गोरक्ष समाचारदाता
दाङ, ३ पुस । दाङमा वैदेशिक रोजगारसम्बन्धी बितेको पाँच महिनामा एक सय ६९ वटा उजुरी परेका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत जिल्ला प्रशासन कार्यालयको हाताभित्र सञ्चालित सूचना तथा परामर्श केन्द्रमा चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म ठगी, विदेशमा अलपत्र परेको, मृत्यु, अङ्गभङ्ग तथा बिरामी, सम्पर्कविहीन र जेलमा परेकासम्वन्धी एक सय ६९ वटा उजुरी परेका हुन् ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत जिल्ला प्रशासनय कार्यालय घोराही, ईलाका प्रशासन कार्यालय तुलसीपुर र ईलाका प्रशासन कार्यालय लमहीमा सूचना तथा परामर्श केन्द्र सञ्चालित छन् । जिल्लाका तीन स्थानमा सञ्चालित सूचना तथा परामर्श केन्द्रमध्ये जिल्ला प्रशासन कार्यालय घोराहीको हाताभित्र सञ्चालित सूचना तथा परामर्श केन्द्रमा पाँच महिनाको अवधिमा एक सय १५ वटा उजुरी परेको सूचना तथा परामर्श केन्द्रका सूचना तथा परामर्शकर्ता रीता लामाले जानकारी दिएकी छन् ।
परामर्शकर्ता लामाका अनुसार तुलसीपुर स्थित सूचना तथा परामर्श केन्द्रमा ४३ वटा र लमही स्थित सूचना तथा परामर्श केन्द्रमा ११ वटा वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरी परेका छन् । केन्द्रमा आएका अधिकांश उजुरी ठगी तथा विदेशमा अलपत्र पार्ने, कामका लागि गएका मानिस सम्पर्कविहीन हुनेलगायतका रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा ठगी, विदेशमा अलपत्र परेको, मृत्यु, अङ्गभङ्ग तथा बिरामी, सम्पर्कविहीन र जेल परेकासम्बन्धी तीन सय ११ वटा उजुरी परेका थिए ।
यसैगरी केन्द्रले बितेको पाँच महिनामा वैदेशिक रोजगारीसम्बन्धी १० हजार ४ सय ७८ जनालाई सूचना तथा परामर्श प्रदान गरेको छ । जस अन्तर्गत घोराही केन्द्रबाट ४ हजार तीन सय ६९ जना, तुलसीपुर केन्द्रबाट ४ हजार ४ सय १५ जना र लमही केन्द्रबाट एक हजार ६ सय ९४ जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गरिएको छ । यसैगरी फोनका माध्यमबाट घोराही केन्द्रबाट तीन सय ५५, तुलसीपुर केन्द्रबाट एक सय ३५ र लमही केन्द्रबाट एक सय ८० जना गरी ६ सय ८८ जनालाई वैदेशिक रोजगरसम्बन्धी परामर्श प्रदान गरिएको सूचना तथा परामर्शकर्ता लामाले जानकारी दिएकी छन् । केन्द्रले गत वर्ष दुई हजार तीन सय ८० जनालाई प्रत्यक्ष र दुई हजार ४ सय ९८ जनालाई टेलिफोनका माध्यमबाट परामर्श प्रदान गरेको थियो ।
यसैगरी केन्द्रले ४८ जनालाई विभिन्न सिप प्रदान गरेको छ । जस अन्तर्गत घोराहीबाट २३ जना, लमहीबाट १६ जना र तुलसीपुर केन्द्रबाट ९ जनालाई तालिम दिन सहजीकरण गरिएको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लाका दुई सय पाँच जनालाई सिप प्रदान गरिएको थियो । यसैगरी वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका तथा मृतकका परिवालाई एक करोड बढी आर्थिक सहायताका लागि केन्द्रले सहजीकरण गरेको सूचना तथा परामर्श केन्द्रले जनाएको छ । दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिका गरी चार स्थानीय तहमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालित छ ।