गरेता पनि त्यस्तो नदेखिएको बताए ।
उनी जस्तै अन्य स्थानीयले पनि सामान्य सिँचाइ कुलो, टोलको बाटो, विद्युत माग गर्दा समेत पाउन नसकेको गुनसो गरे । ‘जनताले सिँचाइका लागि कुलो, खानेपानी र शिक्षा, स्वास्थ्यको विकास खोजेका छन्’, स्थानीय घनबहादुर पुनले भने । स्थानीय, प्रदेश र केन्द्र सरकार भए पनि आम जनता सामान्य कुलो, नहर निर्माणदेखि बाटोमा ग्राभेल माग गर्न समेत प्रदेश सरकारसम्म पुग्ने गरेका छन् । ‘सामान्य विकास निर्माणका माग लिएर आम जनता प्रदेश धाउनु हुन्छ, फाइल बोकेर बजेट सुनिश्चितता नहुँदा कहाँबाट उहाँहरूलाई बजेट दिने ?’,
लुम्बिनी प्रदेश कार्यालयका एक जना कर्मचारीले भने । त्यस्तै स्थानीय तहमा समेत जनताको आशा, अपेक्षा धेरै छन् । ‘दैनिक विकास माग्न धेरै जना आउनु हुन्छ, जनताका आशा, अपेक्षा धेरै छन् तर ४० लाख रुपैयाँको बजेटले वडाले के गर्न सक्छ र ?’, वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसीले भने । उनले जनताले आफूहरूबाट धेरै विकास निर्माण चाहे पनि सीमित स्रोत–साधनका कारण भनेअनुरूप विकास गर्न नसकेको बताए ।
सङ्घीय तथा प्रदेशका मन्त्रीहरूले जहाँ गयो त्यहीँ विकासका आश्वासन बाँडिरहेको देखिन्छ । ‘हुन त सबै प्रतिनिधिले विकास माग गर्दा सबै पूरा हुन्छ भन्नु हुन्छ तर त्यसको कार्यान्वयन कहिल्यै हुँदैन’, स्थानीय एक जनाले भने । उनले चुनावको बेला खानेपानी, बाटो निर्माणदेखि विभिन्न विकासका आश्वासन बाँडेर जाने र त्यसपश्चात गाउँमा नफकर्ने गरेको स्थानीय बताउँछन् ।
‘प्रदेशमा गयो साना कुरा पालिकाले हेर्ने हो भन्नुहुन्छ, पालिकामा बजेट छैन भन्नु हुन्छ, हाम्रा समस्या कसले सुन्ने ?’, स्थानीय मोहन वलीले भने । सामान्य विकासका कामले गति भने लिन नसक्दा जनतामा निरासा छाएको छ । ठुला आयोजना घोराही–तुलसीपुर चारलेन सडक होस् या तुलसीपुरको विमानस्थलदेखि यहाँको अस्पतालका विकास र विस्तार भने हुन सकेको छैन । त्यस्तै तुलसीपुर–आँखा अस्पताल जोड्ने सडकको हविगत पनि उस्तै छ । सरकार भने सत्ता टिकाउन र मन्त्री हेरफेर गर्नमै रुमलिएका छन् ।