लिलाधर वली
दाङ, ७ बैशाख । रोल्पा माण्डवी गाउँपालिकाका–१ घर्तीगाउँ निवासी कर्णबहादुर बुढा शनिबार राती ११ बजे दाङको घोराही आइपुगे । करिव चार दिनको यात्रापछि उनी काठमाडौबाट दाङको घोराही आइपुगेका हुन । आफु जस्तै १४ जनाको टोली लिएर उनी कोरोना भाइरसको डर भन्दा भोकको डरले काठमाडौ छोडेको बताए । आउँदा उनले करिव चार दिनको अबधिमा ८ वटा गाडी चेन्ज गरेर दाङसम्म आइपुगेका उनले चारदेखि खाना समेत खान पाएका छैनन् ।
चाउचाउँ, विस्कुट र पानीको भरमा चारदिनदेखि कहिले गाडीमा कहिले पैदल हिड्दै आएको बताए । ‘हिजो राती यहाँसम्म आइपुगेका छौं, घर कतिबेला पुगिएला जस्तो लागेको छ’,उनले भने,-‘हिडदाहिड्दै खुट्टा गलेका छन, हिड्दै जाने हो भने अझै चार दिन लाग्छ ।’
तिहार मानेर काठमाडौंको कालीमाटी तरकारी बजारमा काम गर्न पुगेको बताउने उनी लकडाउनका कारण काम बन्द हुँदा छाक टार्ने समस्या भएपछि घर फर्किएको बताउँछन । कोरोना भाइरसको तर्सित बनाएको समयमा एक्लै बाहिर बस्नुभन्दा परिवारसँगै बस्ने बिचार गरेर साथीहरुसंग हिडेको बताए । ‘कोरोनाको डर चारैतिर फैलिएको समयमा परिवारसँगै समय बिताउनका लागि घर फर्किएका हौं’, उनले भने,-‘पैसा कमाएर परिवारमा सुख भित्रयाउने सपना थियोे, तर पेट पाल्न समस्या हुन थाल्यो ।’ उनले कोरोनाको डर भन्दा पनि भोकको समस्याले घर फर्किएको समेत बताए ।
बार्दियाका राजु चौधरी केही दिन पहिले करिब ६ दिनको पैदल यात्रापछि दाङको देउखुरीस्थीत लमही बजार आइपुगे । मजदुरीका लागि भक्तपुरको इट्टा उद्योगमा काम गर्न पुगेका चौधरीले त्यही इट्टा बनाउने काम गर्थे । कोरोनो भाइरसको संक्रमणको फैलन सक्ने भन्दै सरकारले लकडाउनको घोषणा गरेपछि उनको काम बन्द भयो । केहि दिन बन्द भएर खुल्छ कि बनेको बन्द लम्बिदै गएपछि खान बस्नलाई समेत समस्या हुन थाल्यो । ‘आफुसङ्ग भएको पैसा सकियो,साहुसङ्ग माग्दा काम रोकिएको छ पैसा छैन भन्न थाल्यो’, उनले भने,‘तेहि भएर भोकभोकै बस्नुभन्दा हिंड्दै आएका हौ ।’ भक्तपुरदेखि लमहीसम्म अधिकांस ठाउँमा पैदल आएको बताउने चौधरी लमहीबाट भने गाडीमा गएका छन । करिब ६ दिन हिंडेको बताउने चौधरीले बाटोमा चाउचाउ,बिस्कुट र पानीले पेट भरे । भोकभोकै बस्नुभन्दा घर जानु ठिक होला भनेर हिडिको उनले बताए । ‘खानलाई समस्या नभएको भए यति लामो बाटो हिड्ने मन थिएन’,उनले भने,-‘खानै समस्या भएपछि भोकै बस्न सकिएन, त्यसैले पैदलै हिडिम ।’ उनले आफुसङै ७ जनाको टोली रहेको बताए ।
उनी जस्तै कैलाली जिल्ला निवासी शिला चौधरी चितवनबाट २ दिनमा देउखुरीको लमही बजार आइपुगिन । श्रीमानसंगै घर निर्माणको काम गर्न चितवन पुगेकी शिला काम बन्द भएपछि श्रीमानसंगै साइकलमा घर जान थालेको बताइन । ‘काम चलेको भए असारतिर घर आउने भनेका थियौू’,उनले भनिन्,-‘काम बन्द भएपछि,खानलाई पनि समस्या हुन थाल्यो तेस्पछि कति बस्नु भनेर हिडेका हौ ।’ दैनिक मजदुरी गर्दै आएकि उनलाई खान र बस्न समस्या नभएको सानो बच्चासहित हिड्न रहर नभएको बताइन । ‘काम बन्द भएपछि पैसा आउन छोड्यो,पैसा नहुदा हामीलाई खान समस्या हुन थाल्यो,’ उनले भनिन,-‘अहिले त खानलाई मात्र समस्या थियो तर बस्दै जादा कोठा भाडा पनि तिर्न नसक्ने अवस्था आउने देखेपछि घर जानलाई हिडेका हौ।’ पहिलो पटक यति लामो दुरि हिड्दै गरेकी उनी निकै थकित थिइन ।
रोल्पाका कर्ण बहादुर बुढा ,बर्दियाका राजु चौधरी र कैलालीकी शिला चौधरी जस्तै अन्य धेरै मानिसहरु अहिले घर फर्किरहेका छन ।
उनीहरुलाई घर कसरी पुग्ने हो भन्ने चिन्ताले सताइरहेको छ । राज्यले दैनिक मजदुरी गर्ने बिपन्न परिवारलाई खानलाई खाद्यान्न सहयोग गर्ने भनेपनी पुर्याउन सकेको छैन । दैनिक मजदुरी गरि खाने वर्गलाई काम नगर्दा साझ बिहानको छाक टार्न समस्या हुने गरेपछि संकट समयमा पनि हिड्नु परेको उनीहरुले बताउने गरेका छन ।
शनिबार राती घोराही आइपुगेका उनीहरुलाई त्रिभुवननगर जेसीज र साईमन्दिरमा राखिएको थियो । घोराही उपमहानगरपालिका, घोराही उपमहानगरपालिका–१५ वडा कार्यालय र चेम्बर अफ कमर्शले अलपत्र नागरिकलाई गाडीको व्यवस्था गरेर गन्तव्य स्थल पठाउने काम गरिरहेको चेम्बर अफ कमर्श दाङका अध्यक्ष श्रीधर महराले बताए । उनका अनुसार करिब ६ जनालाई नास्तासंगै गाडीको व्यवस्था गरेर रोल्पा,सल्यान र रुकुम पठाउने काम गरिरहेको बताएका छन ।