प्रयोगशालाको गुणस्तरवृद्धिमा ध्यानदिन मन्त्री खनालको निर्देशन

घोराही, ३ पुस । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले रोगको परिक्षणका लागी गरिने प्रयोगशाला खोज्दै प्रदेश बाहिर जानु नपर्ने गरि प्रयोगशालाको गुणस्तर बृद्धिमा ध्यान दिन प्रदेश मातहतका प्रयोगशालालाई निर्देशन दिनुभएको छ ।

घोराहीमा सुरु भएको लुम्बिनी प्रदेशस्तरिय प्रयोगशालाहरुको बार्षीयक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री खनालले नागरिकले सहज ढँगले गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण प्रदेशमै हुनुपर्ने बताउनुभएको हो । त्यस्का लागी सबै प्रयोगशालाले आफ्ना उपकरणदेखि जनशक्तिलाई दक्ष बनाउन ध्यानिदुपर्ने बताउनुभएको छ ।

मन्त्री खनालले जिल्लामा स्वास्थ्य कार्यालय अन्र्तगतका प्रयोगशालाले आफ्नो जिल्लाभित्रका नागरिकको विश्वास जित्दै त्यहाँ हुन नसकेका परिक्षण प्रदेश प्रयोगशालामा पठाइ त्यहीबाटै सबै परिक्षण गर्न सकिने बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको थियो । मन्त्री खनालले भन्नुभयो,‘यसका लागि स्वास्थ्य कार्यालय र प्रयोगशालामा कार्यरत जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ ।’

अहिले भएका प्रयोगशालाहरुको अनुगमण गरेर अबस्था सुदृढ गर्न मन्त्री खनालले प्रदेश प्रयोगशालालाई निर्देशन दिनुभएको थियो । कार्यक्रममा स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले लुम्बिनी प्रदेशलाई स्वास्थ्यको केन्द्र बनाउनलाई प्रयोगशालाको रिर्पोट पनि यथार्थ आउने हुनुपर्ने बताउनुभएको थियो । उहाँले त्यस्कालागी स्थानीय तहमा भएका प्रयोगशाला र जनशक्तिलाई त्यसतर्फ प्रोत्साहित गर्दै गुणस्तरीय सेवा अभिबृद्धि गर्न लाग्न आग्रह गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले स्थानीय तहअन्र्तगतका प्रयोगशाला र जिल्लामा रहेका स्वास्थ्य कार्यालयका प्रयोगशालाबिच समन्वय गरेर त्यहाँ हुन नसकेका परिक्षण प्रदेश प्रयोगशालामा ल्याउने व्यवस्था गरिनुपर्ने बताउनुभएको थियो । उहाँले कुनै महामारीको समयमा नमूना संकलन र प्रयोगशाला सम्मको ढुवानीको व्यवस्था पनि प्रदेश प्रयोगशालाले गर्नुपर्नेमा जोड दिनुभएको थियो । दुई दिनचल्ने समीक्षा गोष्ठीमा लुम्बिनी प्रदेशअन्र्तगतका १३ अस्पताल, १३ आयुर्वेद अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुको सहभागिता रहेको छ । गोष्ठीले प्रयोगशालाले गर्नुपर्ने भावी कार्ययोजना समेत तय गर्नेछ ।