डा गोविन्द केसीद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन

दाङ, ६ पुस । चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि आन्दोलनरत अभियन्ता डा गोविन्द केसी घोराही आइपुग्नुभएको छ । विहीवार बेलुका घोराही आइपुग्नुभएको हो ।

गेटा मेडिकल कलेजलाई अघि बढाउन केही दिन अघि आफ्नो अनसनका कार्यक्रम सकेर डा केसी दाङ आउनुभएको हो । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुग्नुका डा केसीले प्रतिष्ठानले प्रदान गर्दै आएको स्वास्थ्य सेवाका बारेमा स्थलगत अवलोकन गर्नुभएको छ ।

प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने माग उहाँले बिगतदेखि नै राख्दै आउनुभएको छ । ग्रामीण क्षेत्रमा पनि मेडिकल कलेज सरकारी स्तरबाट स्थापना गरेर न्युन खर्चमा पनि डाक्टर पढ्न पाउनुपर्ने उहाँको माग रहदै आएको छ ।

प्रतिष्ठानका विभिन्न वार्डहरु, यहाँको अवस्था, बिएनएस तथा बिएस्सी नर्सिङसहीत एमडि एमएसको पढाइको बारेमा पनि डा। केसीलाई प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछानेले जानकारी गराउनुभएको छ ।

अवलोकनपछि डा। केसीले प्रतिष्ठानको सेवा सुधार भएकोमा खुसि ब्यक्त गर्दै शैक्षिक कार्यक्रम पनि अघि बढाउन सफल भएकोमा प्रतिष्ठानको नेतृत्वलाई वधाईसहीत धन्यवाद दिनुभयो ।

उहाँले छिट्टै एमविविएसको पढाई पनि प्रतिष्ठानले सुरु गर्ने विश्वास ब्यक्त गर्नुभयो । प्रतिष्ठानका उपकुलपति डा लामिछानेले एमबिबिएसको पढाईका लागि निरन्तर लागि परेको भन्दै सबैको सामुहीक पहलवाट नै केही शैक्षिक उपलब्धिहरु हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले एमबिबिएस पढाइका लागि पनि पूर्वाधारमा जोड दिइएको बताउनुभयो ।