calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

मंसिरमा मतदाता शिक्षा

लिलाधर वली

दाङ, १९ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मंसिरको पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम शुरु हुनेछ । त्यसो त जिल्ला निर्वाचन कार्यालय दाङलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि अझै औपचारिक पत्र आएको छैन । ‘हालै नेपालगञ्जमा भएको तालिममा मंसिरको ५ गतेदेखि निर्वाचन हुने क्षेत्रहरुमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जानकारी गराइएको थियो । त्यसै अनुसार हामी तयार हुँदैछौ’, जिल्ला निर्वाचन अधिकारी बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार दाङमा मंसिरको ५ गतेदेखि शुरु हुने यो कार्यक्रम एक हप्तासम्म चल्ने छ । ‘तर मतदाता शिक्षा कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने बारेको बिस्तृत मोडालिटी भने निर्वाचन आयोगले हामीलाई उपलब्ध गराइसकेको छैन’, खत्रीले भने– ‘छिट्टै पत्र आउला ।’ बिगतको अनुभवहरु हेर्दा र नेपालगञ्जको तालिमका आधारमा भन्नुपर्दा मतदाताहरुलाई निर्वाचनमा कसरी मतदात गर्ने, कसरी मतपत्र पटाएर मतपेटिकामा राख्ने भनेर सिकाइने उनले बताए । ‘जनताको मत सकेसम्म बदर हुन नदिनका लागि हामीले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने छौं’, उनले भने ।

नयाँ मतदाताहरुलाई निर्वाचनसम्बन्धी जानकारी दिनका लागि कार्यक्रम आवश्यक रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ‘निर्वाचनका लागि पोष्टर, ब्रसर, नमूना मतपत्रलगायतका आवश्यक सामग्रीहरु अझै आएका छैनन्’, उनले भने– ‘माथिबाट आवश्यक सामग्री आएसँगै हामीले जिल्लामा मतदाता शिक्षा चलाउने छौँ ।’ मतदाता शिक्षा सम्बन्धी मोडालिटी नहुँदा कसरी गर्ने, कस्लाई खटाउने भन्ने समेत अझै भन्न नसकिने कार्यालय प्रमुख खत्रीले बताए । तर पनि नयाँ मतदाताहरु बिशेष प्राथमिकताका साथ सिकाइने सोच बनेको उनले भने ।

गत निर्वाचनमा २ हजार मत बदर

जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको निर्वाचनमा प्रतिनिधिभा निर्वाचन क्षेत्र नं. ३ (ख) मा ४ दशमलव ४८ प्रतिशत मतपत्र बदर भएको थियो । उक्त निर्वाचनमा सो क्षेत्रमा ४४ हजार ६ सय ५१ मत खरेको मध्य २ हजार २ मत्र बदर भएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रमा ४२ हजार ६ सय ४५ मत सदर भएको थियो ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १६ मा ११ दशमलव ८१ प्रतिशत मतपत्र बदर भएका थिए । निर्वाचनमा खसेको २ हजार ६ सय ३३ मतमध्ये २ हजार ३ सय २२ मत सदर भएको सूचना अधिकारी कुँवरले जानकारी दिएका छन् । उनका अनुसार सो क्षेत्रमा ३ सय ११ मत बदर भएको थियो । गतनिर्वाचनको मतदाता संख्यामा अहिले दुई निर्वाचन क्षेत्रमा २७ हजार ८ सय ८ मतदाता थप भएका छन् । जसमध्ये प्रदेशसभा क्षेत्र ३ (ख) मा २४ हजार ६८ मतदाता र घोराही उपमहानगरपालिका वडा नं. १६ मा १ हजार ८ सय २० मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय दाङको नयाँ तथ्याङ्क अनुसार जिल्लाका दुई उपनिर्वाचन हुने स्थानमा ७३ हजार १ सय ७२ जना मतदाता रहेका छन् ।

प्रदेशसभाका लागि २१ गते उम्मेदवारी दर्ता

यसैबीच उपनिर्वाचनका लागि प्रदेशसभाका सदस्यले यही कार्तिक २१ गते विहीवार उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र दर्ता गर्नुपर्ने मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसका लागि विहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ ।

मनोनयन दर्तापछि सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म कार्यालयले मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ । त्यसैगरी २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने व्यवस्था गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२३ गते विहान ११ बजेदेखि १ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरिने र सोही दिन २ बजेदेखि ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । २४ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय दिइएको छ । सोही दिन २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्मित नामावली प्रकाशन गरिने कार्यालयले जनाएको छ । कार्यालयले २५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ । घोराही उपमहानगरको १६ नं. बडा अध्यक्षको निर्वाचनका लागि भने कार्तिक २७ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।