दाङ,३ पुस । केनिंगटन आमा समूह युकेले भूकम्प प्रभावितका लागि पाँच लाख रुपैया आर्थिक सहयोग गरेको छ ।
भूकम्प प्रभावित जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाका वडा नं. १ र ७ का एक सय घर परिवारलाई नगद आर्थिक सहयोग गरेको हो । वडा कार्यालयको समन्वयमा बारेकोट गाउँपालिका–१ का सिलपाचौर, धौलाकोट, बयलालगायतका गाउँका ४७ घर परिवार र वडा नं. ७ का ५३ घरलाई नगद पाँच÷पाँच हजारका दरले पैसा वितरण गरिएको सञ्चारकर्मी तथा लोक गायक प्रेमविवश घर्तीले जानकारी दिएका छन् ।
केनिंगटन आमा समूहले गायक घर्तीसँग समन्वय गरेर पाँच लाख रुपैया पठाएपछि मंसिरको १ र ३ गते भूकम्प प्रभावित ठाउँमै पुगेर पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिएको सञ्चारकर्मी तथा गायक घर्तीले जानकारी दिएका छन् ।
उनका अनुसार भूकम्पबाट पूर्ण क्षति भएका, त्रिपालमा बस्दै आएका एकल महिला, अपांगता भएका व्यक्तिका परिवार, सुत्केरी, आर्थिक रुपमा विपन्न घर परिवारलाई आर्थिक सहयोग गरिएको थियो । केनिंगटन आमा समूह युकेले विपद्का समयमा नेपालका विभिन्न क्षेत्रमा समेत सहयोग गर्दै आएको छ ।