लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपिए

दाङ,८ पुस । लुम्बिनीमा सरकार गठन भएको ८ महिनापछि तेस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार दुई मन्त्री थपेपछि मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आइतबार बाँकेको निर्वाचन क्षेत्र नं। १(१)बाट निर्वाचित माओवादी केन्द्रकी कृष्णा केसीलाई सहरी विकास र प्यूठानको निर्वाचन क्षेत्र (२) बाट निर्वाचित सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीको रुपमा सपथग्रहण गराएका छन् । वैशाख १४ गते ३ सदस्यीय मन्त्रीपरिषद् बनाएका मुख्यमन्त्री चौधरीले जेठमा दोस्रोपटक विस्तार गर्दै ७ सदस्यीय बनाएका थिए । १० मन्त्रालय रहेको लुम्बिनीमा आइतबारको विस्तारसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । बाँकी रहेको वन वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री चौधरी आफैंले राखेका छन् ।

आइतबा सपथग्रहण गरेकी माओवादीकी केसी ८ महिना अघि नै मन्त्रीमा सिफारिस भएकी हुन् । सरकार विस्तारमा माओवादी र कांग्रेसको विवादले उनी सिफारिस भएरपनि मन्त्री बन्न पाएकी थिईनन् । यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा पनि सहरी विकास मन्त्रालय नपाएपछि उनी झण्डै तीन महिना विनाविभागीय मन्त्री बसेकी थिईन् ।

माओवादीले केसीसँगै रोल्पाका दीपेन्द्र पुनलाई पनि मन्त्री बनाउन सिफारिस गरेको थियो । तर, कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनलाई गठबन्धनबाट विद्रोह गरी हराएका कारण पुनले दीपेन्द्रलाई मन्त्री बन्न रोक्ने अडानसहित कांग्रेसमा उभिएपछि अहिले २ सदस्यीय मन्त्री विस्तार गरिएको हो ।

कांग्रेस प्रदेश सभापति अमरसिंह रोल्पाको निर्वाचन क्षेत्र नं (२) मा गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनलाई दीपेन्द्रले विद्रोही उम्मेदवार बनेर पराजित गरे । निर्वाचित भईसकेपछि पुनस् फेरि माओवादीमै फर्किएर मन्त्री बन्न लागेपछि कांग्रेसका अमरसिंह गठबन्धनविरूद्ध उभिएर गठबन्धन संस्कार लत्याउने व्यक्तिलाई कुनै पनि हालतमा गठबन्धन सरकारले मन्त्री बनाउन नहुने अडान लिएर पार्टीको प्रदेश कमिटिबाटै निर्णय गराएका थिए ।

लुम्बिनी प्रदेशमा यसअघि कांग्रेसबाट राजु खनाल स्वास्थ्यमन्त्री, माओवादीबाट धनबहादुर राना अर्थमन्त्री, लोसपाका सन्तोषकुमार पाण्डे गृह मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भुमी व्यवस्था मन्त्री, जनतमका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।