गोरक्ष समाचारदाता
तुलसीपुर, ३ पुस । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जमा कार्यरत प्रमुख प्रशासक शम्शेर थापा ‘एसिया बेष्ट एडमिनिस्ट्रेटर अवार्ड’ प्राप्त गरेका छन् । डिसेम्बर ३, २०२३ मावल्डरिर्सच कांग्रेस एसिया अवार्डबाट भारतको तिरुचिरापल्ली, तामिलनाडुमा आयोजित कार्यक्रममा ‘एसिया बेष्ट एडमिनिस्ट्रेटर अवार्ड सन् २०२२÷०२३’ बाट पुरस्कृत भएका हुन् ।
विगत दुई दशकभन्दा बढी समयदेखि आँखा स्वास्थ्य कार्यक्रमको व्यवस्थापन गर्दै आएका थापा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको विकास र विस्तारमा अहम् भूमिका निर्वाह गर्दै आएका एक कुशल प्रशासक हुन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले साविक राप्ती अञ्चलमा अन्धोपन न्यूनिकरणको कार्यमा गरेको उत्कृष्ट कार्य, तीनवटै अस्पतालले हालसम्म पु¥याएको सेवाको विकास र विस्तारमा उनले निर्वाह गरेको भूमिकाको मूल्याकङ्कन गर्दै अवार्ड प्रदान गरिएको हो ।
करिब २६ भन्दा बढी विभिन्न राष्ट्रका सहभागी रहेको कार्यक्रममा उनलाई सो पुरस्कार प्रदान गरिएको थियो । थापाको उत्कृष्ट प्रशासकीय भूमिकाले आँखा स्वास्थ्य कार्यक्रमको स्तरोन्नति र साविक राप्ती अञ्चललमा अन्धोपन घटाउनमा उनको भूमिका त्यत्तिकै रहेको छ । आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालित आँखा अस्पतालले उनकै प्रशासकीय कार्य कुशलता तथा सबैको साथ र सहयोगबाट अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालनदेखि एकाडेमिक क्षेत्रको विकास र विस्तारले समेत गति लिँदै आएको छ ।
यसैबिच नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको अध्यक्षता तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा राप्ती आँखा अस्पतालमा एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य गिरीले आँखा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउने थापा उत्कृष्ट प्रशासकको रूपमा छनोट भइ एसिया अवार्डबाट पुरस्कृत हुन सफल भएको भन्दै सबैको गौरवको विषय भएको बताएका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघका उपसभापति रेशमबहादुर खड्का, सचिव घनश्याम सुवेदी, कोषाध्यक्ष श्यामप्रकाश आचार्य, सहसचिव चीरञ्जीवी रिजाल, सदस्यहरु सुरेन्द्रबहादुर खड्का, प्रणवकुमार खड्का, राप्ती आँखा अस्पतालका मेसु डा सन्तोष सुवेदी, कोर्निया रोग विशेषज्ञ डा. ज्योति सापकोटा, एकाडेमिक चिफ डा. सुरेश रसाइली, अस्पतालका निमित्त प्रशासक शालिकराम गौतमलगायत नेत्र अधिकृत, दृष्टि विशेषज्ञ, नेत्रसहयाक, स्वास्थ्यकर्मी तथा कर्मचारीले थापालाई बधाई तथा शुभकामना दिएका थिए । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रमले पनि बधाई तथा दोसल्ला ओढाएर सम्मान गरेको थियो ।